रोल्पामा बलियो माओवादी, निर्विकल्प वर्षमान

शरद रिजाल
२५ साउन २०७९ ७:०५

काठमाडौं। माओवादी जनयुद्धको उद्गम स्थलको रुपमा परिचित रोल्पामा अन्य पाटीृको तुलनामा माओवादीको सांगठनिक अबस्था मजबुद छ। यसपालीको निर्वाचनमा रोल्पामा गठबन्धनबिना एकलरुपमा नै जित हासिल गर्ने सांगठनिक अबस्थाले माओवादीमा उम्मेदवारका आकांक्षी धेरै देखिएका छन्।

माओवादीले जनयुद्धमा जानुपूर्व २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा हुँदा देखि नै हालसम्म रोल्पामा निरन्तर विजय हासिल गर्दै आइरहेको छ। आसन्न संघ र प्रदेशको निर्वाचनमा गठबन्धन बिना नै माओवादी केन्द्रको बलियो उपस्थिति देखिएको छ।

गत स्थानीय तहको निर्वाचनको मतपरिणामले माओवादीको स्थिति हालसम्मै बलियो देखाएको हो। कांग्रेस, विप्लव नेकपा र एमालेले रोल्पाका कतिपय स्थानीय तहमा गठबन्धन गर्दा समेत माओवादीलाई हराउन सकेनन्।

रोल्पामा १० स्थानीय तहमध्ये दुई कांग्रेस, एक एमाले र बाँकी एक नगरपालिकासहित सात स्थानीय तह माओवादीले जितेको छ। स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मतको आधारमा माओवादीको जिल्लाब्यापी ४० हजार ७९१ मत रहेको छ। कांग्रेसको २४ हजार ६६६ मत छ भने एमालेको १५ हजार ३०१ छ। यही स्थानीय तहको मतलाई आधार मान्ने हो भने रोल्पामा कांग्रेस र एमाले मिल्दा समेत माओवादीको मत बढी हुन पुग्दछ।

सांगठनिक अबस्था बलियो र हिजोको माओवादी जनयुद्धको उद्गम थलो भएकाले समेत रोल्पामा माओवादी नेता उल्लेख्य मात्रामा छन्। एकमात्र संघीय निर्वाचन क्षेत्र भएको रोल्पामा २ वटा प्रदेशसभाको निर्वाचन क्षेत्र रहेको छ। २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा वर्षमान पुन र प्रदेश सभामा १(क) बाट दिपेन्द्र पुन र २ (ख) बाट हालका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी निर्वाचित भएका हुन्।

रामबहादुर थापा बादलको नेतृत्वमा बैद्य नेतृत्वको पार्टी छाडेर माओवादी केन्द्रमा आएका मुख्यमन्त्री केसी १ (क) नं क्षेत्रको बासिन्दा हुन्। तथापि उनले १ (क)ं क्षेत्रमा आकांक्षी धेरै हुदा १ (ख) बाट उम्मेदवारी दिएका थिए। तत्कालीन अबस्थामा माओवादी नेता बादल निकट रहेका मुख्य मन्त्री केसी उनकै दबावमा आफ्नो क्षेत्र भन्दा अलगै टिकट दिइएको माओवादी नेताहरु बताउँछन्।

२०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट क्षेत्र नं १ मा ब्रमण बुढा र २ बाट कृष्णबहादुर महरा निर्वाचित भएका हुन्। तत्कालीन नेकपा(एकताकेन्द्र)को चुनावी मोर्चा संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए।

२०५२ फागुन १ गते माओवादीले सशस्त्र युद्ध सुरु गरेसँगै महरा भुमिगत भएका हुन्। शान्तिप्रक्रियामा आएसकेपछि २०६४ सालको निर्वाचनमा रोल्पा क्षेत्र नं १ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र २ मा जयपुरी घर्ती निर्वाचित भएका थिए।

२०७० मा क्षेत्र नं १ बाट वर्षमान पत्नी ओनसरी घर्ती र २ बाट कृष्णबहादुर महरा निर्वाचित भए भने २०७४ मा एक मात्रै निर्वाचन क्षेत्र हुँदा प्रतिनिधि सभामा वर्षमान पुन, प्रदेशमा दिपेन्द्र पुन र लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुलप्रसाद केसी निर्वाचित भएका हुन्। आगामी निर्वाचनमा प्रतिनिधि सभामा बाहेक प्रदेशमा उम्मेदवारका आकांक्षी धेरै हुँदा माओवादीलाई उम्मेदवार चयन गर्न भने निकै सकसपूर्ण हुने देखिन्छ।

प्रतिनिधिसभामा वर्षमान पुन निर्विकल्प

नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता वर्षमान पुन यस पटक प्रतिनिधि सभामा उनको उम्मेदवारी सुनिश्चित नै देखिएको छ। हालसम्म रोल्पामा पार्टी भित्र उनको हाइटका नेताहरु अरु देखिएका छैनन्। उनका समकक्षी नेताहरु पार्टी बिभाजन भएसँगै अन्य पार्टीमा लागेका छन्। पार्टीमै भएका नेताहरु समेत वर्षमानबिरुद्ध जाने आट कसैले गर्दैनन्। उनी रोल्पामा निर्विकल्प जस्तै देखिएका छन्।

२०४८ र २०७० मा रोल्पाबाट निर्वाचित अर्का प्रभावशाली नेता कृष्णबहादुर महराले चुनावी क्षेत्र दाङ २ बनाइसकेका छन्। यसपटकको निर्वाचनमा पुन माओवादीबाट निर्विकल्प उम्मेदवार बन्ने निश्चित जस्तै छ। पुन स्वयम्ले पार्टीले अन्यत्रबाट निर्वाचन लड्ने निर्णय नगरेको अबस्थामा आफू रोल्पाबाटै निर्वाचन लड्ने सार्वजनिक गरिसकेका छन्।

प्रतिनिधि सभामा वर्षमान पुन नै उम्मेदवार हुने माओवादी रोल्पा इन्चार्ज तथा लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र पुन बताउँछन्। उनले निर्वाचनको समयावधी अझै बाँकी रहेकाले अहिल्यै नै घोषित रुपमा अगाडि नल्याएको बताए। तर पुन नै प्रतिनिधि सभामा उम्मेदवार हुने प्रबल संभावना रहेको उनको भनाइ छ।

प्रदेशसभााको क्षेत्रमा आकांक्षी धेरै

रोल्पाको भूगोलमा जन्मिएर रोल्पामै रहेर राजनीति गर्ने देखि अन्यत्रबाट राजनीति गर्दै आएका माओवादी नेताहरु उल्लेख्य मात्रामा छन्। कोही माओवादी केन्द्रमै रहेका छन् त कतिपयले माओवादीबाट बिभाजित अन्य पार्टीको राजनीति गरिरहेका छन्। यसपालीको निर्वाचनमा अन्यत्र जिल्लाबाट जित सुनिश्चित नहुने भन्दै कतिपय माओवादी नेताहरु रोल्पामै फर्किएर चुनावी दौडधुपमा लागेका छन्।

यसपटकको रोल्पाका २ वटा प्रदेश निर्वाचन क्षेत्रमा आकांक्षीहरु भने उल्लेख्य छन्। गत निर्वाचनमा निर्वाचित पुन र मुख्यमन्त्री केसीले यसपटक पनि उम्मेदवारको दाबी गरेका छन्।

लामो समयदेखिपार्टी अध्यक्ष प्रचण्डको स्वकिय सचिव भएर काम गरेका रोल्पाका माओवादीका पुराना नेता जोखबहादुर महरा समेत जिल्लाबाटै निर्वाचन लड्ने मनस्थितिका साथ रोल्पामै रहेका छन्। उनले केही समय अगाडि अध्यक्षको सचिवालय छाडेर आफेनै भूगोलमा पार्टीको राजनीति गर्ने भन्दै माओवादी लुम्बिनी प्रदेश सह इन्चार्जको जिम्मेवारीमा सम्हालेका थिए ।

दूई वटा मात्र प्रदेश निर्वाचन क्षेत्र भएको रोल्पामा यस पटक आकांक्षी धेरै हुँदा उम्मेदवार चयन गर्न सकस रहेको माओवादी वृत्तमा चर्चा हुने गर्दछ। राजधानी काठमाडौंमा रहेर २०६४ को निर्वाचनमा माधव नेपाललाई हराउने झग्कु सुवेदी २०७४ मा बामगठबन्धन हुँदा क्षेत्र नं ६ बाट कांग्रेसका भिमसेनदास प्रधानसँग पराजित भएका थिए्। उनै नेता सुवेदीले समेत रोल्पाबाटै प्रदेश सभामा निर्वाचन लड्ने आकांक्षा ब्यक्त गरेको बताइएको छ।

सुनिलस्मृती गाँउपालिकाका निवर्तमान अध्यक्ष रहेका माओवादी नेता गुणेन्द्र घर्तीले पनि प्रदेशमा आकांक्षा गरेको माओवादीकै जिल्लास्तरका नेताहरु बताउँछन्। उनी भर्खरै माओवादीको जिल्ला समन्वय समितिको अध्यक्ष भएका छन्।

यस्तै माओवादी नेत्री जयपुरी घर्ती २०६४ मा निर्वाचित भएपछि हालसम्म प्रत्यक्ष निर्वाचन लडेकी छैनन्। २०७४मा समानुपातिक तर्फबाट प्रतिनिधिसभाको सांसद बनेकी घर्तीले प्रत्यक्षतर्फ लड्ने इच्छा देखाएकी छिन्। उनलाई फेरि समानुपातिकमै राख्ने बताइएको छ । २०७० मा निर्वाचित ओनसरी घर्तीलाई पनि समानुपातिकमै राख्ने आन्तरिक तयारीमा माओवादी लागेको छ।

क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य तथा माओवादी केन्द्र रोल्पाका इन्चार्ज दिपेन्द्र पुन रोल्पा जस्तो बलियो क्षेत्रमा आकांक्षीको संख्या बढ्नु स्वभाविक भएको बताउँछन्। रोल्पामा नेता धेरै हुँदा आकांक्षी बढेको पुनले बताए।

‘पार्टीको संगठन बलियो र माओवादी आन्दोलनको केन्द्र समेत भएकाले आकांक्षी धेरै हुनु अस्वभाविक होइन, फेरि निर्वाचन आउनु अगाडि नेताहरुले दाबी गर्नु सव्भाविक हो तर पार्टीको निर्णय नै अन्तिम हुन्छ,’ उनले डिसी नेपालसँग भने, ‘जोखबहादुर महराले गत निर्वाचनमै आकांक्षा ब्यक्त गरेकाले यसपटक गर्नु नै हुने भयो अन्य आकांक्षी पनि हुनुहुन्छ सबैको आकांक्षालाई कदर गर्दै पार्टीले गर्ने निर्णय नै सबैको हकमा अन्तिम हुन्छ।’

माओवादी नेता जोखबहादुर महरालगायत अन्यले यस अगावैको निर्वाचनमा समेत आकांक्षा ब्यक्त गरेको पुनले स्वीकार गरे। अन्य जिल्लाबाहिर रहेर राजनीति गरेका नेताहरु चुनावमा उम्मेदवारी दाबी गर्न जिल्ला आउनु अन्यथा नभएको भन्दै सबैे राजनीतिकर्मीको चाहना निर्वाचनमा उम्मेदवार बन्न इच्छुक भएर दाबी गर्नु स्वभाविक भएको उनको भनाइ छ। तर, अन्तिम संस्थागत निर्णय गर्ने अधिकार पार्टीमै निहित हुने र त्यसलाई सबैले अंगीकार गर्ने उनको दाबी छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *