मधेशमा मधुश्रावणी शुरू, पर्यावरण र प्रकृतिको रक्षामा सहयोग
![मधेशमा मधुश्रावणी शुरू, पर्यावरण र प्रकृतिको रक्षामा सहयोग](https://www.dcnepal.com/wp-content/uploads/2022/07/293981071_380306000692974_8097847480310254097_n.jpg)
सप्तरी। तराई मधेसका सिमित जात जातिका नव विवाहित दुलहीले १५ दिनसम्म मनाउने मधुश्रावणी पुजा आज सोमबार बिधिवत रूपमा शुरू भएको छ। साउन महिनाको मैना नागपञ्चमी देखि शुरू भएको पूजा मिथिलाका ब्राह्मण, कायस्थ, देव तथा सोनार जातिका नवविवाहिता महिलाहरुले यो ब्रत बस्ने चलन छ।
माइतीमा यो पूजाको आयोजना हुने हुनाले पूजा शुरू हुने अघिल्लो दिनदेखि नै नवबिवाहिताले आफ्ना साथीहरूसँग गाउँ डुलेर विभिन्न प्रकारका फूल पातहरु टिपेर ल्याउने भोलिपल्ट त्यहीँ बासी तथा ताजा फुल,पातहरुले भगवान शिव, गौरी, नाग-नागिन लगायतलाई पूजा गर्ने गर्दछन्।
पूजा शुरू भएदेखि सम्पन्न हुने दिन १५ दिनससम्म छिमेकी महिलाहरू ब्रतालु महिलाको घरमा आउने भगवानहरूको जीवन शैलीमा आधारित गीत गाउने र एकजनाले भगवान शिव र माता पार्वतीको जीवन शैलीमा आधारित कथा भन्ने चलन रहेको मविव क्याम्पस राजविराजका प्रध्यापक बन्दना मिश्रले बताइन्।
उनले भनिन्, ‘यो पूजा गर्ने उद्देश्य धेरै भएपनि यस पूजामा प्रकृतिकको धेरै सामाग्री अनिवार्य चढाइने भएकोले यस पूजाले पर्यावरण र प्रकृतिको संरक्षण गर्न सिकाएको छ। प्रत्यक्ष अप्रत्यक्ष रूपमा संरक्षण हुदै आएको छ।`
यो १५ दिनसम्म चल्ने पुजाले नवबिवाहित दम्पतीले आफ्नो परिवार कसरी संचाल गर्ने भन्ने बिषयमा समेत सिकाउने गरेपछि परिवार संचालन गर्न सहज हुने गरेको प्रध्यापक मिश्रको भनाइ छ।
नवदम्पतीलाई प्रेम, अनुशासन, प्रकृतिको रक्षा, आफ्नो घर-परिवार प्रतिको जिम्मेवारी बोध हुनेखाले कथाहरु सुनाइने हुनाले त्यसमा निश्चितरूपमा सहयोग गर्दै आएको आफूले महशुगरेको राजविराज- २ कि मीना देवले बताइन्।
यस पूजामा चडाइने सबै सामाग्री मटोले बनाएको हात्ती, अहिवात ( माटोको भाँडो ) चारमुखे दियो, माटोको घैला, मानको पात, पान, सुपारी, सिन्दुर वेलको पात, विभिन्न प्रकारका फलफूल, गाईको काँचो दूध ,धानको लावा मिठाइ सबै ब्रतालु महिलाको श्रीमानको घरबाट आउने र दिनहु चढनएर निष्ठाका साथ पूजा गर्ने चलन छ।
यस पूजामा थोरै फूलले पुग्दैन् ।धेरै फुल चाहिन्छ। पूजाको सामाग्रीसँगै जति दिनसम्म पूजा हुन्छ, त्यतिवटा मानको ठूल्ठूला पात श्रीमानको घरबाट पठाइएको हुन्छ। पूजा गर्ने स्थानमा मानको सबैपात अोछ्याई दिनहु पूजा समापन गर्ने बेलामा फूल छर्कने चलनले यो पूजाको छुट्टै महत्त्व बिशेषता झल्काउँदै आएको ब्रतालु महिला सुनिता देवले बताइन्।
उनले भनिन्, ‘आफ्नो दाम्पत्य जीवनलाई सहजरूपमा संचालन गर्न यो पूजाले मार्ग दर्शन गरेको छ। हिन्दु धर्ममा गरिने पूजा मध्ये मधुश्रावणी सन्देशमूलक र उपयोगी रहेको मैले अनुभव गरेकी छु।’
अध्ययन गर्ने रोजगारी गर्ने महिलालाई पन्ध्र दिनसम्म यो पुजा गर्न समस्या भएपनि यस पूजामा पन्ध्र दिनसम्म भनिने कथा र गीतमा मौलिकता भएको अर्की व्रतालु चाँदनी
झा बताउँछिन्।
उनी भन्छिन्, ‘यसले हामीलाई दाम्पत्य जीवन सहज र सरल तरिकाले निर्वाह गर्न प्रेरणा दिनेमा विश्वस्त छु।’ राजविराज नपा ७ कि साहित्यकार एवं शिक्षिका ललिता झा भन्छिन्, ‘खासगरी मधेसी समुदायमा छोरीको घरमा कुनैपनि कार्यक्रमको आयोजना गर्दा माइतीबाट नै बिधिविधानको आवश्यक सामाग्री ल्याउनु पर्ने बाध्यता हुन्छ। तर यो पूजामा श्रीमानको घरवाट श्रीमतीको माइतीमा आवश्यक सामाग्री अनिवार्य पठाउनु पर्ने भएकोले यो पूजाले घरलाई जिम्मेवार बनाएको छ।’
नयाँ नयाँ बिबाहिता बेहुलीले ससुरालीमा भोगेका अनुभव पोख्ने, साथी, आफन्त भेट्ने अवसरको रूपमा पनि मधुश्रावणीलाई लिन सकिने झाको भनाइ छ। उनी थप्छिन्,’कुमाले र डोम समुदायको पुर्खौली पेशाको सम्मानसंगै निरन्तरताका लागि यो पुजाले निकै सहयोग गरेको छ।’
साहित्यकार एवं समाजसेवी करूणा झाले यस पूजामा शुरूदेखि अहिलेसम्म महिलाले मात्र नेतृत्व लिँदै आएकोले मधुश्रावणी पूजाले मधेसका महिलालाई कतै न कतै नेतृत्व लिन सिकाउँदै आएको महशुस हुदै आएको बताइन्।
उनले भनिन्, ‘यस पूजामा संलग्न पूजा गर्ने, कथा भन्ने, कथा सुन्ने, गीत गाउने, फूल टिप्ने सबै महिला नै हुन्छन्। अहिले सर्वसाधारणले दिनप्रतिदिन बोटविरूवा मास्दै छन्। यो पूजामा अन्य पूजा भन्दा बढी धेरै किसिमको फलफूल आवश्यक्ता हुने भएकोले पुजाको बाहानामा पनि ती बोटविरूवाको रक्षा गर्न, खोज्न सर्वसाधारणलाई बाध्य हुनुपरेको बुझाइ झाको छ।
उनी थप्छिन्, ‘यसै पृथ्वीमा सृष्टि भएको सर्पलाई वीष भएकै कारण वरिपरि देख्नेबित्तिकै सर्वसाधारणले मार्ने गरेका छन्।’ विसहाराको पुजा गरेर सर्परूपी जीवको रक्षा गर्नुपर्ने पाठ समेत यस पुजाले सिकाउँदै आएको छ। यस पूजामा बिसाहारालाई दिनहु दुधलावा चढाइन्छ।
यो पूजा गर्ने एक जना व्रतालु महिला भएपनि फुल टिप्ने, पुजाको समयमा गीत गाउने, कथा भन्ने महिलाहरूको हुल हुने भएकोले आपसी सहयोग र सद्भावको पूजाको रूपमा पनि मधुश्रावणीलाई लिन सकिने व्युटिसियन सुषमा देव बताउँछिन्।
१५ दिनसम्म पुजा अबधि भर शुद्ध शाहकारी, अनिलो खाना खाने गरेको देवले बताइन्। पूजाको अन्तिम दिन् श्रीमान्सँगै श्रीमानको घरबाट बेहुलीसँगै बेहुलीको माइतीको सबै सदस्यका नयाँ नयाँ लुगा, दहिचिउरा फलफूल मिठाइको भार श्रीमानको घरबाट आउने गरेको छ।
अन्तिम दिन श्रीमान् श्रीमती दुबै जना पूजामा बस्ने कथा सुन्ने र टेमी दिने चलन छ। पहिले पहिले दियोको बत्तीले व्रतालुको घुँडामा डामेर टेमी दिने चलन थियो। अहिले डाम्ने प्रथा हराए, जाँदैछ। कतै कतै बाहेक घुँडामा चन्दनको टीका लगाएर सितल टेमी दिएर यो पूजालाई समापन गर्ने चलन रहेको छ।
Facebook Comment