एउटै चिन्ह लिएर चुनावमा जान बामपन्थी दल तयार!

शरद रिजाल
२९ साउन २०७९ ७:१०

काठमाडौं। सत्ता गठबन्धनभित्रैका बामपन्थी दलहरु एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा होमिने तयारी गरेका छन्। मंसिर ४ को निर्वाचनमा सत्तारुढ गठबन्धनका बामपन्थी दलहरु एउटै चिन्ह लिएर निर्वाचनमा भाग लिने तयारी थालेका हुन्।

सत्तारुढ गठबन्धनका एक शिर्ष नेताले दिएको जानकारी अनुसार आन्तरिक गृहकार्यमा दलहरु जुटिरहेका छन्। यही सोमबार भित्र एउटै निर्वाचन चिन्ह लिएर जाने बिषयमा सार्वजनिक घोषणा गर्ने तयारीमा दलहरु लागेका रहेका छन्।

एउटै चिन्ह लिएर निर्वाचन लड्ने तयारीमा रहेका दलहरुले आन्तरिकरुपमा तयारी तीब्र पारेका छन्। गठबन्धनभित्रैका बाम दलहरुले कांग्रेससँग सिट बाँडफाँटमा समेत सामुहिकरुपमा माग गर्ने तयारी थालेका छन्।

एउटै चिन्ह लिएर निर्वाचनमा होमिने दलहरुमा माओवादी केन्द्र, एकीकृत समाजवादी, बाबुराम भट्टराइको नवगठित नेपाल समाजवादी पार्टी, बामदेव गौतमको नेकपा (एकता अभियान) रहेका छन्।

आन्तरिक तयारी भइरहेको यही सोमबारसम्म सहमति हुने ती नेताको भनाइ छ। केही समय अगाडिदेखि तयारी थालिएको समाजवादी केन्द्रले मूर्तरुप नलिए पनि समाजवादी केन्द्र गठनको तयारी थालेका दलहरु एउटै निर्वाचन चिन्ह लिएर निर्वाचनमा भाग लिने बिषयमा सहमत भएका छन्।

‘समाजवादी केन्द्र नै बनाएर जाने गृहकार्य गरिएको हो। तर त्यो तत्काल सम्भव भएन अब कम्तीमा पनि बाम दलहरु एउटै निर्वाचन चिन्ह लिएर चुनावमा जानुपर्छ भन्नेमा सबैको सहमति भएको छ। तर कसको चुनाव चिन्ह लिएर जाने भन्नेमा अझै ठोस टुंगोमा पुग्न सकिएको छैन,’ ती शिर्ष नेताले डिसी नेपालसँग भने, ‘यही सोमबारसम्म एउटा सहमतिमा पुगिने संभावना छ। सबैले आफ्नै दलको चुनाव चिन्ह दाबी गरेकाले हालसम्म सहमति हुन सकेको छैन।’

स्रोतका अनुसार माओवादीले आफ्नै चुनाव चिन्ह हसिया हथौडा लिएर जानुपर्ने अडान कायम गरेपछि हालसम्म सहमति हुन नसकेको बाबुराम निकट एक नेता बताउँछन्।
ती नेताका अनुसार माओवादीले आफ्नै चिन्हमार्फत सबैले निर्वाचन लड्नुपर्ने अडान नछाडेपछि सहमति हुन नसकेको हो।

यद्यपि उसको प्रस्ताबमा पूर्व माओवादी पृष्ठभूमिका नेताहरुले सहमति जनाएका छन् तर एकीकृत समाजवादीका नेताहरु र वामदेव गौतमले नयाँ कुनै चिन्ह लिएर जानुपर्ने अडानमा रहेका छन्।

‘मोटामोटी सहमति भइसकेको छ तर चिन्हमा मात्र सहमति हुन सकेको छैन। अब फेरि शिर्ष नेताको बैठकले यही सोमबारसम्म टुंगोमा पुर्‍याउने तयारी छ,’ती नेताले भने।
सा्रेतले दिएको जानकारी अनुसार आउदो सोमबारसम्म एउटै निर्वाचन चिनहमा सहमति गरेर निर्वाचन गतिबिधिमा होमिने तयारीमा दलहरु लागेका छन् ।

गठबन्धन गर्ने दलहरुले एउटै निर्वाचन चिन्ह लिएर लड्न सक्ने कानुनी प्रावधानसमेत रहेको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरू एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *