लघु कथाः कविना
दिनको दुई बजेको थियो, महेस पशिना पुछ्दै भित्र पस्यो र सोफामा थचक्क बस्यो। उसले कविना सँग पानी माग्यो। कविनाले “ए हजुर आइ पुग्नु भो ?” भन्दै अम्खोरामा पानी लगेर दिई। महेशले पानी पिउँदै भन्यो “खै त खाजा ?” कविनाले उत्तर दिई “बनाएकै छैन” ।
महेशले रीसाउँदै भन्यो “के गरेर बसिस त यतिबेला सम्म ? जम्मा खाना पकाउने काम छ त्यति पनि समयमा गर्न सक्दिनस् हैन ?” कविना केही नबोली खाजा बनाउन लागि।
उता महेस फोनमा व्यस्त थियो। भन्दै थियो आजको कार्यक्रम त असाध्यै राम्रो भयो नि । धन्यबाद मलाई प्रमुख अतिथि बनाउनु भएकोमा।
कविनाले महेशको बार्तालाप सुनेर उसलाई सोधि “ए हजुर के कार्यक्रम थियो र ?”
महेश ले उत्तर दियो”आईमाई केटेकेटीलाई किन चाहियो यस्ता कुरा ? चुप लागेर आफ्नो काम गरन। किन जान्ने हुनु पर्यो ?”
कविना मुसुमुसु हाँस्दै सुनी रही। उसले हतार हतार गरेर खाजा बनाएर महेशलाई टक्र्याई र आफू कपडा फेरेर घरबाट बाहिर निस्कि।
महेश खाजा खाई रहेको थियो । कविना निस्केको केही क्षणमा नजिकैको चोकमा महिलाहरूको जुलुश र भाषण हुदै थियो। कविनाले चर्को स्वरमा “महिला हिंसा बन्द गर” “महिलाको कामको सम्मान गर” जस्ता नारा लगाउँदै चर्को भषण गरीरहेकी थिई।
Facebook Comment