आम निर्वाचन २०७९: प्रधानमन्त्री देउवासहित पाँच पूर्वप्रधानमन्त्री को कति सुरक्षित ?

शरद रिजाल
८ भदौ २०७९ ७:२०

काठमाडौं। आसन्न मंसीर ४को निर्वाचनमा वर्तमान सत्ता गठबन्धन भित्रै रहेका ‘हेभी वेट’ पाँच पूर्वप्रधानमन्त्रीहरु चुनावी तालमेल गरेरै एउटै गठबन्धनबाट निर्वाचनमा जाने भएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबाहेक प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य पूर्वप्रधानमन्त्रीहरु एउटै गठबन्धनबाटै निर्वाचन लड्ने हालसम्मको अबस्थाले देखाएको छ ।

पूर्वप्रधानमन्त्रीहरु मध्ये एमाले अध्यक्ष केपी शर्मा ओली बाहेक अन्य सबै गठबन्धनमा रहेका छन्। र गठबन्धनबाटै निर्वाचन लड्ने घोषणा गरिसकेका छन्। सिट बाँडफाँट भने अझै भइसकेको छैन। सत्ता गठबन्धनको गठित कार्यदलले टुंग्याउने बताइएको छ।

सत्तारुढ गठबन्धनमा आवद्ध पाँच दलीय गठबनधन कार्यदल बनाएरै सिट बाँडफाँटको तयारीमा जुटि रहेका छन्। पाँच दलभित्र रहेका प्रधानमन्त्री देउवासहित गठबन्धनबाटै अन्य पाँच पूर्वप्रधानमन्त्रीसँगै निर्वाचनमा हामिने तयारीमा रहेको हालसम्मको घटनाक्रमले देखिन्छ ।

यसपालीको निर्वाचनमा प्रधानमन्त्री देउवासहित अन्य पाँच पूर्वप्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा कतिपयको गठबन्धनबाटै निर्वाचन लडेमा सुनिश्चित जस्तै देखिएको छ।

गठबन्धनबाट हालका प्रधानमन्त्री देउवासहित पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई घोषित राष्ट्रिय गठबन्धनमा छन् भने पूर्वप्रधानमन्त्रीमध्ये एमाले अध्यक्ष केपी शर्मा ओलीमात्र गठबन्धन बेगर निर्वाचनमा होमिने भएका छन्। यद्यपि ओलीको निर्वाचन क्षेत्र झापामा राप्रपासँग एमालेको गठबन्धनको संभावना भने यथावत रहेको एमालेकै नेताहरु बताउँछन्।

कतिपय यीनै पूर्व र हालका प्रमको निर्वाचन क्षेत्रमा गत स्थानीय तह निर्वाचनको मतपरिणामले बलियो स्थिति देखिएको छ। कतिपयको हकमा भने गठबन्धनबाटै असहयोग भएमा निर्वाचित हुने पर्याप्त र बलियो स्थिति छैन। तथापि गठबन्धनले के गर्छ यसै भन्न सकिेन अबस्था छैन। गएको स्थानीय तहको निर्वाचनमा दलहरुले प्राप्त गरेको मतभारको आधारमा आसन्न निर्वाचनको संभावित मतपरिणामबारे हालका प्रधानमन्त्रीसहित अन्य पाँच पूर्वप्रधानमन्त्रीको आँकलन गरिएको छ।

डडेलधुरामा प्रधानमन्त्री देउवा निर्विकल्प

२०४८ साल यता निरन्तर चुनाव जित्ने नेतामा नाम दर्ज गराउन सफल भएका प्रधानमन्त्री देउवा यसपालीको निर्वाचनमा डडेलधुरामा ह्याट्रिक गर्ने देखिएको छ।
एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको डडेलधुरामा देउवा निर्विकल्प जस्तै देखएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा वर्तमान गठबन्धनकै एक प्रमुख घटक नेपाली कांग्रेसका सभापति समेत रहेका उनी यसपटक एउटै संघीय निर्वाचन क्षेत्र रहेको गृह जिल्ला डडेलधुराबाट निर्वाचन लड्ने छन्।

उनी यस अगाडिको निर्वाचनमा आफ्नै गृह जिल्ला डडेलधुराबाट निर्वाचित भएका हुन्। त्यस अगाडि २०६४ को निर्वाचनमा उनी डडेलधुरा र कञ्चनपुरबाट निर्वाचित भएका थिए। २०७० मा उनी डडेलधुरा र कैलालीबाट निर्वाचित भएका थिए।

उनको यसपटक निर्वाचनमा समेत सिट सुरक्षित रहेको बताइन्छ। प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेलधुरामा उनी निर्विकल्प जस्तै देखिएका छन्। माओवादी केन्द्र का नेता खगराज भट्टसँग गत निर्वाचनमा चुनावी प्रतिस्पर्धा गरेका देउवा बाम गठबन्धन हुँदा समेत भारी मतान्तरले भट्टलाई पराजित गरेका थिए।

यसपालीको निर्वाचनमा भट्टलाई भावी मुख्यमन्त्रीको रुपमा प्रदेशमा उठाउने माओवादीको तयारी छ। गत निर्वाचनमा ६ हजार ९२९ मतान्तरले देउवासँग पराजित भट्ट यसपाली मुख्यमन्त्री बन्ने दाउमा रहेका छन्।

गत निर्वाचनमा देउवाले २८ हजार ४४ मत ल्याउँदा भट्टले बाम गठबन्धन हुँदा समेत २१ हजार ९२९ मत ल्याएका थिए। गएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षले प्राप्त गरेको मतपरिणामको आधारमा जिल्लब्यापी कांग्रेसको मत २१ हजार ७३५ मत रहेको छ।

माओवादीको जम्मा मत १२ हजार ८७८ रहेको छ । यस्तै एमालेको जम्मा मत १० हजार ४४९ छ भने एकीकृत समाजवादीको जम्मा मत ५ हजार ४१ रहेको छ। यही मतभारलाई दृष्टिगत गर्दा डडेलधुरामा देउवाको पल्लाभारी हुने देखिन्छ । बिगत २०४८ साल यता ६ पटक निर्वाचित भइसकेका उनी सातौ पटक निर्वाचित हुने निश्चितप्राय छ।

झापा क्षेत्र नम्बर ५ मा  बलिया ओली

पटक पटक गरि झपाबाट हालसम्म पाँच पटक निर्वाचित भएका एमाले अध्यक्ष केपी शर्मा ओली २०६४ मा बाहेक हालसम्म २०४८ यता निरन्तर निर्वाचित हुँदै आएका छन्। २०७४ को निर्वाचनमा झापामा राप्रपा समेत गठबन्धनमा सामेल थियो।

क्षेत्रनम्बर ३ मा राप्रपा हालका अध्यक्ष राजेन्द्र लिङदेनलाई एमाले माओवादीको साथ थियो भने ५ मा ओलीलाई राप्रपाले साथ दिएको थियो। प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई भारी अत्याधिक मतले पराजित गरेका थिए। ओलीले ७५ हजार १३९ मत ल्याएर विजयी भएका थिए भने निकटतम प्रतिद्वन्द्वी अधिकारीले २८ हजार २५७ मत ल्याएका थिए।

गत २०७४ को निर्वाचनमा करिब २८ हजार मतान्तरले विजयी भएका ओली यसपटक पनि उनको निर्वाचन क्षेत्रमा एमालेको बलियो उपस्थिति देखिएको छ। गएको स्थानीय तह निर्वाचनको मतपरिणामको आधारमा उनको निर्वाचन क्षेत्रमा एमालेको उपस्थिति बलियो देखिएको हो।

झापाको क्षेत्र नम्बर ५ मा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा एमालेको ४१ हजार ६१९ मत रहेको छ। कांग्रेसको २२ हजार २२ मत रहेको छ। माओवादीको जम्मा मत १० हजार ७८८ रहेको छ। यस्तै राप्रपाको मत ८ हजार ३५३ छ भने एकीकृत समाजवादीको १ हजार ९८८ मत रहेको छ।

यसपालीको निर्वाचनमा ओलीलाई कांग्रेस र माओवादीको संयुक्त मत जोड्दा समेत ३२ हजार ८१० हुन आउँछ । जबकी एमालेको आफ्नै मत यस क्षेत्रमा ४१ हजार ६१९ रहेको छ। दुई दल मिल्दा समेत एमालेको ८ हजार ८०९ले बढी यो क्षेत्रमा स्थानीय तहको मतपरिणामको आधारमा देखिन्छ।

झपामा एमाले र राप्रपाको गठबन्धन हुने संभावना समेत रहेको एमालेकै नेताहरु बताउँछन्। त्यसो भएमा राप्रपा अध्यक्ष लिङदेनलाई ३ नम्बरमा एमालेले सघाउने हुँदा यस क्षेत्रमा राप्रपा र एमालेको संयुक्त मत गठबन्धनका कांग्रेस माओवादीको भन्दा उल्लेख्य मतभार बढी हुने देखिन्छ ।

गोरखा क्षेत्र नम्बर २ मा बाबुरामलाई माओवादीकै भर

गत निर्वाचनमा कांग्रेससँग गठबन्धन गरि निर्वाचित भएका भट्टराई यसपाली गठबन्धनबाटै माओवादीको चिन्हबाट निर्वाचन लड्ने भएका छन्। २०७४ को निर्वाचनमा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष रहेका नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए।

गोरखा क्षेत्र नम्बर २ मा कांग्रेस र तत्कालीन नयाँ शक्तिबीच गठबन्धन गरिएको थियो भने एमाले माओवादीको अर्को गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भएको हो। बाम गठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठलाई भट्टराइल्ो ६ हजार ८७४ मतान्तरले पराजित गरेका हुन्। भट्टराईले ३१ हजार ८०७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार ९३३ मत ल्याएका थिए।

गएको स्थानीय निर्वाचनमा माओवादीले गोरखामा ११ वटा स्थानीय तहमध्ये ९ वटा स्थानीय तहमा जित हासिल गरेको छ। २०७४ को निर्वाचनमा ९ वटा स्थानीय तह जितेको कांग्रेस यस पटक २ वटामा सीमित भएको छ भने माओवादीले ९ वटा स्थानीय तह कांग्रेसबाट हत्याएको छ। त्यस अगाडिको निर्वाचनमा २ वटा मात्र जितेको माओवादीले यसपटक गोरखामा कमब्याक गरेको बताउँदै आएको छ।

यसपालीको निर्वाचनमा माओवादीकै निर्वाचन चिन्हमार्फत चुनाव लड्ने घोषणा गरेका भट्टराईलाई गोरखामा माओवादीको साथ चुनाव जित्न अत्यावश्यक देखिएको छ। गएको स्थगानीय निर्वाचनको मतपरिणामलाई हेर्ने हो भने निर्वाचन क्षेत्र नम्बर २ मा उनको तत्कालीन पार्टी जसपा अन्य दलको तुलनामा कमजोर उपस्थिति देखिएको छ। स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतपरिणामको आधारमा क्षेत्र नम्बर २ मा भट्टराईको उपस्थिति कमजोर देखिएको हो।

उनको पार्टी तत्कालीन जसपाको जम्मा मत ७ हजार ५०४ मात्रै रहेको छ। त्यस क्षेत्रमा माओवादीको मत २२ हजार २५० रहेको छ भने कांग्रेसको मत २१ हजार १३६ छ। एमालेको मत ७ हजार ९२६ रहेको छ। यस निर्वाचन क्षेत्रमा माओवादीको मत सबै भन्दा बढी देखिएको छ। कांग्रेस माओवादी र जसपाको कुल मत जोड्ने हो भने यस क्षेत्रमा एमाले भन्दा चार गुणा बढी हुने देखिन्छ।

बाबुरामलाई गोरखा क्षेत्र नम्बर २ मा निर्वाचन जित्न गठबन्धनको साथ अपरिहार्य रहेको स्थानीय तहमा दलहरुले प्राप्त गरेको मत परिणामको आधारमा प्रष्ट देखिन्छ।

चितवन क्षेत्र नम्बर ३ मा प्रचण्डको जित कांग्रेसको मतमा निर्भर

गत २०७४ को निर्वाचनमा ्एमालेसहितको गठबन्धनबाट क्षेत्र नं ३ को उम्मेदार बनेका प्रचण्डले ४८,२७६ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी राप्रपा-कांग्रेसका बिक्रम पाण्डेले ३८,९३५ मतसहित दास्रो भएका थिए।

प्रचण्डको निर्वाचन क्षेत्र चितवन क्षेत्र नम्बर ३ मा यसपाली स्थानीय तहको मतभारलाई हेर्दा माओवादीको एकल जितको संभावना देखिँदैन। प्रचण्डको निर्वाचन क्षेत्र रहेको ३ मा यसपाली प्रचण्डलाई कांग्रेसको साथ अनिवार्य जस्तै दखिएको छ।

यसपालीको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा क्षेत्र नम्बर ३मा एमालेको मतभार सबैभन्दा बढी देखिएको छ। यस निर्वाचन क्षेत्रमा एमालेको मत २९ हजार ७७१ रहेको छ भने कांग्रेसको जम्मा मत २९ हजार ३४३ रहेको छ। स्थानीय निर्वाचनको मतपरिणाम अनुसार एमाले क्षेत्र नम्बर २मा कांग्रेस भन्दा ३२८ मतले बढी छ।

माओवादीको जम्मा मत १० हजार ९४० रहेको छ। यस्तै राप्रपाको ६ हजार १९८ हुँदा एकीकृत समाजवादीको ५ हजार ३७ मत रहेको छ। यसपालीको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रमा स्थानीय तहको मतपरिणामलाई दृष्टिगत गर्दा गत निर्वाचनमा कांग्रेस र एमालेको मतभारमा उल्लेख्य फरक देखिँदैन। कांग्रेसको मतभन्दा एमाले यस क्षेत्रमा ३२८ मत मात्र बढी छ। एमालेको २९ हजार ७७१ छ र नेपाली कांग्रेसको २९ हजार ३४३ भने माओवादीको १० हजार ९४० रहेको छ।

जसअनुसार कांग्रेस माओवादीको को संयुक्त मत ४० हजार २८३ हुन आउछ । उक्त क्षेत्रमा राप्रपाको मत ६ हजार १९८ रहेको छ। राप्रपा र एमालेको गठबन्धन भएमा समेत उनीहरुको जम्मा मत ३५ हजार ९६९ हुने देखिन्छ । एमाले र माओवादीको संयुक्त मतले गएको निर्वाचनमा विजयी बनेका प्रचण्डलाई यसपाली कांग्रेसको मतभारले एमाले र राप्रपाको गठबन्धन बने पनि विजयी बन्ने संभावना देखिन्छ।

इलाम क्षेत्र नं १ मा झलनाथ खनाललाई गठबन्धनकै भर

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले गत २०७४ को निर्वाचनमा कांग्रेसका भुपेन्द्र कट्टेललाई १७ हजार १६७ मतान्तरले पराजित गरेका थिए। खनालले ३६ हजार ८०५ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी कट्टेलले १९ हजार ६३८ मत ल्याएका थिए।

यस पटक भने यिनै खनाललाई क्षेत्र नं १ मा चुनाव जित्न गठबन्धनकै भर पर्नु पर्ने देखिएको छ। गएको स्थानीय तह निर्वाचनको मतपरणामले खनालको पार्टी नेकपा एसको उपस्थिति यस क्षेत्रमा कमजोर देखिएको हो। वडा अध्यक्षले प्राप्त गरेको कुल मतको आधारमा क्षेत्र नं २ मा तेस्रो स्थानमा खनालकै दलको उपस्थिति देखिएको छ।

उनको दलले जम्मा ९ हजार ४८१ मत ल्याएको छ। यस क्षेत्रमा माओवादीको १ हजार २३५ मतभार छ। यहाँ एमालेकै हाराहारीमा उपस्थिति कांग्रेसकै देखिएको छ । कांग्रेस भन्दा एमालेको ४६१मात्र मतान्तर बढी छ।

कांग्रेसले उनलाई साथ दिएमा खनालको विजयी हुने संभावना रहेको छ। यस क्षेत्रमा अन्यथा एमाले नै बलियो गत स्थानीय तहको मतपरिणामले देखाएको छ।

माधव नेपाललाई रौतहट क्षेत्र नम्बर १ मा गठबन्धनको भर

लामो समयदेखि काठमाडौं २ र रौतहट १ मा उम्मेदवारी दिँदै आएका एकीकृत समाजवादीका अध्यक्ष नेपाल यस पटक भने रौतहटबाट निर्वाचन लड्ने भएका छन्। २०७२ को संविधान जारी भएसँगै हाल दुई क्षेत्रबाट उम्मेदवारी दिन नपाउने संवैधानिक प्रावधान रहेको र काठमाडौंमा भन्दा रौतहटबाट निर्वाचित हुने संभावना बलियो भएकाले उनी यसपाली रौतहट जान लागेका हुन्।

एकीकृत समाजवादीका महासिचव बेदुराम भुसालका अनुसार माधव कुमार नेपाल रौतहट निर्वाचन क्षेत्र न्ां१ बाट उम्मेदवारी दिने संभावना बढी छ। यद्यपि पाटीले संस्थागत निण्र्नय भने गरिसकेको छैन् । नेपालले रौतहट क्षेत्र नं १ बाट आशन्न निर्वाचन लड्ने आकांक्षा ब्यक्त गरेको उनी निकट नेताहरु बताउँछन्।

२०६४ मा दुबै क्षेत्रबाट पराजित भएका अध्यक्ष नेपाल त्यस यता निरन्तर निर्वाचित हुँदै आएका छन्। एकीकृत समाजवादीका एक नेताका अनुसार स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीको उपस्थिति बलियो देखिएको छ ।

रौटहटको क्षेत्र नम्बर १ मा सत्तारूढ गठबन्धनविरूद्ध एमाले र अन्य दलको मत असाध्यै कमजोर देखिएको छ। गएको स्थानीय तहमा वडाअध्यक्षले प्राप्त गरेको मतपरिणामको आधारमा क्षेत्र नं १मा एकीकृत समाजवादीको १९ हजार ६९८ जम्म्मा मत रहेको छ । कांग्रेसको १६ हजार ९२८, जसपाको ८ हजार २४१ र माओवादी केन्द्रको ८ हजार १९१ मत छ । यस क्षेत्रमा एमालेको मत अन्य दलको भन्दा निकै कम मत छ । उसको मत मत भने ७ हजार ३८५ मात्रै छ।

सत्ता गठबन्धनमा आबद्ध सबै दलको मत जोड्दा जम्मा मत ५३ हजार ५८ हुन्छ । गठबन्धन भएर इमान्दारितापूर्वक सोही अनुरुप मत आएमा माधव नेपालले रौतहटबाट चुनाव जित्ने संभावना देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *