पूर्वी रुकुममा माओवादीको एकल बर्चस्व : गठबन्धनको पर्नु पर्दैन भर, आफ्नै पूर्वसहकर्मीको डर

शरद रिजाल
२ भदौ २०७९ १०:२९

काठमाडौं। जनयुद्धको सुरुवाती अबस्थाबाटै माओवादी गढका रुपमा चिनिएको रुकुम जिल्ला टुक्रिएसँगै दुई वटा बनेको छ। पूर्वी र पश्चिम गरी दुई जिल्लामा बिभाजित रुकुममा हालसम्मै माओवादीकै बलियो उपस्थिति देखिन्छ।

एउटै जिल्ला हुँदा २०६४ देखि निरन्तर विजयी हुँदै आएको माओवादी यसपटक गठबन्धनबिना नै सहजै जित हासिल गर्ने बलियो आधार गत स्थानीय निर्वाचनको मतपरिणामले देखाएको छ।

रुकुमलाई दुई जिल्लामा बिभाजन गरेसँगै पूर्वीरुकुम लुम्बिनी प्रदेश अन्र्तगत पर्दछ। पश्चिम रुुकुम कर्णाली प्रदेशमा पर्दछ। २०६४ देखि २०७० को निर्वाचनसम्म एउटै जिल्ला भएको रुकुममा दुई निर्वाचन क्षेत्र रहेको थियो।

त्यति बेला माओवादीबाट क्षेत्र नं १ मा जुनकुमारी रोका र २ बाट हालका अर्थ मन्त्री जनार्दन शर्मा निर्वाचित भएका थिए। २०६४ मा क्षेत्र नं १ बाट निर्वाचित रोका हाल पूर्वी रुकुमको प्रदेश तर्फ (ख)बाट निर्वाचित तेजबहादुर वलीकी पत्नी हुन्।

यस्तै २०७० को निर्वाचनमा १ बाट माओवादी नेता तथा पूर्व मन्त्री गणेशमान पुन र २ बाट हालका अर्थ मन्त्री शर्मा नै निर्वाचित भएका थिए। २०७३ मा जिल्ला बिभाजित गरेर दुई वटा पूर्वी र पश्चिम बनाइएको रुकुमको राजनैतिक र प्रशासनिक बिभाजन समेत अलग गरिएको छ।

पश्चिम रुकुम कर्णाली प्रदेशमा र पूर्वी रुकुम लुम्बिनी प्रदेशमा पर्दछन्। पश्चिम रुकुमबाट अर्थ मन्त्री शर्माले संघीय संसदमा प्रतिनिधित्व गर्छन् भने पूर्वी रुकुमबाट सांसद कमला रोकाले संघमा प्रतिनिधित्व गर्दछिन्।

नयाँ बनेको जिल्ला र प्रशासनिक संरचनाले समेत पूर्णता नपाइसकेको पूर्वी रुकुम संरचनाको दृष्टीले बिल्कुलै कान्छो जिल्ला हो। साबिकको रुकुमका सबै संरचना र प्रशासनिक केन्द्र सदरमुकाम खलंगा पश्चिम रुकुम मै छ।

राजनीतिक बिभाजन भने गत २०७४ को स्थानीय निर्वाचनदेखि नै भएको हो। यद्यपि पूर्वी रुकुमको प्रशासनिक संरचनाले अझै पूर्णता पाइसकेको छैन।

एक मात्र संघीय निर्वाचन क्षेत्र र दुई प्रदेश सभाको निर्वाचन क्षेत्र भएको पूर्वी रुकुममा संघ तर्फ २०७४ को निर्वाचनमा गणेशमान पुन पत्नी कमला रोका र प्रदेशमा हाल लुम्बिनी प्रदेशका तेजबहादुर वली (क) बाट र सभामुख पुर्ण घर्ती (ख) बाट निर्वाचित भएका हुन्।

आशन्न मंसीर ४ को निर्वाचन नजिकिएसँगै पूर्वी रुकुमको चुनावी मत आँकलनमा माओवादी बलियो देखिएको छ। पूर्वी रुकुमका तीन वटै स्थानीय तह जितेको माओवादी गठबन्धनको सहाराबिना स्पष्ट जित हासिल गर्ने पर्याप्त मत गत स्थानीय निर्वाचनले देखाएको हो।

पूर्वी रुकुममा माओवादीको तर्फबाट संभावित उम्मेदवारको रुपमा रहेका माओवादी दम्पत्ती गणेशमान पुन र कमला रोकामध्ये एक हुने चर्चा छ। माओवादी निकट सा्रेतका अनुसार यसपटक पूर्वमन्त्री समेत रहेका गणेशमान पुनले टिकट पाउने प्रबल संभावना छ।

बिगतदेखि नै सोही जिल्लाबाट निर्वाचित माओवादी दम्पत्ती पुन र रोका यसपाली माओवादीका बलियो संभावित उम्मेदवार हुन्। यिनै दम्पत्तीमध्ये पुनले आशन्न निर्वाचनमा संघतर्फ टिकट पाउने माओवादी रुकुमका उनी निकट नेताहरु बताउँछन्। यसपालीको निर्वाचनमासमेत यी दुबैले पुनः दाबी गरेका छन्। यी मध्ये एक पूर्वी रुकुमको उम्मेदवार बन्ने निश्चित जस्तै छ।

गत निर्वाचनमा विजयी भएकी कमला रोकाले १० हजार ४सय४३ मत ल्याएर उनले कांग्रेसका हरिशंकर घर्तीलाई ६ हजार २८ मतान्तरले पराजित गरेकी थिइन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका घर्तीले ४ हजार ६ सय ६ मत प्राप्त गरेका थिए।

त्यस्तै नयाँ शक्तिका जितमान पुन जो अहिले उम्मेदवारी घोषणा गरेका छन्, उनले १ हजार ४८९ मत ल्याएका थिए। यसपाली उनै पुनले फेरि माओवादीको विरुद्धमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

त्यस्तै प्रदेशतर्फ क्षेत्र (क) मा माओवादीका तेजबहादुर वलीले ५ हजार ४२७ मतले विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका दुतकुमार पुनले २ हजार १४४मत ल्याएका थिए।

प्रदेश निर्वाचन क्षेत्र(ख)मा माओवादीका पूर्णबहादुर घर्तीले ५ हजार ८१६ मतले विजयी भएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १११ मत ल्याएका थिए।

गएको स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार वडा अध्यक्षले प्राप्त गरेको मत परिणाम अनुसार माओवादीको जिल्लाभरको कुल मत ११ हजार ६२१ रहेको छ। कांग्रेसको कुल मत ६ हजार ५३३ हुँदा एमालेको जम्मा मत ४ हजार ५२१ रहेको छ।

यसपालीकोे निर्वाचनमा पूर्वी रुकुममा माओवादी केन्द्रले सबै स्थानीय तहमा जित हासिल गरेको छ। माओवादी केन्द्रलाई पूर्वी रुकुममा गठबन्धनको भर नपरेरै आगामी निर्वाचनमा जित हासिल गर्ने स्थिति स्थानीय तहको मतपरिणामले देखाएको छ।

यस्तो छ पालिकाको दलगत स्थिति

तीन वटा गाँउपालिका रहेका रुकुममा तीनै पालिका माओवादी केन्द्रले जितेको छ। जिल्लाको पृथुगंगा गाउँपालिकामा माओवादीले उल्लेख्य मतले जित हासिल गरेको छ।

कम जनसंख्या रहेको यस गाँउपालिकामा माओवादीबाट निर्वाचित अध्यक्ष पुनीराज घर्तीले १ हजार ८ सय मतान्तरले कांग्रेसका तेजेन्द्र खामलाई पराजित गरेका छन्।

घर्तीले ३ हजार ९ सय १३ मत ल्याएका थिए। कांग्रेसका उम्मेदवार खामको २ हजार १ सय १३ मत थियो भने अर्का एमालेका उम्मेदवार बागलाल बुढाले १ हजार ८ सय ५२ मत ल्याएका थिए। यहाँ स्थानीय निर्वाचनको मतपरिणामले माओवादीको मतभार बलियो देखाएको छ।

यस्तै उपाध्यक्षमा झन् दोब्बर मतले माओवादीे विजयी भएको छ। माओवादीकी भुपेन्द्रा बुढाले ४ हजार५९ मत ल्याउँदा कांग्रेसकी कमला कुमारी मल्लले २ हजार १० मत ल्याएकी छन्। एमालेकी उम्मेदवार धर्म घर्ती बुढाको जम्मा १ हजार ८ सय १२ मत ल्याएकी छन्।

यस गाँउपालिकाको ९ नम्बर वडाबाहेक अन्यत्र माओवादीले फराकिलो मतान्तरले जितेको छ। ९ नं वडामा भने माओवादीले पाँच मतान्तरले मात्रै विजयी भएको छ। कांग्रेसका मदन कुमार रोकाले १९१ मत ल्याउदा माओवादीका हर्कप्रसाद रोकाले १९६ मतसहित जम्मा पाँच मतान्तरले विजयी भएका छन्।

१४ वटा वडा रहेको यस गाँउपालिकामा माओवादीले ४ नं वडाबाहेक सबै वडामा आफ्नो एकल जित कायम गरेको छ। उक्त वडामा कांग्रेसका उम्मेदवार ६ मतान्तरले विजयी भएका छन्। माओवादीका उम्मेदवार बीरबल पुनले १९३ मत ल्याएर पराजित भएका छन् भने विजयी भएका कांग्रेसका सुरबहादुर बिकले २०३ मत ल्याएका छन्।

अर्को भूमे गाउँपालिकामा झन् माओवादीबाहेकका अन्य प्रमुख दलले गठबन्धन गर्दा समेत फराकिलो मतान्तरले माओवादी विजयी भएको छ। अन्य गठबन्धन गरेका दलका उम्मेदवारको मतभार न्यून देखिएको छ।

माओवादीका होम प्रकाश श्रेष्ठले ३ हजार ९ सय ५७ मत ल्याएर प्रतिस्पर्धी भन्दा तीन गुणा बढी मत ल्याएर विजयी बनेका छन्। बाँकी गठबन्धन गरेका दलका तर्फबाट उम्मेदवार बनेका मंगोल नेशनल पार्टीका रतनबहादुर बुढाले ५०३ मत ल्याएका छन्।

यस्तै उपाध्यक्षमा माओवादीकी सविना बुढाले ३ हजार ९५१ मत ल्याउँदा गठबन्धनकी उम्मेदवार एमालेका कमानसिंह डाँगी क्षेत्रीले १ हजार ३५५ मत ल्याएका छन्। ९ वडा रहेको यस गाउँपालिकामा माओवादीले सम्पूर्ण वडामा जित हात पारेको छ।

यस्तै सिस्ने गाउँपालिका अध्यक्षमा भने माओवादीले झिनो मतले विजयी भएको छ। यस गाउँपालिकामाकांग्रेस-एमालेले गठबन्धन कायम गरेका थिए। माओवादीका कृष्ण रेग्मीले कांग्रेस उम्मेदवार दत्तबहादुर बस्नेतलाई ७९ मतान्तरले पराजित गरेका छन्। माओवादीका रेग्मीले ३ हजार ७ सय ७९ मतसहित विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका बस्नेतले ३ हजार ७ सय मत ल्याएका छन्।

यस गाउँपालिकाको उपाध्यक्षमा भने एमालेले जित हात पारेको छ। एमालेका उम्मेदवार गोपाल रेउले २८७ मतान्तरले विजयी भएका छन्। माओवादीकी आस्था बिक ३ हजार ४ सय ७४ मत ल्याएर पराजित भएकी छन्।

एमालेका रेउले ३ हजार ७ सय ६१ मतसहित विजयी भएका छन्। यस गाउँपालिकाको ८ वडामध्ये ४ वटा माओवादी , ३ वटा एमाले र १ वडा कांग्रेसले जितेको छ। स्थानीय निकायको निर्वाचनको मतपरिणाम अनुसार माओवादीको पूर्वी रुकुममा बलियो उपस्थिति देखिन्छ।

कांग्रेस-एमालेसहित जितमान पुनको माओवादीबिरुद्ध छुट्टै गठबन्धन हुने संभावना

यसपालिको निर्वाचनमा गत २०७४मा नयाँ शक्तिबाट प्रतिस्पर्धी रहेका स्थापित पूर्वमाओवादी पृष्ठभूमीकै जिल्लाका नेता जितमान पुनले यसपटक पनि चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। गएको स्थानीय निर्वाचनमा जस्तै कांग्रेस एमाल र पुनको छुट्टै गठबन्धन गने सहमतिसहित स्वतन्त्र उम्मेदवारी घोषणा गरेको पुन बताउँछन्।

गएको स्थानीय निर्वाचनमा रोल्पा रुकुम जहाँ माओवादी बलियो छ त्यहाँ एमाले, कांग्रेस र विप्लव नेकपाले समेत माओवादीबिरुद्ध गठबन्धन गरेजस्तै केन्द्रको निर्णयबिरुद्ध आगामी निर्वाचनमा पनि गर्ने पुनले बताए।

अहिलेको स्थानीय तहमा अन्य दलले प्राप्त गरेको मतको आधारमा माओवादीलाई हराउन सक्ने पर्याप्त मत उनीहरुको देखिँदैन। तथापि असन्तुष्ट माओवादीबाटै केही निर्णायक मत बढयो भने कडा प्रतिस्पर्धा र विजयी माओवादी उम्मेदवारको मतान्तर फराकिलो नभइ झिनो भने अवश्य हुने देखिन्छ।

गत निर्वाचनमा तत्कालीन नयाँ शक्तिबाट उम्मेदवारी दिएका पुनले यसपाली स्वतन्त्रबाट उम्मेदवारी दिने बताएका छन्। उक्त निर्वाचनमा तेस्रो स्थानमा रहेका पुन माओवादी जनयुद्धकालदेखि नै रुकुमका एक स्थापित नेताको परिचय बनाएका ब्यक्ति हुन्। उनी जनार्दन शर्माको कोपभाजनमा परेर पछाडि परेकोे रुकुमकै कतिपय माओवादी नेताहरु बताउँछन्।

माओवादीको जित सुनिश्चित हुने देखिएको पूर्वी रुकुममा प्रतिस्पर्धी दल भन्दा माओवादीलाई चुनौती दिन उनकै पूर्वसहकर्मी जितमान पुनले उम्मेदवारी दिने घोषणा गरेका छन्।

उनै पुन दम्पत्ती मध्येका गणेशमान पुनलाई काउन्टर दिँदै माओवादीका पूर्व लडाकु कमाण्डर पुनले यसपटक फेरि पूर्वी रुकुमबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उनले आफूलाई कांग्रेस र एमालेले साथ दिने बताएका छन्। एमाले कांग्रेससँग गठबन्धन गरि माओवादीविरुद्ध उम्मेदवारी दिने तयारीमा रहेको उनले बताए। गत निर्वाचनमा तयारी नपुगेको र उचित तयारी बिना अन्तिम समयमा मनोनयन दर्ता गर्दा समेत पूर्वी रुकुमका जनताले सन्तोषजनक मत दिएर तस्रो स्थानमा आएको बताउने पुनले यसपालिको निर्वाचनमा उम्मेदवारी दिने दाबी गरेका हुन्।

‘म यसपटक पनि पूर्वी रुकुममा संघीय तर्फको उम्मेदवार हुँ मेरा उम्मेदवारी यसपटक रहन्छ कांग्रेस एमालेसँग गठबन्धन गरेरै हामी निर्वाचनमा जान्छौं,’ उनले डिसी नेपालसँग भने, ‘मैले एक राजीतिक कार्यकर्ताको हैसियतले उम्मेदवारी दिनुपर्छ भनेरै तयारी थालेको छु सबैको साथ सहयोग पाएको छु पूर्वी रुकुमका इमान्दार माओवादी कार्यकर्ता र अन्य दलका शुभचिन्तकको समेत मलाई सदासयता रहेकोछ त्यसैले यसपालीको निर्वाचनमा मेरो उम्मेदवारी रहन्छ।’

उनले  रुकुममा माओवादीको सुरुवातीकालदेखि नै आफू लागेको बताउँदै यसपालिको चुनावमा स्वतन्त्र उम्मेदवारी दिने तयारी थालेको बताए। उनले अगाडि भने, ‘म लामो समयदेखि रुकुममा रहेर जनयुद्ध र शान्ति प्रक्रियापछि समेत लामो समयसम्म त्यहीँ रहेर काम गरे मलाई सबै पार्टीका स्थानीय नेता कार्यकर्ताको साथ र सहयोग छ त्यसैले यसपालीको निर्वाचनमा मेरो उम्मेदवारी रहन्छ। जनता र स्थानीयको आग्रहलाई मध्यनजर गर्दै यस पटक फेरि स्वतन्त्रबाट उम्मेदवारी दिने निर्णयमा पुगेको छु।’

उनको उम्मेदवारीले पूर्वी रुकुममा चुनावी मतपरिणामलाई केही मात्रामा प्रभावित पार्ने आँकलन गरिएको छ। पूर्वी रुकुममा मगर जातीकै बाहुल्यता रहेको छ। उक्त स्थानमा जातीय र भेगीय मतले उल्लेख्य प्रभाव पार्ने गत निर्वाचनको मतपरिणामबाट समेत देखिन्छ।

जितमान पुनको ब्यक्तिगत मत र माओवादीकै असन्तुष्ट समूह जसले पटक पटक गणेशमान पुन र कमला रोका दम्पत्तीलाई पालैपालो जिताउनुपर्दाको असन्तुष्टिले रुष्ट भएको खेमाले पुनलाई मत हाल्न सक्ने रुकुमका माओवादी निकट नेताहरु बताउँछन्।

जितमान पुनले कांग्रेस एमालेसहितको गठबन्धनबाट आफू उम्मेदवारी हुने बताएका छन्। उनले यसपालीको निर्वाचनमा कांग्रेस एमालेले प्रदेशमा र आफूले संघमा गठबन्धन गरि उम्मेदवारी दिन लागेको बताए। पुनसहितको कांग्रेस, एमाले गठबन्धन भएमा माओवादीसँग कडा प्रतिस्पर्धा हुने देखिन्छ।

स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतको आधारमा जिल्लाब्यापी माओवादीको कुल मत ११ हजार ६२१ हो। यस्तै कांग्रेसको ६ हजार ५३३ र एमालेको ४ हजार ५२१ रहेको छ। यसै अंकगणितलाई आधार मान्ने हो भने पूर्वी रुकुममा कांग्रेस एमाले मिल्दा समेत माओवादीको मत ५६७ ले बढी हुन आउँछ।

त्यसमा पुनसमेत सामेल भए भने उनले २०७४ को निर्वाचनमा एक हजार भन्दा बढी मत ल्याएर तेस्रो भएका हुन्। उनको ब्यक्तिगत मत समेत थपिदा पूर्वी रुकुममा कडा प्रतिस्पर्धा हुने देखिन्छ। यद्यपि गत स्थानीय निर्वाचनमा जस्तै गठबन्धनका दललाई केन्द्रको निर्णय विपरीत छुट्टै गठबन्धन बनाउन छुट दिइन्छ या कडाइ गर्छ त्यो अझै केन्द्रीय नीति स्पष्ट भइसकेको छैन।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *