गर्मी बढेपछि तराईका विद्यालयमा पठनपाठन बन्द

डिसी नेपाल
३२ असार २०७९ १७:२३

पर्सा । अत्यधिक गर्मीका कारण तराईका विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुन थालेको छ । सोही क्रममा पर्साका विभिन्न पालिकाका सामुदायिक विद्यालय बन्द गर्ने क्रम बढेको छ ।

हालसम्म वीरगञ्ज महानगरपालिकासहित पर्साका पाँच पालिकाले विद्यालयमा गर्मी बिदा दिएका छन् । वीरगञ्ज महानगरभित्रका सबै विद्यालयमा आगामी साउन १ देखि साउन २० गतेसम्म पठनपाठन बन्द हुने भएको छ । शैक्षिक क्यालेन्डरमा साउन ८ गतेदेखि वर्षे बिदा भए पनि संशोधन गरेर पठनपाठनका लागि बिदा दिइएको महानगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

यसैगरी पर्साको कालिकामाई गाउँपालिकाले सामुदायिक विद्यालयमा गर्मी बिदा दिएको छ । गाउँपालिका शिक्षा शाखाका अनुसार गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा साउन १ देखि साउन २९ गतेसम्मका लागि बिदा दिइएको हो । पोखरिया नगरपालिकालेपनि विद्यालयमा गर्मी बिदा दिएको छ । पोखरिया नगरपालिकाले गर्मी बढेपछि साउन १ देखि साउन २८ गतेसम्मका लागि बिदा दिएको हो ।

यसैगरी पकाहामैनपुर गाउँपालिकाले साउन १ देखि साउन २८ गतेसम्म सामुदायिक विद्यालयमा बिदा दिएको छ । बिन्दवासिनी गाउँपालिका विद्यालय पनि एक महिनाका लागि बन्द गरिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *