बाबुरामले थाले समाजवादी केन्द्र गठनको तयारी

शरद रिजाल
३ साउन २०७९ ७:०४

काठमाडौं। नेपालमा वाम गठबन्धनको चर्चा चलिरहेको बेला बाबुराम भट्टराईसहित माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका दलहरु नयाँ समाजवादी केन्द्र गठनको तयारीमा जुटेका छन्। पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) बिभाजित भएसँगै बाबुराम भट्टराईको पहलमा समाजवादी केन्द्र गठन गर्ने पहल थालिएको हो।

जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई पक्षधरको काठमाडौमा असार २८ गतेदेखि छुट्टै बैठक बसेसँगै उनी पक्षीय नेताहरुलाई उपेन्द्र यादवले कारबाही गरेका छन्। आफूहरुलाई यादव पक्षको कारबाहीपछि संघीय परिषद अध्यक्ष भट्टराईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण तहका नेता कार्यकर्तालाई पार्टी पुनर्गठनको लागि आह्वान गरेका थिए।

उपेन्द्र यादव पक्षधरको असार २९–३० गते वीरगञ्जमा बसेको बैठकले बाबुरामलगायत केन्द्रीय कार्यकारिणी समितिका सदस्य गंगा नारायण श्रेष्ठ, प्रशान्त सिंह, भक्तबहादुर शाह, हिसीला यमी, महेन्द्र राय यादव, रमेश यादव, दुर्गा सोब, दानबहादुर चौधरीलाई कारबाही गरि पदीय जिम्मेवारीबाट मुक्त गरेको थियो।

नयाँ पार्टी पुनर्गठन गर्ने तयारीमा लागेका भट्टराई अहिले आफ्नो पार्टी पुर्नगठन गर्ने भन्दा पनि माओवादी केन्द्र , एकीकृत समाजवादी र आफ्नो समूहसहितको नयाँ समाजवादी केन्द्र नामक पार्टी गठन गर्ने अन्तिम तयारीमा जुटेका छन्। उपेन्द्रले कारबाही गरेसँगै नयाँ पार्टीखोल्ने तयारीमा रहेका भट्टराई माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग आन्तरिक तयारीमा जुटेका हुन्।

जसपाका एक केन्द्रीय सदस्यका अनुसार पार्टीको नाम नेकपा (समाजवादी केन्द्र) राख्ने सम्मको तयारी छ। पछिल्लो समय निरन्तर छलफल र पार्टी बिभाजन पछि नयाँ दल गठन गर्ने तयारीमा रहेका भट्टराई पक्षको गत मंगलबार देखि बसेको बैठकले उपस्थित केन्द्रीय सदस्यको संख्याको आधारमा नयाँ पार्टी गठन गर्ने या ४० प्रतिशत पुर्याएर जसपा बिभाजन गर्ने तयारीमा रहेका थिए।

तर पछिल्लो सहभागी केन्द्रीय सदस्यको अंकगणितको आधारमा ४० प्रतिशत नपुग्ने देखिएको छ। जसपा निकट सा्रेतले दिएको जानकारी अनुसार हालसम्म बाबुराम भट्टराईको पक्षमा ४९९ केन्द्रीय सदस्यमध्ये १३० जना देखिएका छन्। वीरगञ्जमा सम्पन्न उपेन्द्र पक्षको भेलामा १७० जनाको उपस्थिति रहेको बताइएको छ। आजपर्यन्त १९९ जना केन्द्रीय सदस्यहरु तटस्थ रहेका छन्।

बाबुरामसँग ६ जना सांसद रहेको दाबी गरिएको छ। जस अनुसार बाबुराम भट्टराई स्वयम् महेन्द्र यादव, अमृता अग्रहरी, राजकिशोर यादव र रेणु यादव उनको पक्षमा खुलेर देखिएका छन् भने अन्य केही खुलेका छैनन्।

बाबुराम पक्षको बैठकमा ४० प्रतिशत नपुगेसँगै नयाँ पार्टी गठन गरेर जाने र पार्टीको नामको बिषयमा समेत बिभिन्न नाम प्रस्ताव आएको स्रोतले बताएको छ। नयाँ पार्टी पुनर्गठन गर्नुभन्दा केही समय अगाडिदेखि चर्चामा रहेको समाजवादी केन्द्र निर्माणमा पहल गर्न बाबुरामले थालेका छन्।

संघीय र प्रादेशिक निर्वाचन नजिकिएसँगै माओवादी केन्द्र , एकीकृत समाजवादी र बाबुरामसहितको नयाँ पार्टी समाजवादी केन्द्र गठन गरि निर्वाचनमा होमिने दलहरुको तयारी रहेको छ। पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बाबुरामको यस बिषयमा छलफल भएको स्रोतले जनाएको छ।

कम्युनिष्ट पार्टी र बिचारधारा परित्याग गरेका बाबुरामलाई कम्युनिष्ट पार्टीमा फर्कन असहज भएपछि पार्टी एकता भन्दा पनि नयाँ समाजवादी केन्द्र बनाएर अगाडि बढ्ने सहमति भइसकेको तर केही नेताले नमान्दा रोकिएको स्रोतको दाबी छ।

पार्टीको दुई दिनसम्म चलेको केन्द्रीय समितिको बिस्तारित बैठक सकिएपछि आन्तरिक तयारी तिब्र बनाएका भट्टराई निर्वाचन आयोगमा दर्ता भइसकेको समावेशी लोकतन्त्र पार्टीलाई नै आफ्नो बनाएर जाने तयारीमा लागेका थिए।

तर बहुसंख्यक नेताकार्यकर्ताहरुले माओवादी र एकीकृत समाजवादीसँग एकता गरि नयाँ समाजवादी केन्द्र गठन गर्न भट्टराईलाई दबाव दिएका छन्। नेता कार्यकर्ताको दबाव पछि भट्टराइले अन्य दलसँग छलफल गरिरहेका छन्।

उपेन्द्र यादवले वीरगञ्जमा जारी आफू पक्षीय केन्द्रीय समितिको बैठकमासमेत बाबुरामले नयाँ पार्टी पुनर्गठन गर्नेदेखि समाजवादी केन्द्र गठन गर्ने पहल थालेको सार्वजनिक अभिब्यक्ति दिइसकेका छन्। उनले आफ्नो पार्टीमा आन्तरिक बिबाद बढेसँगै भट्टराईले नेकपा (एस) का अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट गरि समाजवादी केन्द्र गठनको प्रस्ताव गरेको खुलासा गरेका थिए।

नयाँ पार्टीको नाम नेकपा (समाजवादी केन्द्र) राख्ने समेत सहमति भइसकेको तर एकीकृत समाजवादीका अध्यक्ष झलनाथ खनालले समाजवादी केन्द्र गठन गर्नु भन्दा एमालेमै फर्कन उपयुक्त हुने भन्दै असहमति ब्यक्त गरे पछि यो बिषयले मुर्तरुप लिन नसकेको स्रोतको दाबी छ।

समाजवादी केन्द्र गठन गर्नेदेखि नेताहरुको कार्यबिभाजन समेत तय गरिसकेका नेताहरुले झलनाथ खनालको असन्तुष्टिका कारण अगाडि बढ्न नसकेको बताइएको छ। जसअनुसार पार्टी अध्यक्ष र पहिलो नम्बरमा प्रचण्ड ,दोश्रोमा माधव नेपाल र तेश्रो स्थानमा बाबुराम रहने आन्तरिक सहमति भइसकेको थियो।

झलनाथ खनाललाई बरिष्ठ या सम्मानित नेताको रुपमा राख्ने तयारीमा रहेका नेताहरु उनकै असन्तुष्टिले समाजवादी केन्द्र गठन हुन नसकेको तर यसको तयारीमा नेताहरु लागिरहेको स्रोत बताउँछ।

जसपाका बाबुराम पक्षीय केन्द्रीय कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंह भने नयाँ वैकल्पिक शक्तिसहितको पार्टी बनाउने दिशामा नै बाबुरामको जोड रहेको बताउँछन्। पुरानै कम्युनिष्ट पार्टीमा फर्किउन् भन्ने केही झिनो मत आफ्नो समूहमा रहेता पनि बाबुराम भट्टराई भने त्यसको पक्षमा नरहेको उनले बताए।

कम्युनिष्ट पार्टीविहिन नयाँ समाजवादी केन्द्र बनाउन पहल भने बाबुरामले थालेको तर त्यसले परिणाममुखी निश्कर्ष नल्याएको उनको स्वीकारोक्ति छ।
‘कम्युनिष्ट पार्टी बेगरको समाजवादी केन्द्र बनाउने भन्ने डा.साबको पहिल्यैदेखिको तयारी नै हो। त्यो नयाँ शक्ति स्थापनाकालदेखि नै हो तर त्यसका लागि अन्य दलहरु कम्युनिष्ट पार्टी छाड्ने पक्षमा छैनन्। त्यसैले यो तत्काल संभव छैन,’ उनले डिसी नेपालसँग भने।

बाबुराम भट्टराइले आफूसहित तीन दलको एकता गरि नयाँ समाजवादी पार्टी गठन गर्ने तयारीमा लागेको बिषय के हो ? भन्ने प्रश्नमा सिंहले भने, ‘उपेन्द्रजीलाई त वैकल्पिक पार्टी या शक्ति बनाउने दिशामा रुपान्तरित गर्न सकिएन भने यी अन्य कम्युनिष्ट पार्टीका नेताहरु कम्युनिष्टको ट्याग छाड्न तयार नहुने हुँदा अहिले संभव छैन् ,डा.सावले कम्युनिष्ट बिचारधारा परित्याग गरेर नयाँ समाजवादी केन्द्र गठन गरौं भनेको प्रस्ताब साँचो हो तर उहाँहरु त्यो मान्न्न तयार हुनुभएन डा.साव कम्युनिष्ट ट्याग छाडेको हुँदा फेरि फर्केर कम्युनिष्ट बन्न संभव हुदैन त्यसैले अब वैकल्पिक पार्टी गठनको तयारीमा नै लाग्ने प्रक्रियामा छौं।’

उनका अनुसार  बाबुरामले कम्युनिष्ट पार्टी बिनाको नयाँ समाजवादी केन्द्र गठन गर्न पहल थालेको तर अन्य पार्टीका नेताहरु त्यसमा सहमत नहुँदा त्यो संभव नभएको हो।

पार्टीको केही मान्छेहरु कम्यनिष्ट पार्टीमा फर्कन र बाबुरामलाई त्यसको नेतृत्व गर्न आग्रह गर्नेको संख्या पनि रहेको छ। तर भट्टराई कुनै कम्युनिष्ट घटकमा फर्कने मनशायमा छैनन् बरु भट्टराईले फर्कन चाहनेलाई फर्कन सक्ने बताउँदै आफू अन्तिमसम्म वैकल्पिक राजनीतिकै तयारीमा लाग्ने बैठकमा प्रतिबद्धता ब्यक्त गरेको सिंहको दाबी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *