‘मक्किएको घर’ मा बाबुरामको पुनरागमन

शरद रिजाल
३१ साउन २०७९ ७:२९

काठमाडौं। नेपाली एउटा चर्चित आहान छ, ‘जान्न भनेको ठाँउमा जानुपर्छ, खान्न भनेको चिज खानुपर्छ’ यसको आशय हो-समयक्रममा जस्तो सुकै अबस्था आउन सक्छ। त्यही अनुरुप अगाडि बढ्नुपर्छ। कसैलाई निषेध र अवमूल्यन गर्नु हुँदैन। यही भनाइ पछिल्लो समय चरितार्थ हुन्छ पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको हकमा।

सात बर्ष पहिले माओवादी पार्टीको औचित्यता सकिएको भन्दै बाहिरिएका बाबुराम भट्टराई अन्ततः माओवादी केन्द्रको चिन्ह र साझा घोषणा पत्रबाटै आगामी निर्वाचन लड्ने भएका छन्।

माओवादी छाडेसँगै उक्त पार्टीलाई पुरानो र मक्किसकेको घर बताउँदै आएका भट्टराईले नयाँ घर बनाउने तर माओवादीमा किर्माथ नफर्कने दाबी गर्दै आएका थिए। उनै बाबुरामको नेपाल समाजवादी पार्टीले माओवादीसँग एउटै निर्वाचन चिन्ह र घोषणापत्रको माध्यमबाट निर्वाचन लड्ने मात्र होइन चुनावपछि पार्टी एकता गर्ने आइतबार सहमति गरेका छन्। दुबै दलले सहमतिलाई औपचारिक स्वरुप दिन भने बाँकी छ।

दुबै दलले आफ्नो पार्टीको बैठक पश्चात औपचारिकता दिने बताएका छन्। सोमबार गर्ने भनिएको औपचारिकता मंगलबार निर्वाचन आयोगमा दल दर्ता गर्न जाने गरि तयारी थालेको दुबै दलका नेताहरुले बताएका छन्। निर्वाचन आयोगले साझा चुनाव चिन्ह लिएर चुनाव लड्ने दलहरुका लागि दल दर्ता गर्ने समयसीमा मंगलबारसम्म तोकेको छ।

२०७२ असोज १० गते संविधान निर्माण भएको एक साता नबित्दै उनले संविधान अधुरो भएको भन्दै माओवादी पार्टी र कम्युनिष्ट बिचारधारासमेत परित्याग गरेका हुन्। त्यसपछि नयाँ शक्ति, उपेन्द्र यादवको समाजवादी पार्टी, जसपा हुँदै नेपाल समाजवादी पार्टीबाट माओवादीसँग एकताको सन्निकट आइपुगेका छन्।

उर्जाशील समय कम्युनिष्ट आन्दोलनमा बिताएका उनी जीवनको उत्तराद्र्धमा कम्युनिष्ट पार्टीबाट बाहिरिएका थिए। अन्ततः असान्दर्भिक र उपादेयता सकिएको आरोप लगाएको कम्युनिष्ट पार्टीको निर्वाचन चिन्हबाट चुनाव लड्न उनी सहमत भएका छन्।

उसो त माओवादीको चुनाव चिन्ह झन् कम्युनिष्ट आन्दोलनमा मजदुर वर्गको प्रतिनिधित्व गर्ने ‘गोलाकार भित्रको हसिया हथौडा’ रहेको छ। जसलाई अन्तर्राष्ट्रिय जगतमा कम्युनिष्टहरुले प्रयोग गर्ने गर्दछन्। विश्वभरका कम्युनिष्टले प्रयोग गर्ने साझा झण्डा नै माओवादीको चुनाव चिन्ह हो।

यसर्थ माओवादीको चुनाव चिन्ह फगत एक निर्वाचन चिन्ह मात्र नभएर कम्युनिष्टहरुकै शब्दमा विश्वभरका सर्वहारा श्रमजीवी मजदुरहरुले प्रयोग गर्ने संसार भरका कम्युनिष्टहरुको झण्डामा अंकित ‘हसिया हथौडा ’ रहेको छ। जो उनीहरुको आफ्नो आस्था र आदर्शको रुपमा चित्रित गरिने प्रतिकात्मक चिन्ह पनि हो। भलै माओवादीमा चिन्ह र ब्यबहारको तादाम्यता कति छ त्यो अर्को बहसको बिषय हुन सक्छ।

अन्ततः मूल घरमै फर्किन बाध्य

अनेकौं चक्कर काटेका भट्टराई ‘घुम्दै फिर्दै रुम्जाटार’ भने झैं अन्तिममा प्रचण्डकै दैलोमा आएर त्यही झण्डामा अंकित ‘हसिया हथौडा ’ प्रयोग गर्न बाध्य भएका छन्। गाँउ घरमा उत्ताउलो छोरोले कहिलेकाही बुबा आमासँग घर छाड्ने घुर्की लगाउदा बुबा आमाले क्षणिक घुर्कीलाई बेवास्ता गर्दै ‘घर नआएर कहाँ जाला र?’ भने जस्तै घर छाडेको छोरो अनेक हण्डर ठक्कर खाएर अन्तिममा घर फर्किए जस्तै भएको छ बाबुरामको राजनैतिक जीवनको पछिल्लो अबस्था।

प्रचण्डले केही समय पहिले एक पार्टी प्रवेश कार्यक्रममा माओवादीको मूल धार आफू नै भएको बताएका थिए। उनले पूर्व माओवादीका केही नेताहरुलाई पार्टी प्रवेश गराउँदै केही समय अगाडि भनेका थिए, ‘घर छाडेर घुम्न हिँडेका सन्तानको पर्खाइमा बुबा आमाभए जस्तै आफू पूर्व माओवादीको पर्खाइमा रहेको र अन्तिममा छोराछोरी अनेकौं हण्डर र ठक्कर खाएपछि आफ्नै घरमै फर्कन बाध्य हुन्छ।’

लामो समय माओवादी आन्दोलनमा लागेर अधिकांश समय ब्यतित गरेका भट्टराई २०७२ मा संबिधान जारी भएको एक सातापछि बाहिरिएका थिए। जीवनको चालीसौं बसन्तको समय र उर्जा खर्चिएको कम्युनिष्ट आनदोलनलाई तिलाञ्जली दिएर पुँजीवाद र समाजवाद भन्दा उत्कृष्ट समुन्नत समाजवादको परिकल्पना गर्दै लोकतान्त्रिक पार्टी नयाँ शक्ति गठन गरेका भट्टराई अनेकौ आरोह अवरोह पार गर्दै सात वर्षपछि पुरानै घरको दैलामा आउन बाध्य भएका छन्।

आइतबार प्रचण्डसँग बाबुरामले चुनाव चिन्ह र घोषणा पत्र एउटै बनाउने मात्रै होइन पार्टी एकता गर्नेसम्मको सहमति भएको बताइएको छ। उनले लामो समयदेखि आफ्ना सहयात्रीहरुलाई माओवादीमा फर्कन मन भए फर्किन आग्रह गर्दै आफू कुनै हालतमा नफर्कने बताउँदै आएको उनीसँगै निकट रहेका स्वयम् उनकै सहकर्मीहरु बताउँछन्।

केही समय अगाडि जसपाबाट बिभाजित भएसँगै माओवादी पृष्ठभूमीका नेताहरुले माओवादीमै फर्कन आग्रह गर्दा उनीहरुलाई फर्कन सुझाउदै आफू कुनै हालतमा नफर्कने बताएका बाबुराम अन्तत चुनाव चिनह र एउटै घोषणा पत्र लिएर निर्वाचनमा जाने भएका छन्।

संकट परेपछि माओवादीको चुनाव चिन्ह

नेपालका राजनीतिक पार्टीको अन्तिम ध्येय भनेकै निर्वाचन जित्ने पछिल्ला केही घटनाक्रमले दर्शाएको छ। तत्पश्चात शक्तिमा रहन सरकारमा सहभागीता नै नेपालको राजनीतिका पछिल्ला बिकृतिजन्य चरित्र हुन्। यसैको पछिल्लो दृष्टान्त गठबन्धनलाई लिन सकिन्छ।

संविधानको रक्षा गर्ने भन्दै गठन भएको सत्ता गठबन्धनको गाँठो चुनावी सिट बाँडफाँडमा अल्झिएको छ। चुनावी सिट बाँडफाँटको लागि गठन गरिएको कार्यदलले अझै गति लिन सकेको छैन। सबैका आआफ्नै दाबीकाबीच हालसम्म सिट साझेदारीको कुनै टुंगो लागेको छैन।

यसको अन्तिम कारक सिट भागबण्डा नै हो। गठबन्धन भित्रै एकले अर्कालाई तर्साएर या धम्क्याएर आफ्नो अस्तित्व रक्षा गर्नेदेखि गत निर्वाचनको भन्दा बढी सिट आर्जन गरि शक्ति बृद्धि गर्ने रस्साकस्सीमा सबैको ध्यान केन्द्रित छ।

गठबन्धनकै कांग्रेसलाई तर्साएर बढी सिट संख्या दाबी गर्ने मनसायले केही समय अगाडि गठबन्धनकै बाम घटकहरुले समाजवादी केन्द्र गठन गर्ने चर्चा समेत ब्याप्त थियो। उक्त समाजवादी केन्द्र गठनमा कम्युनिष्ट ब्राण्डले रोकेको दलहरुले बताएका थिए। बाबुरामले कम्युनिष्ट बन्न अस्वीकार गर्दा समाजवादी केन्द्र गठन गर्न असमर्थ भएको बताइएको छ। यद्यपि चुनावपछि गठन गर्ने नेताहरुले बताइरहेका छन्।

बाबुराम भट्टराई ,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र अर्का सम्मानित नेता झलनाथ खनाल,नेकपा (एकता अभियान)का वामदेव गौतम लगायतले केही समय अगाडि गठन गर्ने भनिएको समाजवादी केन्द्रमा बाबुराम बाहेक अन्यले कम्युनिष्ट ब्राण्ड छाड्न नमानेपछि गठन हुन नसकेको बताएका थिए।

हिजो क्रान्ति र बिद्रोहको चरणमा आवश्यक रहेको कम्युनिष्ट पार्टीले आगामी विकास र समृद्धिको कार्यभार वहन गर्न नसक्ने बताउँदै आएका बाबुराम उनको चुनाव जित्ने मनोकांक्षा भने कम्युनिष्ट पार्टीकै चुनाव चिन्हले पूरा गर्ने भएको छ।

बाबुरामको वैकल्पिक राजनीतिको विकल्प

बाबुरामलाई नयाँ शक्ति कालदेखि नै साथ दिँदै आएका डम्मर खतिवडाले नेपाल समाजवादी पार्टी गठन गरेकै अर्को दिन गत साउन २२ गते सामाजिक संजालमार्फत पार्टीको कुनै जिम्मेवारीमा नबस्ने घोषणा गरे। उनले नवगठित पार्टीले वैकल्पिक राजनीतिक यात्रा तय गर्नेमा शंका उत्पन्न भएको भन्दै आगामी मंसिर ४ को निर्वाचनसम्म साधारण सदस्य बाहेक कुनै जिम्मेवारी नलिने बताएका थिए।

पार्टीले निकट समयमै अन्य कुनै दलसँग मर्ज या चुनावी गठबन्धन गर्ने उनको आशय थियो। तथापि पार्टीले त्यसो नगरी वैकल्पिक राजनीति नै गर्ने भए आफूलाई सम्झिन बाबुरामलाई आग्रह गरेको उनले सार्वजनिक समेत गरेका थिए। मंसिरसम्म पर्ख र हेरको रणनीतिमा रहेका खतिवडाले भने जस्तै बाबुरामले वैकल्पिक राजनैतिक यात्रा भन्दा चुनावमा सिट सुनिश्चित गर्ने नयाँ यात्राको थालनी गरेका छन्।

माओवादी परित्याग गरे लगत्तै कम्युनिष्ट पार्टीले भन्ने गरेको समाजवादलाई राम राज्यको संज्ञा दिएका भट्टराई आफ्नो वैकल्पिक राजनीतिको यात्रालाई कुनै टुंगोमा पुर्याउन सकेनन्। २०७३ जेठ ३० गते गठन गरिएको उक्त पार्टी एक वर्ष नबित्दै स्थानीय निर्वाचनमा जानुपरेको थियो। स्थानीय निर्वाचनमा रसुवा र गोरखामा केही स्थानीय तह जितेको पार्टीले देशभर उल्लेख्य उपस्थिति देखाउन सकेन।

त्यसको केही समय पछाडि पार्टीले सांगठनिक आकार ग्रहण नगर्दै उनलाई साथ दिएका माओवादीका नेताहरु क्रमश पुरानै घर फर्कने क्रम सुरु हुन थाल्यो। माओवादी युद्धकालदेखि नै साथ दिएका सबै नेताहरु उनीसँगै नयाँ शक्तिमा गएका थिएनन्। यद्यपि उनीसँगै गएका नेता समेत माओवादीमा फर्कने क्म बढ्न थाल्यो।

यही क्रममा बिस्तारै शक्तिहीन बन्न थालका भट्टराईले मधेशवादी दलसँग एकता गर्न पुगे । त्यो एकतासमेत दीर्घकालसम्म टिक्न सकेन। गत निर्वाचनमा कांग्रेसको सहाराले गोरखा क्षेत्र न. २ मा निर्वाचित भएका उनी हालको निर्वाचनमा माओवादीकै चुनाव चिन्हबाट चुनावलड्न राजी भएका हुन्।

माओवादी कालको राप ताप हराउँदै गएका भट्टराई अन्तत आफूले परित्याग गर्दै उपादेयता समाप्त भएको भनेको कम्युनिष्ट पार्टीकै चुनाव चिन्हको सहारा आशन्न निर्वाचनमा अनिवार्य बन्न पुग्यो।

कुनै समय माओवादी भित्र बौद्धिक र अध्ययनशील नेताको छवी बनाएका उनलाई समयक्रममा अस्थीर र क्षेत्रीय दलको नेता भएको आरोप समेत नलागेको होइन्। प्रधानमन्त्री र अर्थ मन्त्री भइसकेका भट्टराई समकालीन नेतामध्ये आशा गरिएका नेताभित्र पर्दथे।

उनको प्रधानमन्त्रीत्व र अर्थमन्त्री कालमा भएका कतिपय सकारात्मक कार्यको हालसम्म प्रशंसा समेत हुने गर्दछ। जीवनको चार दशक भन्दा बढी कम्युनिष्ट पार्टीमा बिताएका भट्टराईको कम्युनिष्ट पार्टीमा पुनरागमन उनको राजनीतिक जीवनको अर्को नयाँ अध्याय हो। जीवनको अर्को राजनीतिक यात्रामा प्रवेश गरेका बाबुरामको नयाँ राजनीतिक यात्राले उनले अगाडि सारेको वैकल्पिक राजनीतिकोे औचित्यता भने समाप्त भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *