व्यापारिक साख जोगाउँदै फिदिम, दैनिक २ करोडबढी कारोबार
पाँचथर। देश संघीयतामा गएपछि सबै क्षेत्र बिकेन्द्रीत भइरहेका छन्। जसका कारण गाउँगाउँमा चहलपहल बढको छ भने सदरमुकाम र मुख्य व्यापारिक केन्द्रहरु सुनसान बन्दैछन्। तर, पाँचथरको सदरमुकाम फिदिम भने आफ्नो साख जोगाउन हालसम्म सफल भएको देखिन्छ।
मेची राजमार्ग झापाबाट सुरु भएर इलाम, पाँचथरहुँदै ताप्लेजुङ पुग्छ। कालोपत्रे राजमार्ग निर्माण भइसकेकोले झापादेखि भित्रने उपभाोग्यसमेतका सामान अहिले गाउँगाउँ पुग्छ। तर, फिदिमका केही उत्साही युवाले दैनिक उपभोग्यसमेतका सामानको थोक पसल खोले।
जसले पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रमा यहीँबाट सामान आपूर्ति हुन्छ । ‘यहीँदेखि सामान गाउँगाउँ वितरण हुनाले पनि फिदिममा व्यापारिक कारोबारमा खासै कमी आएको छैन,’ उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष नवराज घिमिरेले डिसी नेपालसँग भने।
कोरोना र आर्थिक मन्दीका कारण साना केही होटल र किराना पसल भने बिस्थापित पनि भए। ‘साना होटलहरुमा कारोबार नगन्य बन्यो। तर, ठूला पसल, होटलहरुमा खास असर भएन,’ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा थोक बिक्रेता दिपक नेपालले भने। उनका अनुसार फिदिममा दैनिक १५ वटासम्म मालबहाक ट्रक सामान लिएर फिदिम आउँछन्।
करिव १ करोड ५० रुपैयाँको सामान दैनिक फिदिम भित्रन्छ। त्यसबाहेक होटलहरुको कारोबार, जुत्ता चप्पल, कपडा, मोवाइल, रिचार्ज कार्डसमेत करिव ५० लाख रुपैयाँको भित्रने गरेको अर्का व्यवसायी सुबराज थापाको भनाइ छ। उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका थापाका अनुसार पूर्वी पहाडका अन्य सदरमुकामको जस्तो व्यापारिक कारोबारमा फिदिम अहिलेसम्म साख जोगाउन सफल भएको छ।
‘फास्ट मुभिङ कन्जुमिङ गुड्स’ को प्राय सबै डिलर फिदिममा छ। जसले यो क्षेत्रमा सामान बितरण गर्न बाहिरका थोक व्यापारी आउन पाउँदैनन्। त्यसले पनि फिदिमको आर्थिक गतिविधि घट्नबाट रोकिएको अर्का व्यवसायी सूर्यकुमार निरौलाको बुझाइ छ।
पाँचथरमा संघीयताअघिका महिला विकास शाखाबाहेक अरु सरकारी कार्यालय यथावत छन्। डिभिजन कार्यालय स्थापना गरेर ताप्लेजुङ पनि पाँचथरबाटै सेवा दिने भएकोले कर्मचारीको चाम पनि घट्न पाएन।
जिल्लाका डेरीबजार, जोरपोखरी, तृतीयाजस्ता साना व्यापारिक केन्द्रहरुमा भने चहलपहल घटेको पाइन्छ। पालिकाका केन्द्रमा भने चहलपहल खुव छ। त्यहाँ सबै सरकारी कार्यालय बैंकहरु स्थापना भइसकेका कारण पनि नागरिकता र राहदानी लिनमात्र स्थानीय सदरमुकाम आउँछन्। सबै सेवा सुविधा गाउँमै पाइने भएकोले पनि उतै मानिसको चाम बढेको देखिन्छ।
इलाम सदरमुकाम बजार यसअघि नै व्यापारिक रुपमा कमजोर थियो। मेची राजमार्ग बजारबाहिरबाट खनिएपछि मानिसको चहलपहल कम हुँदै गयो। ‘अहिले बैंक, सरकारी कार्यालयहरु पालिका केन्द्रीत भएपछि त, इलामको व्यापारिक कारोबारमा ठूलो मन्दी आयो,’ इलामका अग्रज पत्रकार विजयशेखर भट्टराईले भने, ‘चिया बगान र महेन्द्र रत्न बहुमुखी क्याम्पसकै कारण सुन्दर नगरी इलाम पर्यटकको भरमा सीमित भएको छ।’
इलामकै हालतमा छ ताप्लेजुङको फुङलिङ बजार पनि। यहाँ पनि ग्रामीण व्यपारिक केन्द्रका कारण आर्थिक कारोबार प्रायः नगन्य भइसकेको छ। ताप्लेजुङबाट २ दशकदेखि निरन्तर पत्रकारिता गर्दै आएका आनन्द गौतमका अनुसार पाथीभरा दर्शन गर्न जाने धार्मिक पर्यटकको गन्तव्य बनेको फुङलिङ संघीयतापछिको विकेन्द्रीत अवधारणाअनुसार व्यापारिक कारोबारमा भने दिनदिनै ह्रास व्यहोरी रहेको छ।
Facebook Comment