विद्युत् र पानीको समस्याले लाखौँ मूल्यका स्वास्थ्य सामग्री प्रयोगविहीन
मुगु। जिल्लास्थित स्वास्थ्य कार्यालयमा विद्युत् र पानीको अभावमा लाखौं मूल्यको स्वास्थ्य सामग्री प्रयोगविहीन भएका छन्। केही समय अगाडि कोरिया सरकारले सुविधा सम्पन भवनसहित लाखौं मूल्यका स्वास्थ्य सामग्रीहरु कर्णाली प्रदेश सरकारमार्फत जिल्ला स्वास्थ्य कार्यालय मुगुलाई हस्तान्तरण गरेको थियो।
कोरिया सरकारले दिएको केही सामग्रीहरु प्रयोगमा आए पनि ल्याब मेसिन, निर्मलीकरण गर्ने मेसिन, कपडा धुने मेसिन लगायतका सामग्रीहरु भने दक्ष जनशक्ति र विद्युत् पानीको अभावमा प्रयोगविहीन भएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ज्ञानसिंह बुढाले भनेका छन्, ‘कोरिया सरकारले मुगुलाई ठूलो सहयोग गरेको छ। जिल्ला अस्पताल मुगुलाई सेवा सुविधा सम्पन्न भवन निमार्ण गर्नुका साथै स्वास्थ्य क्षेत्रमा प्रयोग हुने लाखौं मूल्यका उपकरणहरु हरुतान्तरण गरेको छ।’
उनले थपे ‘केही सामग्रीहरु प्रयोगमा आएका छन् भने एनलाईर मेसिन, निर्मलीकरण मेसिन, कपडा धुने मेसिनहरु भने दक्ष कर्मचारी नहुँदा सञ्चालनमा ठूलो समस्या भएको हो। अर्कोतर्फ पानी र विद्युुतको समस्याले गर्दा पनि प्रयोगमा आउन नसकेको हो।
उक्त उपकरणहरुको सञ्चालनका लागि सरोकारवाला सबैसँग छलफल गरिएको बताइएको छ। अबको एक साताभित्र दक्ष व्यक्ति अर्थात् वायो मेडिकल इन्जिनियर आउने र सबै सामग्रीहरुको चेकजाँच गरी सञ्चालनमा ल्याइने बताइएको छ।
Facebook Comment