पढाइमा सधैँ अब्बल बाबुराम राजनीतिमा कमजोर

शरद रिजाल
२९ असार २०७९ ९:३५

काठमाडौं। नेपालका समकालीन नेताहरुमा डा.बाबुराम भट्टराई उच्च शैक्षिक र पा्रज्ञिक ज्ञान र क्षमता भएका ब्यक्ति हुन्।

पूर्वाधार विकासको स्पष्ट भिजन र एक कुशल आर्किटेक्ट समेत रहेका भट्टराई राजनीतिमा आफ्नो योग्यता र प्राज्ञिक क्षमताअनुरुप सफल हुन नसकेको हालसम्मका घटनाक्रमले दर्शाउँछ।

विद्यालयस्तरदेखि नै पढाइमा मेधावी कहलिएका भट्टराई २०२६ सालको एसएलसीमा बोर्ड फस्ट भएका हुन्। त्यसछिको उच्च शिक्षामा सदैब अब्बल बाबुरामलाई द्वितीय कहिल्यै हुनु परेन।

एसएलसी पछि अमृत साइन्स क्याम्पसमा अध्ययन गर्दा समेत उनी बोर्ड प्रथम भएका थिए। २०४२ सालमा जवारहलाल नेहरु विश्वविद्यालयबाट पिएचडी गरुञ्जेल भट्टराई पढाइमा सधैं उत्कृष्ट ठहरिए।

भारतमै अध्ययनको क्रममा राजनीतिमा होमिएका उनी त्यस यता निरन्तर राजनीतिमा छन्। २०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्दा देखिनै पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका उनले नया संबिधान जारी भएको एक सातापछि २०७२ असोज १० गते उक्त पार्टी परित्याग गरेका थिए।

उनले त्यसपछाडि माओवादीमात्र परित्याग गरेनन्, कम्युनिष्ट पार्टीको औचित्य समाप्त भएको भन्दै जीवनको उर्जाशील समय ब्यतित गरेको कम्युनिष्ट आन्दोलनबाट समेत बाहिरिए।

२०७२सालमा नेपालको संबिधान जारी भएको एक सातापछि लामो समयसम्म आबद्ध माओवादी परित्याग गरेका उनले पुरानो राजनीतिको कोर्स सकिएको बताए।

देशमा विकास र समृद्धको युग सुरु भएकाले त्यसको नेतृत्व पुराना पार्टीले गर्न नसक्ने बताउँदै आफूले जीवनभर अंगालेको कम्युनिष्ट बिचार परित्याग गर्दै नयाँ शक्ति गठन गरेका थिए। निकै तामझामका साथ २०७३ जेठ ३० गते दशरथ रंगशालाबाट घोषणा गरिएको नया शक्ति पार्टीले लक्ष्य अनुरुप प्रगति गर्न सकेन।

२०७४ को स्थानीय तहको निर्वाचनमा गोरखा र रसुवाका सीमित स्थानीय तह बाहेक अन्यत्र उक्त पार्टीको उपस्थिति देखिएन। फलस्वरुप नयाँ शक्तिमा आबद्ध नेता कार्यकर्ता उनीहरुकै पूर्ववत पार्टीहरुमा फर्कने क्रम सुरु हुन थाल्यो।

अन्ततः उनलाई साथ दिएका माओवादी पृष्ठभूमीका नेताहरुसमेत माअ‍ेवादीमा फर्कने क्रम सुरु भयो। त्यसपछिको संघ र प्रदेशको निर्वाचनमा गोरखामा स्वयम् बाबुरामले कांग्रेससँग गठबन्धन गरि निर्वाचनमा होमिएर आफ्नो सिट सुरक्षित गरे।

उनको नयाँ शक्तिले आशातीत सफलता हासिल गर्न सकेन। उनलाई साथ दिएका अधिकांश नेताहरु सबै यत्रतत्र लागे। माओवादी पार्टीबाट उनीसँगै रहेकाहरु समेतले उनको साथ छोडे।

यी यावत् कारणले उनको नयाँ शक्ति पार्टीले राष्ट्रिय राजनीतिमा बर्चस्व कायम गर्न सकेन। यही परिवेशका बीच २०७४ साउन १५ गते संघीय समाजवादी फोरमसँग पार्टी एकता गरि उनी र उपेन्द्र यादव दुबै जना अध्यक्ष रहने गरि पार्टी एकता गरेर समाजवादी पार्टी नेपाल नामक नयाँ पार्टी गठन गरे।

उक्त पार्टीसँग एकता गरेको केही समय पछाडि राजपासँग एकता गर्न पुगे। राजपा र समाजवादी दुबैको एकतापश्चात जनता समाजवादी पार्टी गठन गरेको केही समयमै तत्कालीन प्रधानमन्त्री केपी शर्मा आलीको प्रधानमन्त्रीत्वकालमा सरकारमा सहभागीताको बिषयलाई लिएर महन्थ ठाकुर र राजेन्द्र महतोलगायतले छुट्टै लोसपा गठन गरि जसपाबाट बाहिरिए।

माओवादी जनयुद्ध, नयाशक्तिदेखि समाजवादी हुँदै जसपासम्म आउदा भट्टराईले अगाडि सारेको वैकल्पिक राजनीतिको यात्राले गति लिन सकेन। पढाइमा सदैव अब्बल र प्रथम हुने बाबुराम राजनीतिमा भने उनले सोचे जस्तो यथोचित स्थान लिन सकेनन्।

संबैधानिक समितिको सभापति समेत रहेका भट्टराईले नयाँ संबिधान जारी भएको एक साता पछि संबिधानसभा सदस्य र माओवादीबाट राजीनामा दिइ संबिधानलाई अधुरो भएको भन्दै आधा भरिएको गिलासको संज्ञा दिदै असन्तुष्टि जनाए।

उनको संबिधानप्रति असन्तुष्टि र माओवादी पार्टी परित्यागदेखि नै उनले नयाँ शक्तिको अबधारणा प्रस्तुत गरेका थिए। नयाँ शक्ति गठन हुँदै जसपासम्म आइपुगेका बाबुरामको पार्टी फेरि उनको पार्टी बिभाजनको सन्निकट पुगेको छ। भट्टराई पक्षको बैठक मंगलबारदेखि काठमाडौं मा जारी छ भने अर्का अध्यक्ष उपेन्द्र यादवको बैठक बुधबारदेखि बीरगञ्जमा सुरु हुँदैछ।

बाबुराम भट्टराई पक्षीय केन्द्रीय सदस्य बेदप्रसाद आचार्यका अनुसार ४३० केन्द्रीय सदस्यमध्ये २०० भन्दा बढी काठमाडौंको केन्द्रीय समितिको बिस्तारित बैठकमा सहभागी भएको बताए।

बुधबारदेखि बीरगञ्जमा सुरु हुने यादवपक्षको बैठकको बैठकको सहभागीताको आधारमा नयाँ पार्टी गठन गर्ने या जसपालाई निरन्तरता दिने बुधबारको बैठकले तय गर्ने उनको भनाइ छ।

केन्द्रीय सदस्यको यकीन तथ्य भने बुधबारको बैठकपछि मात्रै भन्न सकिने उनले बताए। बाबुराम भट्टराई सांगठनिक मामलामा कमजोर भएको आचार्य स्वीकार्छन्।

‘बाबुराम राजीतिक दुरदर्शीता र दर्शनको क्षेत्रमा अब्बल नै हुन् उनको लाइन अनुसार नै शशस्त्र द्वन्द्वरत पार्टी चुङबाङ हुँदै यहाँसम्म ल्याएका हुन्,शान्ति र संबिधान उनकै एजेण्डामा मुलुक हिँडेको छ, तर उनमा सांगठनिक कुशलतामा केही कमजोर भएको सत्य हो,’ उनले डिसी नेपालसँग भने।

वैकल्पिक राजनीतिको बाबुरामको एजेण्डा सही भएको उनको दाबी छ। नयाँ कार्यको थालनी गर्दा कठिनाइ आउनु स्वभाविक भएको र देशले वर्तमान राजनीतिक दलहरुको विकल्प खोजेकाले वैकल्पिक राजनीतिको आबश्यकता झन् बढेर गएको त्यसलाई बाबुरामले नै पूरा गर्ने उनको बिश्वास छ।

उनका अनुसार बिस्तारित बैठक भएकाले पार्टीका अन्य जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरु पनि सहभागी हुने हुँदा यकिनका साथ सहभागी केन्द्रीय सदस्यको निक्यौल गर्न भने सकिएको छैन। बुधबारको बैठकले सहभागी केन्द्रीय सदस्यको आधारमा तय गर्ने उनको भनाइ छ।

बाबुरामले लामो समयदेखिको आबद्धता रहेको कम्युनिष्ट पार्टी परित्याग गरि लोकतान्त्रिक पार्टी गठन गर्नु नै उनको गम्भीर भुल भएको उनी निकट रहेर काम गरेका नेताहरु बताउँछन्।

बाबुरामको पार्टीको आन्तरिक बिबादलाई लक्षित गर्दै माओवादी नेता रामप्रसाद सापकोटा दिपशीखाले सामाजिक सञ्जालमार्फत राजनीति छाडेर चिन्तन मनन् गर्न सुझाब दिएका छन्। उनले बाबुराम राजनीतिमा सधैं असफल भएको टिप्पणी गरेका छन्।

उनले लेखेका छन, ‘ चिन्तन-मनन गरेर बस्नुस्। तपाई पार्टी संगठनको बोझिलो भारी नबोक्नुस्। तपाईं अहिलेसम्म कहिल्यै पास हुनुभएन। भूतपूर्व नेताको हैसियतले कहिलेकाँही बिछट्टै माया लाग्छ। बाबुराम भट्टराईलाई सुझाव’।

लामो समयदेखि बाबुराम निकट भएका मणि थापा बाबुरामले कम्युनिष्ट सिद्धान्त नै परित्याग गरेपछि वर्तमान अबस्था निम्तिएको बताउँछन्। माओवादी जनयुद्धकालमा बाबुराम निकट रहेका थापाले बाबुरामले समय अगावै वैकल्पिक राजनीतिको सुरुवात गरेकाले राजनीतिकरुपमा उनको वैकल्पिक राजनीतिले सफलता हासिल गर्न नसकेको बताए।

‘जति बेला संबिधान बनेको थियो माओवादी लगायत अन्य शक्ति राष्ट्रिय राजनीतिको केन्द्रमा थिए त्यतिबेला उहाँले नयाँ शक्ति भनेर जसरी आउनु भयो त्यो समय परिवेश अनुरुप भएन उहाले परिस्थितिको सही बिश्लेषण गर्न सक्नु भएन ,बरु त्यसको संभावना अहिले देखियो तर उहाले हतार गर्नु भयो ,’थापाले डिसी नेपालसँग भने, ‘उहाँले बौद्धिक कोणबाट बढी र राजनीतिक आकलन कम गर्नुहुन्छ त्यसैको उपज उहाँमा यो अस्थिरता देखिएको हो कम्युनिष्ट बिचार नै परित्याग गरेपछि कहिले मधेश पुग्नु भयो त्यहा पनि उहाँ सफल देखिनुभएन कम्तीमा माओवादीमात्र परित्याग गरेको भए अन्य कुनै न कुनै वाम पार्टीमै रहनुहुन्थो उहाको अस्थिरताको मुल कारण नै कम्युनिष्ट पार्टी परित्याग गर्नु हो।’

राजनीतिमा सबैथोक बौद्धिकता हो भन्ने ठान्नु नै बाबुरामको कमजोरी भएको थापा बताउँछन् । बाबुराममा बौद्धीक बिश्लेषण हावी हुने तर सही राजनीतिक निर्णय लिन नसकेकोे थापा बताउँछन्।

‘उहाँमा बौद्धिकताले नै सबै तय गर्छ यसैको आधारमा अगाडि बढ्न सकिन्छ भन्ने बुझाइ छ। राजनीतिक परिस्थितिलाई बुझ्ने सवालमा समयसापेक्ष आँकलन गर्न नसक्नु नै उहाको कमजोरी देखियो,’ थापाले अगाडि भने, ‘हिजो जनयुद्धकालमा पनि मेरो बौद्धिकतालाई पार्टी र क्रान्तिमा लगाउछु भन्नु भो सबैले सहयोग गरेकै हो तर पछिल्लो अबस्था सम्म आउदा उहामा अपरिपक्व राजनीतिक बिश्लेषण बढी भयो बस्तुगत भन्दा पनि अल्लि मनोगत हुनुभयो।’

संगठन निर्माण र कार्यकर्ता पंक्ती घुलमिल गर्न नसक्ने कतिपय अन्र्तमुखी कमजोरी पनि बाबुराममा ब्याप्त रहेकाले पार्टी निर्माणमा बाबुराम सफल हुन नसकेकोे थापाको ठहर छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *