व्यंग्य : शक्तिको भक्ति
संसारमा सबैभन्दा ठूलो चिज भनेको शक्ति हो। त्यही भएर सबैजना शक्तिको भक्तिमा लागेका हुन्छन्। शक्ति पनि बिभिन्न किसिमका हुन्छन्।
शारीरिक शक्ति, बौद्धिक शक्ति, आर्थिक शक्ति, दैवी शक्ति, आसुरी शक्ति, सौन्दर्यको शक्ति, पदको शक्ति, कानुनी शक्ति, गैरकानुनी शक्ति, क्षणिक शक्ति, स्थायी शक्ति, देखिने शक्ति, नदेखिने शक्ति आदि आदि। शक्ति जुन खालको भएपनि त्यसको मजा भने आफ्नै तालको हुन्छ। शक्ति विना कसैले हात मल्दैन र शक्ति नभएकाहरुको भाग्यमा जति रोई कराई गरेपनि केही फल्दैन।
आफूसित भएको शक्तिलाई कहाँ, कहिले, कसरी, कसलाई र किन प्रयोग गर्ने भन्ने जानेर र त्यसलाई सोह्रै आना मानेर अगाडि बढ्ने हो भने जीवनमा एक माना खान र घरमा राम्रो छाना छाउन खासै गाह्रो पनि पर्दैन।
सबै जीवित वस्तुले आफ्नो अस्तु जोगाउने हो भने उसलाई शक्तिको आवश्यकता पर्दछ। हिँड्न, बोल्न, खान, पचाउन, हात गोडा चलाउन, दिमाग चलाउन, आफ्नो शरीरको अंग प्रत्यंग चालु अवस्थामा राख्न र बिभिन्न परिकारहरु चाख्न पनि शक्तिको आवश्यकता हुन्छ।
शक्ति नभएकाले आफ्नो शरीर चलाउन पनि सक्दैन भने त्यस्ताले जीवनमा कनुै कुरा फलाउन सक्लान् भन्ने सोच्नु बेकार छ। त्यही भएर सबै ठाउँमा शक्तिको पूजा गरेर मान्छेले आफ्नो भुजाको व्यवस्था गरेर निधारमा मुजा परुन्जेल शक्तिको सदुपयोग गरिरहेको हुन्छ।
अन्तर्राष्ट्रिय, क्षेत्रीय, राष्ट्रियदेखि स्थानीय तहसम्म पनि शक्ति प्रयोग गर्न सक्नेकै बोलवाला हुने र त्यसैको बोलिले सबैको मन छुने गरेको देखिन्छ। ठूला र शक्तिशाली राष्ट्रहरुले आफ्नो शक्तिको अभ्यास संसार भरी मजाले गरिरहेका र यसबाट कति सर्वसाधारणहरु मरिरहेका छन्।
छिमेककै देवी देवता ठूला, नेताहरु ठूला, व्यापारीहरु ठूला, कलाकारहरु ठूला, उद्योगहरु ठूला, सुविधाहरु ठूला आदि भएपछि उतैको प्रयोग गरेपछि यता त्यस्तो बनाउने दुःख गरी राख्नै परेन ।
शक्ति राष्ट्रहरुको चुम्बकिय शक्तिले संसारभरिका शिक्षित, योग्य र सक्षम व्यक्तिहरुलाई आफूतिर तानि रहेको र यसले शक्तिहिन राष्ट्रहरुको ढाडमा हानिरहेको छ। शक्तिशाली राष्ट्रका राष्ट्र प्रमुख मात्रै होइन सामान्य मान्छेले समेत बोल्दा र आफ्नो मुख खोल्दा संसारको धेरै ठाउँ हल्लिन्छ।
व्यापार, दरभाउ, उत्पादन, बितरण, निर्यात, आयात, बिभिन्न कर आदि सहितको दर उनीहरुले तोके अनुसार र उनीहरुले आफ्नो अनुसार ठोके बमोजिम निर्धारण हुन्छ। उनीहरुको आशिर्वाद नभएसम्म धेरै मुलुकहरुको शासन व्यवस्था नै चल्दैन र उनीहरुको साथ पाएपछि सानो ठूलो कोही पनि हत्तपत्त गल्दैन।
उनीहरुलाई अन्तर्राष्ट्रिय कानून, सन्धि, सम्झौता, नियम, परम्परागत अभ्यास, मानव अधिकार, अन्तर्राष्ट्रिय मानवीय कानुन आदिले हत्तपत्त छुन नसक्ने हुनाले साना राष्ट्रहरु उनीहरुको इशारामा नाँच्न र उनीहरुकै ताल अनुसार कम्मर भाँच्न तँछाड मँछाड गरिरहेका देखिन्छन्।
शक्तिशाली चुम्बकले फलामको वस्तुलाई आफूतर्फ आकर्षित गर्ने सिद्धान्त यसमा ठ्याक्कै उस्तै पर्ने हुनाले यसैबाट कति देशका सरकारहरुले उनीहरु प्रति भक्ति देखाएर आफ्नो भुँडी भर्ने गरिरहेका छन्।
एकातिर उचाल्ने, अर्कोतिर थेचार्ने, अर्कोतिर पछार्ने, कसैलाई थर्काउने, कसैलाई सुम्सुम्याउने, कसैलाई तर्साउने, कसैमाथि बम बर्साउने, कसैमाथि इच्छा विपरितको व्यवस्था थोपर्ने र कसैलाई अनावश्यक रुपमा कोपर्ने आदि आदि गर्न कसैले रोक्ने कुरै आएन। यो त देवताको पाला देखि नै चलेको र शक्तिशालीहरुको लागि मजाले फलेको व्यवसाय नै हो।
क्षेत्रीय स्तरमा पनि त्यस्तै हो। क्षेत्रीय सन्तुलन मिलाउन र क्षेत्रीय रुपमा शक्तिशाली राष्ट्रलाई आड भरोसा दिलाउन अन्तर्राष्ट्रिय शक्तिशालीको पनि यथेष्ट हात हुन्छ। उताको आशिर्वादको पनि आफ्नो क्षेत्रमा चारैतिर नेत्र पुर्याउन बिभिन्न राष्ट्रहरुले बिभिन्न खाले प्रयासहरु गरिरहेका हुन्छन्।
त्यस क्षेत्रमा भएका प्राकृतिक श्रोतहरुमा एकाधिकारको प्रयास, आफ्नो सुुरक्षासँग जोडेर र परिस्थितिलाई अनेक किसिमले मोडेर क्षेत्रिय स्तरमा आफ्नो पकड राख्ने प्रयास, शिक्षा, स्वाथ्य र अन्य रोजगारीमा आफ्नो प्रभुत्व जमाउने र त्यसबाट मनग्गे कमाउने प्रयास, अन्य राष्ट्रका सरकार, राजनैतिक दल, ठूला नेता र प्रभावशाली शक्ति र संस्थाहरुलाई आफ्नो पकडमा पार्ने, आफ्नो आवश्यकता अनुसारको शक्ति प्रयोग गरेर पाइला सार्ने र आफ्नो समर्थकलाई प्रत्येक अवस्थामा समस्याबाट टार्ने गरेर क्षेत्रीय स्तरमा पनि शक्तिशालीहरुकै चलखेल र थिचोमिचो खासै नौलो विषय होइन।
राष्ट्रिय स्तरमा शक्ति प्राप्ति र त्यसको प्रयोगको लामो इतिहास र परम्परा कायम रहेको छ । शक्ति प्रयोग गर्नेले प्रयोग भने पनि नसक्नेले यसलाई दुरुपयोग भन्ने गरेको पनि सुनिन्छ र शक्ति प्रयोग गर्नेले आफ्नो शक्ति राम्ररी प्रयोग गरेर नै शक्ति प्रयोग गर्ने हैसियतमा पुग्ने गरी चुनिन्छ अनि नसक्ने लाछीको भने भाग्य नै थुनिन्छ।
जस्तो तस्तो मान्छेलाई शक्तिमा पुग्न ज्यादै गाह्रो छ। मान्छेले शक्तिमा पुगेको मात्रै देख्ने र त्यसको बारेमा नराम्रो लेख्ने मात्रै गरेको सुनिन्छ। तर त्यो व्यक्ति त्यहाँसम्म कसरी पुग्यो। त्यहाँ पुग्न कति पापड बेल्यो, कति चक्कर लगाएर को को सित खेल्यो, कतिजनालाई भित्तैमा पूग्ने गरी ठेल्यो र कति ठाउँमा कति पैसा पेल्यो भन्ने कुरा आम मान्छेको कल्पना भन्दा बाहिर नै हुन्छ।
त्यहाँसम्म पुग्नको लागि छिमेकका भांग्रे, थांङ्गने, माग्ने नेता देखि लिएर सरकारमा रहेका, विपक्षमा रहेका, केन्द्रदेखि प्रान्त सम्मका नेताहरुको चाकडी र जि हजुरी गरेर पाउ परेर भए पनि राष्ट्रिय स्तरमा शक्तिशाली बनिरहने चलन धेरै पुरानो भएकोले सबैकुरा थाहा पाएर पनि कसैलाई पनि यसमा जलन हुँदैन।
छिमेककै देवी देवता ठूला, नेताहरु ठूला, व्यापारीहरु ठूला, कलाकारहरु ठूला, उद्योगहरु ठूला, सुविधाहरु ठूला आदि भएपछि उतैको प्रयोग गरेपछि यता त्यस्तो बनाउने दुःख गरी राख्नै परेन ।
ठूलो पदमा पुग्ने र त्यसमा निहित शक्ति प्रयोग गर्नेहरुले छिमेकी रिझाउने र यहाँकालाई बिझाउने सिद्धान्तलाई ज्यादै राम्ररी प्रयोगमा ल्याई रहेका अनि छिमेकीको आशिर्वादले यता सबैतिर भ्याइरहेका छन्। छिमेकीको भक्ति नगर्नेहरु कहिल्यै शक्तिमा नजाने भएपनि यस्ता झिना मसिना शक्तिमा नजाने भनेर गफ दिन चाहिं भ्याई रहेकै देखिन्छन्।
स्थानीय तहमा पनि माथिको आशिर्वाद भएकाहरुकै भाग्य लहलह भएर फले फूलेको देखिन्छ । केन्द्रसम्म पहुँच भएका र अझ केन्द्रिय तहमा आफ्नै बाबु, आमा, दाजुभाइ, दिदीबहिनी, मामा, फुपु, काका, भान्जा, ससुरा, सासु, साला, जेठान, भिनाजु, आदि आदि आदि नातेदार हुनेहरुको कुरै बेग्लै।
त्यस्ताहरुलाई विना लगानी विना मेहनत नै आफूले चाहेको र मागेको पद आई लाग्ने हुनाले अचेल त्यस्ता भाग्यमानीहरुको दिन जागेको छ। त्यही भएर शक्तिको भक्ति गरौं फाईदै फाइदा छ।
Facebook Comment