कलाकारिता र सर्जकलाई ओझेलमा पार्दै ‘भाइरल म्यान’

शरद रिजाल
१५ साउन २०७९ ६:४९

काठमाडौं। पछिल्लो समय सामाजिक संजालदेखि टिकटक र यूट्युबाट केही मानिसहरु अनेकौं तवरले चर्चामा आएका छन्। ती मानिसलाई सामाजिक संजालले चर्चामा ल्याएको हो।

तीनै चर्चामा आएका भाइरलहरुलाई बिभिन्न म्युजिक भिडियो र टेलिसिरियलमा समेत अफर आउनथालेको छ। उनीहरु म्युजिक भिडियो र टेलिसिरिलमा अभिनयसँगै गायनमा समेत ब्यस्त छन्।

साधना, अध्ययन र क्षमताले भन्दा पनि बोलेरै भाइरल भएकाहरुको संख्या उल्लेख्य छ। कला, गला या उत्कृष्ट सृजना भन्दा पनि बोलेरै भाइरल हुनेको संख्या सामाजिक संजालमा दिनानुदिन बढ्दै छ। लामो समयदेखि कलाकारितामा लागेर देशमा भबिष्य नभएको भन्दै पलायन हुनेहरुको संख्या पनि उत्तिकै छ भने सामाजिक संजालबाट भाइरल हुनेहरुको माग भने मोडलिङ र गायन क्षेत्रमा बढ्दो क्रममा छ।

बिभिन्न क्षेत्रका सर्जकका सिर्जनाले उचित मूल्य नपाइरहेको बेला केही मानिस भने बोलेको भरमा भाइरल हुँदै सामाजिक संजालमा चर्चित बनेका छन्। केही समय अगाडि एक करोड भेटाए चाउमिन खान्छु भन्दै यूट्युबमा भाइरल भएका दाङका हिरा गुप्ता हाल मोडलिङ र कलाकारितामा जम्न थालेका छन्।

बर्षौदेखि यहीँ क्षेत्रमा संघर्ष गरेका स्थापित कलाकार भन्दा पछिल्लो समय उनको डिमाण्ड बढ्दो छ। केही समय अगाडि काठमाडौं आएर उनको गीत रेकर्डिङ समेत भएको थियो। उनले भर्खरै अभिनय गरेको तीजको गीत हजारौले हेरेका छन्। दाङमा अभिनय गरेको उक्त गीतका दर्शकले कमेण्टमा उनको अभिनयको तारिफ गरेका छन्।

सस्तो लोकप्रियता र मिडियाकै कारणले भाइरल भएका उनी जस्तै अर्का पात्र हुन् प्युठानका भेलु बाजे। उनले पनि यूट्युबमा आफ्नै लबजको अनेकौं शब्द (कतिपय अश्लिल समेत) बोलेर सामाजिक संजाल ताइरहेका छन्।

प्युठान निवासी उनी सामाजिक संजाल र टिकटकमा अहिले भाइरल भएका छन्। सामाजिक संजालदेखि सोसल मिडियासम्म भाइरल भएका उनी नेपाली हास्य श्रृङखला ‘ख्यालठट्टा’मा समेत अभिनय गरिसकेका छन्।

केही समय अगाडि यस्तै भाइरल भएका सचिन परियार जो आजकाल गुमनाम छन्। बिद्यालय पढ्न समेत नपाएका उनलाई केही दिन अघि मात्रै स्कूलमा भर्ना गरिएको भिडियोे सार्वजनिक भएको थियो।

उनलाई पनि यस्तै युट्युब र टिकटकले भाइरल बनाएको थियो। तर त्यही भाइरल भइसके पछाडि उनको भबिष्य र अध्ययनको चिन्ता भन्दा पनि उपयोग गरेर आर्थिक आर्जन गर्ने माध्यम परिवारले बनाउँदा उनको भबिष्य अन्यौलपूर्ण भइ सडकमा माग्ने अबस्थासम्म पुगेको थियो।

यस्तै अघोरी बाबा भनेर चिनिने एक ब्यक्ति पनि सामाजिक संजालमा केही समय छाएका थिए। उनी पनि पछिल्लो समय गुमनाम रहेका छन्। उनले आफूलाई युट्युबेहरुले चर्चामा ल्याएर गुमनाम बनाएको आरोप समेत लगाएका थिए।

कला भन्दा बढि सस्तो लोकप्रियता

नेपालमा युट्युबरले पछ्याएर भाइरल बनाएका उदाहरणहरु प्रशस्तै छन्। उनीहरुले कोही मानिसलाई असमा भएको पृथक शैलीलाई आफ्नो युट्युब च्यानलको माध्यमबाट उनीहरुलाई चर्चामा ल्याउने गरेका छन्।

उनीहरुको कलाको मुल्याङकन गरि प्रस्फुटन गर्न भन्दा पनि आफ्नो च्यानलको भ्युज बढाउने मात्रै ध्येय देखिन्छ। यसरी चर्चामा आएका पात्रहरु कि त सामान्य आर्थिक अबस्थाका छन्, या ग्रामिण भेगमा बसोबास गर्ने रहेका छन्।

हालसालै भाइरुल भएका हिरा गुप्ता पनि दाङका एक सामान्य परिवारका ब्यक्ति हुन्। उनी जिविकोपार्जनको लागि घोराहीमा ठेला ब्यबसाय गर्ने गर्दथे। उनले ठेला ब्यबसाय गर्दै गर्दा जनआवाज नेपाल नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका सुदन थापाले उनको अन्र्तवार्ता लिन पुग्छन्।

त्यसै क्रममा मनोरञ्जनमुलक प्रश्न सोध्ने क्रममा उनले एक करोड भेटाए के गर्नुहुन्छ भन्दै प्रश्न गर्छन्। जवाफमा गुप्ताले एक हाफ चाउमिन खान्छु भन्ने जवाफ दिन पुग्दछन्। उनको यही अभिब्यक्ति नै उनी भाइरल हुनुको कारक बन्न पुग्छ।

यसरी भाइरल भएका गुप्तालाई बाँकी अन्य युट्युब सञ्चालकहरुले समेत पछ्याउन थाल्छन् र उनको अन्तर्वार्ता लिनेको भिड लाग्दछ। यही परिवेशमा काठमाडौंबाट उनको माग हुन पुग्दछ र उनी काठमाडौंसम्म आउन भ्याउँछन्।

यता आएर केही युट्युबरहरुको समन्वयमा अर्का भाइरल भेलु बाजेसँग भेट गराइन्छ। त्यसपछि उनको र भेलु बाजेको सँगै अन्र्तवार्ता लिनेको भिड लाग्न पुग्छ। यही क्रममा उनको र भुलुबाजेको संयुक्त अभिनयमा गीत समेत सार्वजनिक हुन्छ।

उनमा भएको अभिनय क्षमता, वाकपटुकता या कुनै अद्भुत क्षमता भन्दा पनि एक करोड पाए चाउमिन खान्छु भनेकै भरमा भाइरुल भएका हुन्। उनको खास क्षमता के हो त? उनको कलाकारिता या मोडलिङमा निपुणता के हो? यस बिषयमा कोही पनि जवाफदेही छैनन्। बस् बोलेकै भरमा भाइरल भएका उनलाई देखाएर गीतका म्युजिक भिडियोमा खेलाउनेको तछाडमछाड नै छ।

स्रष्टा र सर्जकको अवमुल्यन

भाइरल भएका यीनै ब्यक्तिहरुको कला या सृजनात्मक क्षमता हेर्ने हो भने त्यस्तो खासै केही देखिँदैन। तर उनका अभिब्यक्ति र क्रियाकलाप हेरेर मात्रै दर्शकले मनोरञ्जन लिएको देखिन्छ। अनावश्यक बोल्ने र असान्दर्भिक हाउभाउ नै उनीहरुको चर्चाको कारण बन्न पुगेको छ।

गीत संगीतको क्षेत्रमा लामो समयदेखि साधना र अध्ययनले निपुणता हासिल गरेर कलाकारिता र अभिनयमा संघर्षरत भन्दा यीनै भाइरल म्यानहरुको बर्चस्व हुनुले समग्र कलाकारिताकै अवमुल्यन भएको स्रष्टाहरु बताउँछन्।

पछिल्लो समय कतिपय भाइरल भएकाहरु समयक्रममै हराएका समेत छन् भने कतिपय स्थापित पनि भएका छन्। बरिष्ठ हास्य कलाकार राजाराम पौडेल समेत बिकृतीजन्य तवरले कतिपय भाइरल भएको स्वीकार्छन् ।

तर पछिल्लो सञ्चार प्रविधिको युग भएकाले मानिसहरु आफ्नो कला सामाजिक संजालको माध्यमबाट प्रष्फुटन गरेर चर्चामा आउनु अन्यथा नभएको उनले बताए।

‘कतिपयले भने अनावश्यकरुपमा चर्चामा आउनलाई अनेकौं हर्कत गरेको देखिन्छ, त्यो शोभनिय हुँदैन तर आफूमा भएको क्षमता प्रष्फुटन गरेर कलाकारितामा आउनुलाई अन्यथा भन्न मिल्दैन तर भाइरल हुने नाममा आएकासँग पुराना स्थापित कलाकार जसले जीवन नै कलाकारितामा ब्यतित गरे उनीहरुकोतुलना हुन सक्दैन,’ पौडेलले डिसी नेपालसँग भने, ‘सस्तो लाकप्रियताको लागि जे पनि गर्न पछि नपर्ने भाइरल भनिएकालाई प्रोत्साहित गर्नु समग्र कलाकारिता र सर्जकमाथिकै अपमान हो ,यसले सिंगो कलाकारिता जगत नै बदनामी हुन्छ। ’

कसैले आफूमा भएको सिर्जनात्मक क्षमता सामाजिक संजाल टिकटक या युटेयुबबाट प्रष्फुटन गरेर कलाकारिता क्षेत्रमा आउनुलाई प्रविधिको माग भएको उनको भनाइ छ।
पछिल्लो समय सूचना प्रविधिको वृहत्तर विकाससँगै अनेकौं माध्यमबाट नयाँ कलाकारहरु आउनु स्वागतयोग्य भएको तर क्षमता र साधनाबिनाका अश्लिल क्रियाकलाप गर्ने प्रवृत्ति भने बिकृतिकै रुपमा भित्रिएको पौडेल बताउँछन्।

कलाकारिता भन्दा पनि अश्लिल क्रियाकलाप बढ्ने हो भने यसले समग्र कला जगतकै अवमुल्यन हुने पौडेलको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *