सप्तकोशी बाढीले डुबानमा फसेका २ हजार ४०० परिवारको उद्धार (तस्वीरसहित)

उदयपुर। उदयपुरको बेलका नगरपालिका-८ डुम्रीबोटे लाहुरे खोँचबाट सप्तकोशीले धार परिर्वतन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि प्रभावित भएका २ हजार ४०० घर परिवारको उद्धार गरिएको छ।
बाढीमा फसेका बेलका नगरपालिका-३ र बराह क्षेत्र नगरपालिकाका ६ र ९ का २ हजार ४०० घरधुरीलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना स्थानीयवासीको सहयोगमा ५ वटा बोटबाट उद्धार गरिएको सशस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कृष्णराज अधिकारीले जानकारी दिए।
बुधबार बिहानदेखि साँझसम्म उद्धार जारी राखेर उद्धार गरिएकाे उपरीक्षक अधिकारीको भनाइ छ। कोशी बुधबार बिहान फुटेकाले गर्दा उद्धार गर्न सहज भएकाे र मानवीय क्षति हुनबाट जाेगाउन सफल भएकाे उनले बताए।
कोशी पस्न सक्ने भएकाले अघिल्लो दिन नगरपालिकाले सबै वडामा माईकिङ गरि सुरक्षित स्थानमा जान आग्रह गरेकाले पनि मानवीय क्षति नभएको नगर प्रमुख अशोक कार्कीले बताए। बाढीबाट करिब २५ हजार मानिस प्रभावित भएको उनको भनाइ छ।
सप्तकोशीले कटान गरेपछि सुनसरीको बराह क्षेत्र नगरपालिका, उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका हुन्।
Facebook Comment