महावीर पुनले अमेरिकामा भने- यसकारण नेपालमा नै आविष्कार गरौं

इलिनोइ, अमेरिका। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनले नेपालमा आविष्कार गरेर नेपालको अर्थतन्त्र तथा नेपालीहरुको जीवनस्तर उठाउनुपर्ने कुरा बताएका छन्।
उनले आविष्कार गरेपछि त्यसको उत्पादनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले नयाँ कुराको खोज र अनुसन्धानमा राज्यले लगानी गर्नुपर्ने बताए। पुनले इलिनोइ राज्यको राजधानी स्प्रिंगफिल्ड र छिमेकी शहर ज्याक्सनभील वरिपरि बसोबास गर्ने नेपाली समुदायसँग अगष्ट ५ २०२२ शुक्रबारका दिन अन्तरक्रिया गरेका थिए।
स्प्रिंगफिल्ड र ज्याक्सनभील क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा अध्यक्ष पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाको उद्धेश्य, आजसम्म भए गरेका कामहरु र आगामी दिनमा केन्द्रले तय गरेका अनुसन्धान र आविष्कारका लक्ष्यहरुका बारेमा प्रकाश पारेका थिए।
कार्यक्रममा सहभागी व्यक्तित्वहरुले आविष्कार केन्द्रका बारेमा गहिरो चासो व्यक्त गर्दै केन्द्रका प्रगतिका साथै यसका क्रियाकलापहरुका बारेमा बिभिन्न प्रश्नहरु गरेका थिए। ती प्रश्नहरुका उत्तर दिने क्रममा अध्यक्ष डा पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्वामित्व पूर्णरुपमा नेपाली जनतामा रहेको र यो केन्द्र स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुको आर्थिक, प्राबिधिक सहयोगबाट संचालन भैरहेको बताए।
डा महाबीर पुन राष्ट्रिय आविष्कार केन्द्रमा भर्खरै तयार गरेर नेपालमा सफल परिक्षण समेत गरिएको अस्पतालमा नवजात शिशुलाई जन्मने बित्तिकै न्यानोमा राख्न प्रयोग गरिने बेबी वार्मर (न्यानो नानी, नेपाली नाम) को प्रदर्शनीका लागि अमेरिकाको नर्थ इष्ट अाेहायाे मेडिकल युनिभर्सिटीले आयोजना गरेकाे एक औपचारिक कार्यक्रममा भाग लिन हालै अमेरिका आएका हुन्।
सो उपकरणलाई युनिभर्सिटीले अनुमोदन गर्नुका साथै आविष्कार केन्द्रलाई सफल अनुसन्धान गरे बापत अवार्ड समेत प्रदान गरेको जानकारी प्राप्त भएको छ।
Facebook Comment