भारत-इंग्ल्यान्डबीचको पहिलो एकदिवसीय आज, कोहली टिम बाहिर हुन सक्ने
![भारत-इंग्ल्यान्डबीचको पहिलो एकदिवसीय आज, कोहली टिम बाहिर हुन सक्ने](https://www.dcnepal.com/wp-content/uploads/2022/07/Virat-2022-07-06-03-44-53_800x517_50.webp)
काठमाडौैं। इंग्ल्यान्ड र भारतबीचको अन्तरराष्ट्रिय एकदिवसीय श्रृंखला आज (मंगलबार)बाट सुरु हुँदैछ। इंग्ल्यान्डको द ओवलमा हुने खेल नेपाली समयअनुसार साझ पौने ६ बजे सुरु हुनेछ।
तीन खेलको टी–२० श्रृंखला २–१ ले जितेसँगै भारतीय टिम उच्च मनोबलमा छ। भारत एकदिवसीय खेलमा समेत आयोजक इंग्ल्यान्डलाई दबाबमा राख्ने योजनामा छ। ब्याटर रोहित शर्माको कप्तानीमा रहेको भारत पहिलो खेलमै घरेलु टिमविरुद्ध विजयी चाहन्छ।
इंग्ल्यान्डले अघिल्लो एकदिवसीय श्रृंखलामा नेदरल्यान्डलाई ३–० ले पराजित गर्दै श्रृंखलामाथि ‘क्लिन स्विप’ गरेको थियो । जुन श्रृंखलाको पहिलो खेलमा इंग्ल्यान्डले ४९८ रन बनाएको थियो। यो नै एकदिवसीय अन्तरराष्ट्रिय खेलमा कीर्तिमानी (एकै इनिङमा सबैभन्दा बढी) स्कोर थियो।
यता, भारतीय टिमले यसवर्ष जम्मा दुई एकदिवसीय खेल खेलेको छ। पहिलो एकदिवसीय श्रृंखलमा भारतले दक्षिण अफ्रिकाविरुद्धको श्रृंखला ३–० ले ‘क्लिन स्विप’ गरेको थियो । यस्तै, घरेलु मैदानमा भारतले वेष्ट इन्डिजविरुद्धको श्रृंखलामा ३–० ले नै जित निकाल्यो।
कोहलीको टिम बाहिर
शिखर धवनको टिममा कमव्याकसँगै ओपनिङमा केही परिवर्तन आउन सक्छ। धवन कप्तान रोहितसँगै ब्याटिङमा उत्रन सक्छन् । यस्तै, पूर्व कप्तान विराट कोहली पहिलो खेलमा टिम बाहिर हुन सक्छन्। आफ्नो लय समात्न नसकेका कोहली हाल ग्रोइनको चोटबाट ग्रस्त छन्।
कोहली बाहिर रहने स्थिति आए ईशान किसनले प्लेइङमा स्थान बनाउँन सक्छन् । यस्तै, सार्दूल ठाकुर वा प्रसिद्ध कृष्णामध्ये एकले पनि मौका पाउन सक्छन्।
Facebook Comment