साउनको अन्तिम सोमबार देवघाटमा भक्तजनको घुइँचो (फाेटाेफिचर)

चितवन। साउनको अन्तिम सोमबार आज पवित्र धार्मिक स्थल देवघाटमा भक्तजनको घुइँचो लागेको छ। यस पटक साउनमा पाँचवटा सोमबार परेका थिए। त्रिशुली र कालीगण्डकीको संगमस्थल देवघाटमा स्नान गर्ने र शिव मन्दिरमा पूजा गर्ने भक्तजनको भिड लागेको हो।
भगवान शिवको व्रत बसेका भक्तजन बिहान ४ बजेदेखि नै देवघाट जाने/आउने गर्न थालेका हुन्। स्नान गर्न जाने क्रम जारी छ। साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ।
साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ। देवघाटमा झण्डै एक लाख भक्तजन पुगेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले जानकारी दिए। साउनको चौथो सोमबार करिब ७० हजार भक्तजन देवघाट पुगेको उनले बताए।
‘यसपटक साउनमा पाँचवटा सोमबार परेको र अन्तिम सोमबार विशेष हुने भएकाले भक्तजनको उल्लेख्य सहभागीता देखिन्छ’, उनले भने, ‘अहिलेसम्म नआएका भक्तजन पनि अन्तिम सोमबार भनेर आउनु भएको छ।’ ट्राफिक व्यवस्थापनका लागि रामनगरबाट जाने बाटोलाई प्रवेश मार्ग बनाइएको छ भने आँपटारीमा निस्कने बाटोलाई बाहिरीने बाटो बनाइएको छ।
केही भक्तजनहरू खाली खुट्टै स्नान गर्न पुगेका छन्। सुरक्षा व्यवस्थाका लागि तनहुँ र चितवनतर्फ गरी करिब २०० सुरक्षाकर्मी खटाइएको अध्यक्ष अधिकारीले बताए। यसपटक बाढीले वेणी संगम डुबाएको छ । भक्तजनलाई नदी तार्न प्रयोग गरिँदै आएको डुंगाको प्रयोगमा पनि यसपटक रोक लगाइएको छ। चितवनतर्फबाट गएका भक्तजन झोलुंगे पुलबाट मात्रै तनहुँतर्फ पुगेका छन्।
देवघाटमा स्नान गर्न देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन्। साउनको अन्तिम सोमबार नयाँ व्रतालुले पनि साउने व्रत सुरु गर्छन् । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यो विश्वासमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
Facebook Comment