चन्द्रकोट गाउँपालिकाले लगायो भुस्याहा कुकुरलाई रेबिजविरुद्धको खोप
गुल्मी । चन्द्रकोट गाउँपालिकाले भुस्याहा कुकुरलाई रेबिजविरुद्धको सुई लगाइदिएको छ । गाउँपालिकाले शान्तिपुर बजारमा रहेका २२ कुकुरलाई आज सुई लगाइदिएको हो ।
केही दिन पहिले चन्द्रकोटमा भुस्याहा कुकुरले एकैदिन १२ जनालाई टोकेका थिए । तीमध्ये घाइते चारजना अझै गुल्मी अस्पतालमा उपचाररत छन् । पहिलो टोकेका र नटोकेका सबै कुकुरलाई सुई लगाइएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष घनश्याम खरेलले जानकारी दिए ।
गाउँपालिकाका पशुसेवा प्राविधिक ईश्वरीप्रसाद वली, नायब पशुसेवा प्राविधिक लक्ष्मण गुरुङलगायतले सुई लगाइदिएका थिए । पालिकाले पहिलो चरणमा खोप लगाएको र आगामी दिनमा पनि खोपलाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो । कुकुर समाउनका लागि स्थानीय पन्छी बहुउद्देश्यीय सहकारी संस्थाका युवाले निर्माण गरेको यन्त्र पालिकालाई दिएका छन् ।
उक्त यन्त्र कुकुर समाउनका लागि निकै प्रभावकारी भएको पालिका अध्यक्ष केसीले बताए । चन्द्रकोटमा बागलुङको बरेङ गाउँपालिकाको थपलुङ हुँदै कुकुर आएका छन् । कुकुर आतङ्क बढ्दै गएकाले सम्भावित दुर्घटनाबाट बच्नका लागि सबै कुकुरलाई रेबिजविरुद्धको सुई लगाइएको गाउँपालिका अध्यक्ष केसीले बताए ।
Facebook Comment