श्रीलंकामा खेल्न गएका पाकिस्तानी कप्तान बाबर आजमले श्रीलंकाको सुरक्षाबारे के-के भने ?

डिसी नेपाल
३२ असार २०७९ ११:०५

काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले श्रीलंकामा हुन लागेको दुई टेष्टको शृंखलाको सुरक्षालाई लिएर बयान दिएका छन् । सिरिजअघि पत्रकार सम्मेलनमा बाबर आजमले श्रीलंकाको सुरक्षा व्यवस्थाको प्रशंसा गरेका थिए ।

उनले भने, ‘स्थानीय प्रशासनले टोलीको राम्रो हेरचाह गरिरहेको छ । हामी श्रीलंकामा असुरक्षित महसुस गर्दैनौं। श्रीलंका क्रिकेटले हाम्रो धेरै ख्याल राखेको छ र हामीलाई उत्कृष्ट सुरक्षा दिइएको छ।’

बाबर आजमले श्रीलंकाका जनताले क्रिकेटलाई माया गर्ने र अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजमा निकै उत्साह रहेको बताए । हामी आशा गर्छौं कि यो शृंखलाका लागि पनि फ्यानहरू रंगशालामा आउनेछन्।

पाकिस्तानी टोली गत हप्ता श्रीलंकाको राजधानी कोलम्बो पुगेको थियो । त्यतिबेला श्रीलंकामा हिंसात्मक प्रदर्शन भएको थियो । तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै जनताले राष्ट्रपतिको सरकारी निवासमा तोडफोड गरेका थिए ।

सोही क्रममा प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी निवासमा आगजनी गरेका छन् । विरोध प्रदर्शन यति धेरै भयो कि गोटाबाया राजापाक्षेले राजीनामाको घोषणा गर्नुपरेको थियो। श्रीलंकामा आर्थिक संकट र मुद्रास्फीतिलाई लिएर लामो समयदेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ ।

यसैबीच, पाकिस्तानी टोली कोलम्बोमा तीन दिने अभ्यास खेल खेलेको छ र अब टेस्ट सिरिजका लागि गाले पुगेको छ। आज दुई देशबीचको सिरिजको पहिलो खेल हुँदैछ ।

बाबर आजमलाई टोलीको तयारीबारे पनि प्रश्न गरिएको थियो । उनले शृङ्खलाका लागि टोली पूर्णरुपमा तयार रहेको र उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्ने बताए ।

उनले भने, ‘मलाई गालेको मैदान मन पर्छ । श्रीलंकाको टोलीले कतिपय अवस्थामा निकै कठिन चुनौती दिन्छ । हामीले अष्ट्रेलियाविरुद्धको खेलबाट परिस्थितिको केही अनुमान गरेका छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *