एउटा कुखुराकाे आत्मकथा
पुरै अँध्यारो मात्र पनि कहाँ थियो र हाम्रो जीवन। अण्डाबाट निस्कने बेलाको यानी जन्मने बेलाको त्यो क्षण पनि कत्ति रोचक थियो। मेरो कलिलो चुच्चोले अण्डाको बोकरामा ठुँगी ठुँगी प्वाल पारेर बल्ल तल्ल बाहिर निस्केर बाहिरी संसार हेर्दा कत्ति रमाइलो लागेको थियो।
मेरा अन्य दाजुभाइ, दिदी बहिनी पनि त्यसै गरेर निस्केका थिए। बेसारले लेपेका जस्ता पहेँला पातला रौँ थिए हाम्रा कलिला शरीरमा। मान्छेको बच्चा जन्मेपछि उसलाई आफ्नै बुताले हिँडडुल गर्न र संसारलाई बुझ्न निक्कै लामो समय लाग्छ।
तर हामी कुखुराहरू अण्डाबाट निस्कने वित्तिकै नै आफ्नो खुट्टामा अड्न सक्ने भइसकेका हुन्छौँ। आनीले गाएको गीत मैले अण्डा प्वाल पार्दै गर्दा नै सुन्न थालिसकेको थिएँ। ‘फूलको आँखामा, फूलै संसार, काँडाको आँखामा काँडै संसार’।
मानिसले यसको जे जे अर्थ लगाएको भए पनि मैले त अण्डाभित्र बस्दाको आफ्नै सानो संसार र बाहिर निस्केपछिको फेरि अर्को पाटोको संसार भनेर बुझ्ने प्रयत्न गरेँ। तर यो संसारका विभिन्न पाटाहरू हामी जस्ताले भन्दा पनि मानिस रुपी राक्षसहरूले नै लेखिदिने रहेछन्।
अण्डाबाट निस्केर बाहिरी संसारमा आउना साथ मेरी आमाले म लगायत आफ्ना सबै भुराभुरी चल्लाहरूलाई कत्ति माया गरेर आफ्नो छाती र भित्री शरीरको प्वाँखभित्र कोचेर तातो पारेकी थिइन्।
घर-आँगनमा खेल्दा अन्य चल्लाहरूसँग खेले पनि खतरा हुँदा या रात पर्दा हामी आआफ्ना आमाका शरीरमा नै लुटपुटिएर बस्ने गर्दथ्यौँ। हामीलाई देखेर लोभ्भिने सर्प, बिराला, कुकुर र कागहरूलाई हाम्री आमाले पखेटा उचाल्दै, घाँटी फुलाउँदै कराएपछि हामीलाई गिद्दे दृष्टिले हेर्ने त्यहाँ कसैको आँट हुँदैन थियो।
तैपनि झुक्याएर भएपनि मेरा केही भाइ-बहिना तथा साथीसङ्गीहरूलाई ती पापीहरूले लगेर खाइहाले। आमाको पछि पछि फुर्के चल्ला भएर दौडँदै मान्छेले फोहर भन्ने गरेका ठाउँहरूमा गई आमाले आफ्नो ठूलो खुट्टाले खोस्रेझैं हामी भुरा भुरीले पनि आफ्ना साना खुट्टाले माटो खोस्रेर अनाज, साना साना किरा र गड्यौला, सागपात तथा माटो समेत खाँदाको मज्जा नै अर्कै।
मानिसका सिँगान र खकार समेत निक्कै स्वादिला हुने। कहिले काहीँ पेट दुख्दा आमाले खाएको देखेर हामी पनि विभिन्न खालका घाँसहरू खाने गर्दथ्यौँ। सर्कन्छ भनेर आमाले पानी खाँदा आकाशमा हेर्नु भनेर पनि सिकाएकी थिइन्।
हाम्रा बाहरू त बेला बेलामा मात्र अगाडि देखिने तथा हाम्री आमाभन्दा अलिक बेग्लै जिउडालका सिलिम र चिल्ला प्वाँख भएका नक्कले हुन्। उनलाई श्रीमतीको याद यौन इच्छा पुरा गर्नको लागि मात्र आउँदो रहेछ। नत्र त हामी लाला बालालाई बिर्सेर अन्तै अन्य कुखुरीहरूको पछि पछि शरीरको रौँ ठाडो पारेर नाच्दै हिरो पल्टेर हिँड्नु वाहेक उनलाई अरु केही नचाहिने।
माया पिरतीको गीत गाउँदा पनि ‘कुखुरी काँ.. रातो भाले क्वाएँक क्वाएँक, सुत्केरीलाई ख्वाएँ, सुत्केरीको नाम गरी, टाउको मैले खाएँ’ अनि अर्को गीतमा ‘जाने बेला भएन र भाले बासेन र’ रे। मनुश्यका युवायुवतीले माया पिरतीको कुरा गर्दा अलिक चञ्चले स्वभावको प्रेमीलाई ‘कुखुरे वैंश भएको’ भन्ने, अनि छिटो भावुक हुने प्रेमी चाहिँ ‘चिकेन हार्टेड’ अरे।
आमाहरू भने घरपरिवारका संरक्षक र पथप्रदर्शक हुनु पर्ने। अनि हाम्रा बाहरू कामै नपाएझैं बिहान हुन लाग्दाको आनन्दको निन्द्रामा पनि ठूलो ठूलो स्वरमा कुखुरी… काँ… भनेर बासिराख्ने। हाम्रो त कुरै छोडौँ, अन्य पशु र मान्छेहरूको पनि निन्द्रा बिच्काई दिने।
त्यसैले मान्छेले हाम्रा बा र साथीहरूलाई घडी चरो भनेर नाम राखेका रहेछन्। मान्छेहरूले बेला बेलामा हाम्रा बाहरूलाई लडाएर पैसाको बाजी पनि खेल्दा रहेछन्। हाम्रा बाहरू चाहिँ बिनासित्ती प्वाँख झर्ने र घाउ चोट नै लाग्ने गरि टोका टोक र झम्टाभम्टी गरेर लड्ने।
हाम्रा बाहरू बासेपछि गाउँको बगरे पनि उठेर बाँधिराखेका खसी लिएर काट्ने ठाउँमा जाने। बिचरा खसीहरू पनि रातभर अँध्यारोमा बसेको, बल्ल उज्यालोमा जान पाएँ भनेर हामीलाई इख्याउँदै कर्के आँखाले हेरेर लामो कान हल्लाउँदै लाहुरेले जस्तो लेफ राइट, लेफ राइट गरेर बडो गम्केर काट्ने ठाउँतिर लाग्ने।
के थाहा र उनीहरूलाई एकै छिनपछि उनीहरू माथि कति विभत्स घटना घट्दै छ भनेर। एकपल्ट त सानो बोकोले आफ्ना काका खसी त्यसै गरी बगरेसँग बाहिर जान लागेको देखेर केहोला…. केहोला…. भनेर कराउँदा खसीले पनि घोक्रो सुरमा जेहोला…. जेहोला…. भनेको अझसम्म याद छ। तर बगरेसँग गएपछि फर्कने त कुरै भएन।
एकचोटी बगरेले काट्ने ठाउँमा लगेर लामो काठ खसीका खुट्टाहरूको बीचमा राखेर लामो खुकुरीले खल्र्याप्प खसीको टाउको छप्काउँदा रगताम्मे भएको खसीको टाउको शरीरबाट छुट्टिएर भुईँमा बजारिएर मसँग खसीको डरलाग्दा ठूला आँखा जुझ्दा कस्तो डर लागेको थियो। त्यतिबेलासम्म आफू सानै भएकोले हामी कुखुराहरूलाई त केही गर्दैनन् होला भन्ठानेको थिएँ।
शुरुमा त कुखुरा भनेको सबै हामीजस्ता मात्र हुन्छन् भन्ठानेको थिएँ। हामी त साखिनी वा लोकल कुखुरा रहेछौँ। अर्काथरी जङ्गलमा बस्ने हामीभन्दा केही साना र निक्कै दौडन र अलि अलि उड्न समेत सक्ने कुखुरा हुँदा रहेछन्। मानिसले नाम राखेका चाहिँ सिङ कुखुरा रे।
हामी जस्तै अर्का थरी कालिज भन्ने हुँदा रहेछन्। जङ्गलमा बस्ने कुखुराहरूलाई व्याधाहरूले विभिन्न खालका जाल हालेर वा हतियार प्रयोग गरेर पक्रँदा रहेछन्। कतिसम्म भने, तिनीहरू चर्न आउने ठाउँमा रक्सी मिसाएको भातका डल्ला छोड्दा रहेछन्।
त्यस्ता एक डल्ला भात खाए पछि त ती जङ्गली कुखुराहरू मात्तिएर केही बेर नाचेर ठाउँको ठाउँ लडेर घुर्ने गरी सुत्दा रहेछन्। अनि त सजिलैसँग तिनीहरू सिकारीको जालमा परिहाल्दा रहेछन्। जँड्याहाहरूलाई तारेको भुटुवा र मासु रे अनि भातसँग खान हाम्रो सुप रे। एकदम तिख्खर हुन्छ रे। बजियाहरू।
संसारमा मासुको नै लागि कुखुराहरूको माग सबैभन्दा बढी हुँदो रहेछ। त्यही भएर हामी जस्ता कुखुराले नपुगेर एउटा कृतिम कुखुरा समेत बनाएका रहेछन् मनुष्यहरूले। ब्रोइलर रे नाम राखेका चाहिँ। हेर्दै ख्याक जस्ता सेता र अप्राकृतिक तवरले ठूला।
अलिकति एकोहोरा र सुस्त मनस्थितिका जस्ता पनि। हाम्रा जस्ता नाता गोता कोही नभएका मतलबी जस्ता। अण्डा पनि कृतिमरुपले तयार गरेर तातो कोठामा राखेर चल्ला निकाल्दा रहेछन्। आठ हप्तामा नै चल्लाबाट माउ बन्दा रहेछन्।
तिनलाई छिटो छिटो हुर्काउन विशेष प्रकारको दाना खुवाउँदा रहेछन्। पूरा नहुर्कुन्जेलसम्म त तिनलाई यति हाइ सञ्चो कि के भन्ने। मर्लान् भनेर खोप लगाएको छ, भुसको ओछ्यान र चौबिसै घण्टा बिजुली-बत्ती, अनि पानीको व्यवस्था।
तर जब तिनीहरू दुई किलोका हुन्छन्, त्यसपछि त यो तराजुबाट ऊ तराजुमा र यो गाडीबाट ऊ गाडीमा, साइकलमा, जहाँ जहाँ तिनका खुट्टा बाँधेर झुण्डाउन मिल्छ, त्यहीँ बाँधेर राता रात गाउँ-शहर पुर्याएर बथानका बथान बेचिहाल्ने।
बगरेको हातमा परेपछि त पक्रँदै, काट्दै सिधै तातो पानीमा हाल्दै मिनेट मिनेटमा सफा गरेर निकाल्दा रहेछन्। आन्द्रा, भुँडी, टाउको, खुट्टादेखि केही पनि बाँकी नहुने। सबै बिक्ने। किलोका किलो बिक्ने।
शहरभरी केएफसी, रोस्ट र तन्दुरी चिकेन, चिकेन मःमः, चिकेन चिली आदि हजारौँ नाममा परिकार र ब्रोइलर भनिने ब्वाइलरका मासुका दोकान र होटेलहरू।
अर्का थरी फेरि हेर्दा हामीजस्ता नै देखिने तर वास्तवमा तिनीहरू हामी र त्यही ब्वाइलरको विकासे खच्चड हुँदा रहेछन्। त्यस्ताको नाम चाहिँ क्वाइलर रे। कति जानेका नाम राख्न पनि मुर्ख मनुवाहरूले। ठूला र वजनदार तथा बढी मासु भएका बनाउन हामी जस्ता कुखुरा र चील वा गिद्दको खच्चड निकालेर ठूला ठूला गिरीराज भनिने कुखुरा पनि उत्पादन गर्दा रहेछन्।
कति मानिस त दोकानमा किन्न आउँदा नाम भन्न नजानेर गिरिजाप्रसाद पनि भन्ने गर्छन्। कस्तो हाँसो उठ्छ तर त्यो रुन्चे हाँसो त्यहाँ टोकरी भित्र बसेका सबै हाँस र कुखुराहरूलाई एकै छिनको मुतको न्यानो मात्र भइ दिन्छ।
हामी साखिनी वा लोकल भनाउँदाहरू चाहिँ कुखुराहरूमा सर्वश्रेष्ठमा गनिँदा रहेछौँ। तर गनिएर के नै नापियो र? आखिर काटेर केही पनि नबच्ने गरेर घिचिहाल्छन् हाम्लाई पनि। हुँदा हुँदा हाम्रा रौँ जम्मा गरेर तिनै मान्छेले सुत्ने बेलामा टाउको अडाउने तकिया र ओढ्ने सिरक बनाउने रे ‘ओरिजिनल फेदर’ भनेर।
मान्छे मर्यो भने आफ्नै बाउ-आमा भए पनि राति तर्साउन आउला भनेर डराएर बस्ने कातर मानव हाम्रा मृत शरीर घिचेर बाँकी भएको प्वाँखमा सुत्दा र ओढ्दा चाहिँ गर्व गर्ने। के मान्छेको मात्र आत्मा हुन्छ? के धर्म, संस्कृति र सुरक्षा मान्छेको लागि मात्र आवश्यक छ? कति निर्मम र स्वार्थी जात मानिसको। अझैं सधैं मानिस भएरै जन्मन पाऊँ भनेर प्रार्थना गरिरहेका हुन्छन् तिनका इश्वर भनाउँदा पाखण्डी कल्पनासँग। खैर।
हाम्रा बाहरू त बेला बेलामा मात्र अगाडि देखिने तथा हाम्री आमाभन्दा अलिक बेग्लै जिउडालका सिलिम र चिल्ला प्वाँख भएका नक्कले हुन्। उनलाई श्रीमतीको याद यौन इच्छा पुरा गर्नको लागि मात्र आउँदो रहेछ। नत्र त हामी लाला बालालाई बिर्सेर अन्तै अन्य कुखुरीहरूको पछि पछि शरीरको रौँ ठाडो पारेर नाच्दै हिरो पल्टेर हिँड्नु वाहेक उनलाई अरु केही नचाहिने।
टन्न पैसा बोकेर आउनेले हामीमध्येका ठूलालाई छान्छन् भने अलि कम पैसा भएकाले सानालाई। आँखा फुटेका राक्षस मानवहरूले छानेको भरमा मलाई नै कति पटक डोकोबाट झिकेर जोखिसके। तर खै भाग्य बलियो भनौँ या मर्ने दिन नआइपुगेको, फेरि डोको भित्र फ्याँक्छन्। र त आजसम्म जिउँदो मुर्दा भएर बाँचेको छु। तैपनि जिउने लालसा भने अझै छ।
मानिसले कुखुरा धेरै खाउन् भनेर ठूला ठूला विज्ञापनका वोर्डमा कालो सुट लगाएर पार्टीमा जान लागेका जस्ता हामी कुखुराको स्मार्ट मानवरुपी आकृति पनि बनाएर राखेका हुँदा रहेछन्।
हुँदा हुँदा मनुष्यका बच्चाहरूलाई पढाउँदा पनि ‘कुखुराले हामीलाई अण्डा र मासु दिन्छ’ भनेर मानौँ कि हामीले उदार भएर आफ्ना मासु काटेर दिएझैं झुटा कुरा सिकाउँदा रहेछन्। अनि बिचरा मानव भुराहरूले स्कूलमा केही साना भुल गरे भने ‘कुखुरा बन’ भनेर हाम्रो उपहास गर्ने।
माया पिरतीको गीत गाउँदा पनि ‘कुखुरी काँ.. रातो भाले क्वाएँक क्वाएँक, सुत्केरीलाई ख्वाएँ, सुत्केरीको नाम गरी, टाउको मैले खाएँ’ अनि अर्को गीतमा ‘जाने बेला भएन र भाले बासेन र’ रे।
मनुश्यका युवायुवतीले माया पिरतीको कुरा गर्दा अलिक चञ्चले स्वभावको प्रेमीलाई ‘कुखुरे वैंश भएको’ भन्ने, अनि छिटो भावुक हुने प्रेमी चाहिँ ‘चिकेन हार्टेड’ अरे। अनि उनीहरूलाई लाग्ने एकथरी सरुवा रोगको नाम चाहिँ ‘चिकेन पक्स’ रे। कति जानेका।
हामी पशु-पंक्षीहरू प्राकृतिक जीवनशैलीमा बाँच्ने भएकाले हामी सानातिना रोग पनि सहजै पचाउने गर्छौँ तर यी नाजुक मनुस्यहरू विभिन्न रोग लाग्ने डरले सधैं त्रसित रहन्छन्।
एउटा स्वाइन फ्लु भन्ने रोग आयो भनेर हाम्रो समुदायका लाखौँ सदस्यलाई बेला बेलामा खाल्टो खनेर जिउँदै गाड्ने जस्ता अति निर्मम कार्य पनि गर्न पछि हट्दैनन्।
काटेर त खाए खाए, शहरबाट अलि टाढाका ‘रिजोर्ट’ भनिने होटेलहरूमा त जँड्याहा ठिटाहरू आएर हामी मध्ये थुनिएर बसेका जसलाई टाउकोमा गुलेली हानेर मार्न सक्यो, त्यसको मासुसँग रक्सी खाने होडबाजी नै हुँदो रहेछ।
त्यस्तालाई पनि बाँधेर हामी जस्ता एक दर्जन कुखुराले ठुङ्दै मार्न पाए कत्ति रमाइलो हुने थियो। तर के गर्ने, यो संसार नै यिनै व्याधाहरूको अधिनमा छ।
हामी साना छँदा गाउँको हामी बसेको घरमा गाई, भैँसी, बोका, खसी, हाँस, कुखुरा आदिलाई खासगरी घरकी बुढीमाउले कत्ति धेरै माया गरेर खाना दिने गरेकी थिइन्।
गाई-भैँसी र अन्य बस्तुभाउलाई बिहान बेलुका खाना, पानी र खोले दिने, चराउन लग्ने, बस्ने ठाउँ सफा गर्ने जस्ता कति काम गर्दथे। हामीलाई चाहिँ टोकरीले छोपेर सुरक्षित राखेको हुने रातभरी। बिहान भएपछि छोडी दिने।
मान्छेले खाएपछि बचेको भात र तरकारी हामी भएको तिर छरी दिन्थे। कहिले काहीँ मकै, भटमास, चना, सागपात आदि पनि खुवाउँथे। बेला बेलामा हाम्रा ठुला भएका आमा-बाहरू हराएर हाम्रो संख्या कम हुँदै गएको हुन्थ्यो।
खाना खोज्न जाँदा हाम्रा जस्तै भुत्लाहरू र हाडहरू पनि फ्याँकेको भेटिन्थे। के थाहा र बच्चा छँदा, ती त हाम्रै आमा-बालाई काटेर खाएपछि बाँकी भएका हाडखोर र रौँ पो रहेछन्। मासु जति उनीहरूले खाएपछि हाड, छाला, टाउको, खुट्टा कुकुर-बिरालालाई दिँदा रहेछन्।
एकदिन म अलिक ठूलो भएपछि त मेरी आफ्नै आमालाई पनि समातेर लगे। आमा कराउँदै थिइन् तर तिनै बुढीमाउले एउटा खुट्टाले मेरी आमाका दुबै खुट्टा च्यापेर अर्को हातले टाउको तानेर आमाको घाँटी हँसियाले काटी दिएर टाउको फ्याँकी दिई।
आमाले चुच्चो खोलेर आँ आँ गरेको र हामीलाई हेरेर आँखाबाट आँशु झार्दै इन्तु न चिन्तु भएर मुर्तिजस्तो भएको आजै जस्तो लाग्छ। आमाको टाउको नभएको मृत शरीरबाट पनि दुखाइको चित्कार सुनिएको र आमाको शरीर भुईँमा छटपटाएको हेर्दा औधी दुख लागेको थियो।
मान्छेका बच्चाहरू कत्ति रमाएर हेरिरहेका थिए ‘कुखुरा नाच्यो’ भन्दै। हामी कुखुराका बच्चा भने डरले थुर थुर काँपेका थियौँ। त्यसपछि आमाको मृत शरीरलाई तातो पानीमा डुबाएर सबै रौँ थुते। आमा त नाङ्गो हुँदा सानी पो रहिछन्। रौँले पो त मोटी बनाएको रहेछ। अनि पेट चिरेर आन्द्रा भुँडी र धेरै अण्डाहरू निकाले।
आमाको मासु त चुलेसीले र खुकुरीले अचानोमा राखेर टुक्रा टुक्रा पारे। बच्चादेखि बुढासम्म पकाउने बेलामा खुब मुख मिठाएर बसेका थिए। आखिर भात र आमाको मासु पाक्ने बित्तिकै एउटा टुक्रा पनि बाँकी नहुने गरी खाए ब्याधाहरूले।
पहिलो चोटी मलाई ‘आखिर जीवन के रहेछ र’ भने जस्तो लागेको थियो त्यो कालो रातमा। आमाको यादमा केही दिन केही पनि खान र कतै घुम्न पनि मन लागेन। फेरि मलाई हेर्दै ‘ऊ त्यो ठूलो चल्लाले त नुन खाए जस्तो छ नि, ज्यादै झोक्राएको छ’ भन्न थाले।
हाम्री आमासँगै ओथारो बसेका कैयन् आमाहरूका अण्डाहरू मानिसहरूले खानलाई झिकेर लान्थे र कहिलेकाहीँ मात्र चल्ला बनाउन छोड्थे। आफ्नो प्राणभन्दा प्यारो सन्तति अण्डा त्यसरी खोसेर लग्दा हाम्रा आमाहरू केही दिन निक्कै पिरमा पर्दथे।
हो त्यस्तो बेलामा भने हाम्रा बाहरू आएर ‘पिर नगर् बुढी, फेरि अण्डा बनाउन मद्दत गरौँला’ भनेर सान्त्वना दिन थाल्दथे। तर सर्सती हेर्दा हाम्रा बाहरू निक्कै बिन्दास र बेफिक्रीका दूधका साक्षी स्वार्थी बिराला जस्ता मात्र थिए।
म भने केटो भएपनि आमाहरूसँग अलिक नजिक भएकोले आमाहरूको मर्म अलिक बुझ्ने खालको। तर आमाहरूसँग धेरै बसिरह्यो भनेर हाम्रा साथीहरूले मलाई पनि ‘हिजडा’को संज्ञा दिएका थिए।
हामी लक्का जवान हुँदै गएपछि हाम्रो घरका मान्छेहरूले हाम्रा कैयन् साथीहरूलाई भाकल छ भन्दै लगेर मन्दिरमा बली समेत दिए भने मजस्ता धेरैलाई टोकरीमा राखेर बाहिरबाट आएका व्यापारीहरूलाई बेचेर पनि पठाए। एकचोटी त मेरो पनि त्यसरी नै बेचिने दिन आयो।
आफ्नो गाउँ, वस्ती, हरियाली तथा स्वच्छ हावा र सबै दौँतरीलाई टोकरीबाट अन्तिमपटक देख्दा मेरो मन कत्ति दुखित भएको थियो। त्यसपछि त आफ्नो गाउँ कहिल्यै जान नै पाइनँ मैले। केही दिनको यात्रा पश्चात मेरा बचपनका साथीहरू पनि अर्कै अर्कैतिर बेचिन थाले। कतिलाई बाटैमा मान्छेहरूले किनेर लगे।
मेरी सबैभन्दा बढी मन परेकी प्रियसी कुखुरीलाई चाहिँ हाम्रो टोकरी बोक्ने साहु थकाई मेट्न बस्दा त्यो गाउँको एउटा सानो भुरा केटोले ज्यादै मन पराएकोले त्यसका बाआमाले किनिदिए। जन्मेदेखि सँगै हुर्के बढेका, एक प्रकारको कस्तो कस्तो माया पिरती बसेको हामी दुई जना उही टोकरीमा टाँसिएर बसेका थियौँ।
उसको शरीरको न्यानो स्पर्श पाउँदा पनि कत्ति सुरक्षित महसुस गरेको थिएँ मैले। तर दैवको लेखा भनुँ वा के भनुँ, उसँग पनि छुट्टिने बेला आइहाल्यो। खाली खुशी केमा छ भने, त्यो भुरा केटोको खेलौनाको रूपमा उसलाई किन्नेहरूले उसलाई तुरन्त भने काटेर खाँदैनन् होला।
मसँग छुट्टिएर जाने बेलामा मलाई कर्के आँखाले हेर्दै आँखाबाट आँशु तुरुक्क झारेर उसले पखेटाले मलाई ढाप हानेर गएको सम्झँदा अहिले पनि मेरो छाती छिया छिया भएर पोलेर आउँछ। के गर्ने यस्तै रहेछ हाम्रो नियति। अब त सम्झना मात्र बाँकी छ। अर्को जुनीमा फेरि उसैसँग भेट होस्।
बगरेको पसलमा ग्राहकको पर्खाइमा हामीलाई टोकरीमा सजाएर राखेको पनि केही दिन भइसक्यो। कति साथीहरूलाई मारेर खाई पनि सके। ऊ, मोल मिलेमा हाम्रो टोकरीको सबै कुखुरा किन्ने यमराज पनि आइपुग्यो। साहु र यमराजको मोल मोलाई जारी छ।
कुरा मिलेमा यहीँ सफा गरेर लग्ने कुरा चल्दै छ। सफा गर्ने भनेको हामीलाई निर्मम तवरले काटेर हाम्रो सास जानु भन्दा अघि नै तातो पानीमा डुबाएर भुत्ला सफा गर्ने र अचानोमा राखेर हामीलाई साना साना टुक्रा पारेर हामी सबैको मासु सरोबर पारेर पिलास्टिकमा हाल्ने अनि लग्ने हो।
ओहो। कति दुख्ला, कति कष्ट सहनु पर्ला अबको केही समयपछि। हामीले के नै बिगारेका थियौँ र आज हाम्रो यस्तो गति हुन लागेको। हामीलाई कसले बचाउने र यो नारकीय संहारबाट।
यो टोकरीमा कोचिएका हामी सबै १२ जना ठूला-साना कुखुरा र कुखुरीका रौँ ठाडा हुन थालिसकेका छन्। म लगायत सबै जनाको शरीर थर थर काँप्न थालेको छ। ऊ, कुरा मिले जस्तो छ, टोकरी सहित नै हामीलाई जोख्दै छन्। एकाध ठुला कुखुरालाई त काटेर तातो पानीमा हाल्न पनि थाले। अब सकियो हाम्रो इहलिला। यस्तै भाग्य लिएर आएका रहेछौँ।
लहै साथी हो, मेरो पनि पालो आयो जस्तो छ अब। लौ बिदा भएँ। यो जोवनलाई सलाम छ, यो बैंशलाई सलाम छ। लेखेको रहेछ भने अर्को जुनीमा फेरि भेटौँला। तर अर्को जुनी पनि कुखुरा कै होस्। मलाई आफैं जस्तो हुँदाको जीवन राम्रो लाग्छ। बन्नु छैन मलाई क्रुर मानिस। लौ अलबिदा साथिहरू।
लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।
Facebook Comment