एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै
कञ्चनपुर। एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनको पाँच हेक्टर जमिनमा रहेका रुख छपान र कटान गरिने भएको छ। एशियाली विकास बैंकको रु २६ करोड ७७ लाख सहुलियत ऋण सहयोगमा उक्त केन्द्र निर्माण हुन लागेको हो।
सवडिभिजन वन कार्यालयका प्रमुख दुर्गेश धामीका अनुसार उक्त केन्द्रका लागि सिन्दुरे(रुइना) प्रजातिका आठसय २५ वटा रुख कटानका लागि स्वीकृति प्राप्त भएको छ। “केही दिनभित्रै रुख छपानको कार्य अगाडि बढाउने तयारी गरेका छौँ”, उनले भने, “सरोकारवाला पक्षसँग छलफल गरी छपान गरिने र कटान आदेश जारी भएपछि कटानको कार्य सुरु हुन्छ ।”
वर्षात्को मौसम भएकाले कार्य अगाडि बढाउनमा विलम्ब भइरहेको उनको भनाइ थियो। वन तथा वातावरण मन्त्रालयले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि श्रीकृष्ण सामुदायिक वन क्षेत्रको जग्गाको भोगाधिकार(प्रयोग) का लागि स्वीकृति प्रदान गरिसकेको छ।
सामुदायिक वनको पाँच हेक्टर जमिनमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुने क्षेत्रीय सहरी विकास आयोजनाका इञ्जिनीयर अमित यादवले बताए। उनका अनुसार उक्त केन्द्र निर्माणका लागि गत वैशाख २३ गते उक्त आयोजना र रमण केएसजेभी कैलालीबीच ठेक्का सम्झौता भएको थियो। “बीस महिनाभित्र फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौता भएको छ”, इञ्जिनीयर यादवले भने, “निर्धारित समयभित्रै केन्द्र निर्माण हुन्छ। केन्द्रसम्म पुग्ने अढाइ किलोमिटर सडकसमेत निर्माण हुन्छ।”
नगर प्रमुख रणबहादुर महराले विगत लामो समयदेखि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण कार्यले निकै चर्चा पाए पनि निर्माण हुन नसकेको बताए। “ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ”, उनले भने, “वतावरणमा असर नपर्ने गरी केन्द्र निर्माण हुन्छ।”
Facebook Comment