संस्मरण : त्यो रित्तो घर
त्यो रित्तो घरका विषयलाई लिएर म दुई भागमा विभक्त भएको छु। एउटा म छु जो जिद्दी छ। र अर्को ऊ छ मेरो मन। र, ऊ झन् धेरै जिद्दी छ। यति बेला मेरो मन पराइ भएको छ। पराइ याने वैरी भएको छ। बिरानो भएको छ। अबुज्झकी भएको छ। मेरो मनले मेरो प्रतिनिधित्व गर्दैन। मेरो विचार बोक्दैन। तर मैले उसलाई बोकिरहेको छु।
र, अर्को मेरो सम्झनामा तपाईँ हुनुहुन्छ। तपाईँ मेरो बद्ख्वाइँ गरेर तृप्त हुनुहुन्छ। तपाईँलाई मेरो लुपहोल पाए पुग्छ। त्यसै अनर्गल बर्बराइ रहनु हुन्छ। त्यो मलाई थाहा छ। तपाईँका अनर्गल कुरा मेरो बैरी मनलाई मीठा लाग्न थालेको छ। केही गरे, कसै गरे पनि मैले उसलाई बुझाउन सकिनँ । उसलाई सम्झाउन सकिनँ।
उसले मलाई एकदिन भन्यो-खोइ तेरो घर? तँ बेघरवाला होस्।
यो प्रश्न ऊ सधैँ ममाथि तेस्र्याइ रहन्छ। मेरो मुटुमा चस्सचस्स पार्दा ऊ खुसी हुन्छ।
तर मैले सधैँ उसलाई उत्तर दिएको हुन्छु-अरे यार! म बेघरे होइन। मेरो एउटा घर छ। तर रित्तो छ जहाँ म नपुगीकन पनि विश्राम गर्छु। मेरो जीवनको विपर्यास यात्राले सुकुनका साथ आराम गर्छ त्यो रित्तो घरमा।
तपाईँ त्यहीँ हुनुहुन्थ्यो। मलाई फ्याट्ट भन्नुभयो-‘तँ पलायन रोज्ने परदेशीको घर कहाँ छ ? तेरो रित्तो घर कहाँ छ?’
जाहेर छ, तपाईँले उसका कुरामा आगोमा घिउ हालिदिनु भयो। ऊ झन् उर्लीउर्ली मलाई हिक्मतहारा, निकम्मा भनेर गाली गर्न थाल्यो।
तपाईँको यो इमोसनल प्रश्नले म विक्षिप्त हुनुपर्ने हो। तर भएको छुइनँ। जिन्दगी बाँच्दाबाँच्दा गोहोरोको छाला भएको छु म। तर तपार्इँ मान्नुहोस् कि मेरो पनि घर छ। त्यो घर तपाईँको घरनजिकै छ। र, रित्तो छ। फरक के छ भने तपाईँको घर परित्यक्त हुने फिराकमा छ। मेरो घर परित्यक्त भइसकेको छ।
यो कुरा सुनेर ऊ बेस्सरी चिच्यायो-अर्काको घर परित्यक्त हुने कुरासँग तँलाई के मतलब?, आफ्नो आङको भैँसी नदेख्ने अर्काको आङको जुम्रोलाई भैँसी बनाउने तँ। पहिले तेरो आफ्नो घर कहाँ छ भन् न?
तपाईँका र उसका कुराले म सेन्टिमेन्टल हुँदै गएको छु। उसले त मेरो कुरा कौन पुछे खेसडीका दाल ठान्छ। तर तपाईँ मेरो घरको कायाकैरन सुन्नु न यार। म तपाईँलाई मेरो घरको कायाकैरन बताउँछु।
मलाई थाहा छ कि मेरो रित्तो घरको कायाकैरन कथाले तपाईँलाई भाव विह्वल बनाउँदैन। तपाईँको केही खालो सार्दैन। किनकि तपाईँ यता आएर भावशुन्य हुनुभएको छ । अत्यधिक चञ्चल हुनुभएको छ। परपीडक हुनुभएको छ। बरु ‘खुच्चिम’ भनेर काखी बजाउनु हुनेछ। कोखा बजाउनु हुन्छ। किनकि मान्छे भनेको कोखामा दाह्रो भएको प्राणी हो।
तर मलाई थाहा छ, तपाईँ पनि भर्खरै छोरोलाई उडाएर आयोजना गरेको रउसे भोजबाट आउनुभएको हो। त्यो विदेशिनेलाई पनि हुनसम्मको जानेजति बधाई भनेर आउनुभएको हो। खान पाएपछि तपाईँको स्वभाव नै परिवर्तन हुन्छ। किनकि तपाईँ सक्कली मान्छेको नक्कली प्रतिनिधि हो। त्यसैले मेरो रित्तो घरको कथा तपाईँले सुन्नै पर्छ।
मेरो कुराले तपाईँ अलमलमा पर्नु भएको छ। तर ऊ तपाईँलाई उल्क्याउँदै छ-भो नसुन्नू त्यसका पाल्सी कुरा। हुतिहारा कुरा।
तर तपाईँ सुन्दै हुनुहुन्छ मेरा कुरा-
गत महिना याने २०७९ सालको असार महिनाको अन्तिम हप्ता म काठमाडौंबाट प्लेन चढेर विराटनगर पुगेको थिएँ। विराटनगरबाट सार्वजनिक गाडी चढेर सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिकामा पर्ने रूपनगर चौकमा झरेको थिएँ। आच्या! पचासौँ वर्ष लगाएर हुर्काएको त्यत्रो यामानका रुखहरू त विकासले काटे छ नि यार।
त्यहाँबाट अटोरिक्सा चढेर म बस्तीपुर नामको गाउँ जहाँ मेरो त्यही रित्तो घर छ, मा पुगेको थिएँ। मेरो गाउँमा उहिले बाटा थिएनन्-गावैँ गाउँ थिए। अहिले बाटैबाटा छन्-परित्यक्त छ। पहिले झुप्रा थिए-टनाटन मान्छे थिए। अहिले अर्घपक्की छन्- माकुराको जालो झार्ने कोही छैन।
मेरो जीवनको यो पहिलो घटना थियो कि म नितान्त एक्लै घर पुगेको थिएँ र घरमा पनि कोही थिएनन्। घर परिसरमा मुर्दा शान्ति थियो। र साथमा मेरो बैरी ऊ थियो। ऊ मेरो विह्वलतामा खुच्चिम भन्दै थियो । काखी बजाउँदै थियो।
भान्सा भनिने घरमा परम्परागत फलामको साङ्लोबाट ढोकाका फब्ल्याँटा थुनिएको थियो। सेतो च्यादरको छाना फलामे खियामा रूपान्तरण भएको थियो। भान्सा घरका भित्ता आँधो खोलाले जताततै खोल्सी बनाएझैँ थियो। त्यो बुझ्नु भएन भने अमिनले जथाभावी कित्ता काट गरेजस्ता चिरिएका थिए।
मूल टाँडे घरका कोठाहरूका ढोकालाई आधुनिक अन्तरापवाला ताल्चाले थुनेको थियो। भुइँटाँडे घरमा मेरी आमा चढ्ने स्लोप भर्याङ भत्काएर गायब थियो। घरको अगलबगल कोही मान्छे थिएनन्। रित्तो थियो। कसैले नबुझेको बैरङ चिठी जस्तो थियो घर।
थोरै आफैँले रोपेका र धेरै आफैँ उम्रेका झाडीले घरलाई छोपेको थियो। सूर्यको किरण छिर्न निकै हम्मेहम्मे पथ्र्यो । घरभित्र पस्न साँचो खोज्न थालेको थिएँ। साँचो नआउञ्जेल म त्यही घरको ओसारीमा बसेको थिएँ।
त्यहाँ त्यही टेबुल थियो जहाँ बुबा अक्सर बस्नु हुन्थ्यो । कविता लेख्नु हुन्थ्यो। दाह्री काट्नु हुन्थ्यो। ठूलो भोलम बनाएर रेडियो सुन्नुहुन्थ्यो। रेडियो त थिएन तर सबै संरचना जिउँदै थियो।
साँचोको जिम्मा लिएको जितबहादुर वनजङ्गल गएको थियो। अलिकति तपाईँलाई जितबहादुरका बारेमा बताउनु पर्छ मैले। ऊ लगभग ९ वर्षको उमेरदेखि हाम्रो घरमा बस्थ्यो। कामकाजी थियो ऊ। मेरो बालसखा थियो । बाल्यकालका अलमस्त जिन्दगी मैले उसैसँग गुजारेको हुँ।
उमेरमा ऊ मभन्दा २/४ वर्ष जेठो होला। एउटै भाँडाको खाएका हौँ हामीले। तर फरक थियो। म स्कुल जान्थेँ। ऊ गाई हेथ्र्यो। म पुस्तक फिजाउँथेँ। ऊ घाँसपराललाई कुट्टी काट्थ्यो। म जन्मजात बाहुन थिएँ-उसको पानी चल्दैनथ्यो। तर खासमा भन्ने हो भने ऊ थाँक्रो थियो, म त्यो थाँक्रोमाथि लहलहाएको लहरा।
उसले पढेन। पढ्न पाएन।कसरी पढोस् विचरा। ऊ टुहुरो थियो, म आमाबाबुको क्षत्रछायाँमा थिएँ। फरक त्यही थियो। अहिले अर्को फरक पनि देखा परेको छ। म १२ इन्चको म्याट्रेसमा पनि सुत्न सक्दिनँ। ऊ सुकुलमाथि ओछ्याइएको दरीमाथि आनन्दले रात बिताइदिन सक्छ।
म प्रेसर, सुगरलगायत हाडजोर्नी करकरेवाला भएको छु। ऊनजिक ती कुरा आएका छैनन्। र, मजाको कुरा त के भने अहिले त्यो रित्तो घरको अनौपचारिक मालिक उही भएको छ। औपचारिक मालिकको त के पत्तो र?
अँ त त्यो रित्तो घरमा पस्न साँचो पर्खनुको मसँग विकल्प थिएन। केही समयपछि जितबहादुर आयो र ढोका खुल्यो। जितबहादुर आफ्नो भरिभराउ घरतिर गयो। म आफ्नो रित्तो घरभित्र पसेँ। कोठा, चोटा, ओसारी, भित्र र बाहिर सबै रित्तो थियो। केवल रिक्तता थियो।
घर उही थियो। मेरी आमाले बसेर पकाउने गरको पिर्का त्यहीँ थियो। बुबाले बसेर अप्सानी हालेर भात खाने टेबुल पनि जिउँदै थियो। त्यो इतिहासको साक्षी बसिरहेको थियो । तर रित्तो थियो।
गाउँ चहारेँ। गाउँ पनि रित्तो थियो। गाउँलेका घर पनि परित्यक्त भइसकेका थिए। गाउँमा केही आधारहीन बुढाबुढी काल पर्खेर बसेझैँ लाग्दथ्यो। नवयुवक विदेशिएका थिए। विदेशबाट केही रकमको जोहो गर्न सक्नेले सहरबजारमा घरघडेरीको व्यवस्था गरेका थिए। गाउँ छोड्ने ताकमा थिए। गाउँमा अह्राउने कोही थिएनन्। शुन्यशुन्य थिए गाउँका घरहरू। बिरानो लाग्दथ्यो गाउँ। परित्यक्त लाग्दथ्यो गाउँ।
तपाईँले मलाई प्याट्ट भन्नुभयो-यो घरका सन्तानलाई सुकेनास लाग्यो होला। वा स्वार्थी भए होला नि त?
ऊ तपाईँकै छेउमा बसेर हाँस्न थालेको छ। म रुँदा ऊ हाँस्छ।
मैले तपाईँलाई भनेको छु-त्यसो होइन नि यार। पहिलाको मेरो त्यही घरको कुरा सुनाउँछु। म जन्मेर हुर्कँदै गर्दा त्यो घरमा मेरा हजुरबाहजुरआमाको सत्ता थियो। सत्तामा साझेदार एक्लो छोरो मेरो बुवा हुनुहुन्थ्यो।
हामी ६ दाजुभाइ र ४ बहिनी त्यही घरमा जन्मिएका हौँ। ३ बहिनीले बाल्यकालमै त्यही घरमा इहलीला बुझाएका पनि हुन्। हामी अरू भने पन्पिएका हौँ। तन्किएका हौँ। स्थायी हरुवाचरुवा (हलीगोठाला) तथा चाहिएका बखत जन (खेताला) हुन्थे। दर्जनौ गाई र भैँसी थिए।
चुरे पहाडका मुखैमा बस्ती भएकाले जीवन धान्ने महत्त्वपूर्ण चारकोसे झाडी थियो। त्यो अहिले रित्तो भएको घर पहाड र मधेस गर्ने आफन्तको महिनौँ बास बस्ने आश्रयस्थल थियो। अन्नपातले सत छोडेको थिएन।
परिवार तथा आफन्तले मात्र होइन, आएका गएका परपाहुनासमेतले भोकै बस्नु परेन त्यो घरमा। त्यस्तो ओखाइपोखाइ स्रोत थिएन। पुगेस्पुगेस थियो तर त्यो घरमा सह थियो। रोटो पिठोको अकाल भएन। गाउँभरिकै भरोसाको केन्द्र थियो त्यो घर।
सरकारका मान्छेका लागि खानासहितको बास थियो त्यो घर। सन्तानकै कुरा गर्ने हो भने त्यो घरको दानापानी खाएका हामी परिवारका सदस्य मात्र अहिले गन्यो भने सयको सङ्ख्यामा होला नि यार! सबैले आफ्नोआफ्नो गरेर खाएका छन् नि।
साँझ परेको थियो। मसँग खानेकुराको जोहो थिएन। पकाउनु थियो। खल्तीका पैसाले पेट भरिने अवस्था थिएन। यताउता गरेर छाक टारेको थिएँ। रात परेपछि घर रुँङ्ने गरेको घमन्डेको आगमन भएको थियो।
मैले यहाँ घमन्डे किन भनेको भने उसको नाम मलाई थाहा छैन र यदि उसको नाम भनियो भने पनि कसैले चिन्दैनन्। ऊ घमन्डे नामले नै चिनिन्छ गाउँमा। ऊ मेरो काका उमेरको हो। मैले एकोहोरिएर उसलाई हेरिरहेँ। ऊ पनि बूढो भएछ। कक्रक्क परेको छ।
तर मेरो बुवा सुत्ने खाटमा ऊ सुतेको थियो । मेरा बुवाका लाहुरी भैँसी र जर्सी गाई बाँध्ने गुवाली खाली थियो । बाख्राको खोर रित्तो थियो। तुलसीको मठ बेवारिसे देखिन्थ्यो। बुवाले कुँडे पकाउने ओदान उत्तानो परेको थियो।
पुरानो कुरा सम्झेँ। डिँगा असाध्य धेरै थिए-तर पउल घाँस थिएन। एक भारी घाँसका लागि दिनभरि लगाएर चुरे पहाड छिचल्नु पथ्र्यो। तर अहिले त्यो घरमा डिँगा थिएनन् तर घाँसले घर छोपेको थियो। समग्रमा त्यो घर परित्यक्त थियो।
यो सुनेर तपाईँ त घोरिनु भएको थियो। तर ऊ च्याँट्ठिएर भन्दै थियो – खुच्चिम। खान आएको थिइस्। खाइस्।
म चुप लागेँ ।
म चुप लागेको देखेर भर्खरै उसले मेरो मुटु छेड्ने गरी भन्यो—बडो इमोस्नल भएको छस् तँ। त्यो घर तेरो हो र?, तेरो नाममा छ र? तेरो हुकुम चल्छ र? त्यो घरले तँलाई पाल्न सक्छ र? त्यो घरलाई तैँले पर्गेल्न पाउँछस् र?
तपाईँले उसको कुरामा सही थाप्दै भनिहाल्नु भयो—हो त नि! जब आफ्नो होइन भने टाउको दुखाइ किन?
अनि मैले तपाईँलाई भन्दै छु-‘तपाईँले ठिक भन्नु भयो । हो म आज इमोस्नल हुँदैछु। वास्तवमा त्यो रित्तो घर मेरो नाममा छैन त के भयो ? मेरो हुुकुम पनि चल्दैन त के भयो? मलाई त्यो घरले पाल्न पनि सक्दैन त के भयो? तर म आज त्यो रित्तो घर देखेर चिन्तित भएको छु । विह्वल भएको छु। हो त्यही मेरो चिन्ताले भनिरहेको छ कि त्यो रित्तो घर, मेरो हो । याने मेरो पनि हो। पक्का मेरै घर हो। तपाईँले जतिसुकै बिब्ल्याँटो सोचे पनि त्यो मेरो घर हो।
तपाईँलाई केही त थाहा भयो होला मेरोलागि त्यो रित्तो घर किन महत्त्वपूर्ण छ भनेर। इमोस्नल भयो भनिठान्नु हुन्छ। हो म इमोस्नल नै भएको छु। किनभने त्यो घरसँग ममात्र जोडिएको छुइनँ।
त्यो घरमा जन्मिएर, पन्पिएर लाठे भएका र देशविदेशमा स्थापित भएका सबैको मुटुमा बसेकै छ त्यो घर। अहिले मेरो बुवाआमा अमेरिकामा बस्नुहुन्छ। परिस्थिति भनेको मान्छेभन्दा धेरै जब्बर कुरा रहेछ। देश, भाषा, संस्कृति धर्मभन्दा परिस्थिति जब्बर रहेछ।
तपाईँ मलाई भन्दै हुनुहुन्छ-गफाडी।
म तपाईँलाई फेरि त्यही रित्तो घरका बारेमा बताउँदै छु। त्यो बेला मेरा पितामाताका सन्तानले पढेको देखेर चार गाउँका मान्छे त्यो घरको बारेमा सह बोल्थे। भाग्यमानी भन्थे मेरा मातापितालाई। त्यो घरलाई। नाक उचालिएको थियो मातापिताको। तर समयले सबै छोरालाई प्वाँख लगाइ दियो।
उडाइ दियो। उमेर उकालो लाग्यो। मेरा मातापिताका धमनीले विश्राम खोज्न थाले। हातपाउले लौरो खोजे। चार गाउँमा भाग्यमानी कहलिएका मेरा पितामाता एक्ला हुन थाल्नु भयो। यद्यपि मेरा मातापिता त्यही घरमा मर्न चाहनु हुन्थ्यो-हुन्छ अहिले पनि।
तर नमरुन्जेल फेरि बाँच्नु त पथ्र्यो नि। परिस्थितिले पिताजीलाई ८८ वर्षे उमेरमा र माताजीलाई ८१ बर्से उमेरमा ४ भाइ छोरा बुहारी नातिनातिना बस्दै आएको अमेरिका भन्ने देशको ग्रिनकार्ड बनाएर भित्र्यायो। बुबाआमाका हातबाट सत्ता सकियो।
आफ्नो हातबाट सत्ता सकिनेबित्तिकै आमाबाबु साझे बन्न पुग्नु भयो । साझे मानसिकताका पनि त पीडा हुने भए नि। अहिले मेरा मातापितालाई खानलाउनबस्न त केही समस्या छैन। तर मूल समस्या भनेको बोल्नु कोसँग ? मनभित्र पाक्ने आरोहअबरोह पोख्नु कोसँग? आफ्ना जीवनमा गरेका जटिल काम तथा सुखदुःखको अनुभव सुनाउनु कसलाई? कसले सुन्छ र ती कुरा ? त्यसैले कहिलेकाहिँ भन्ने गर्नुहुन्छ-फर्कौँ क्यार नेपाल।
नेपाल फर्कौँ भन्नु त्यही रित्तो र धराशायी घरमा फर्कौँ भनेको हो । वलबैँस छैन। स्रोत छैन । हातगोडाका पाइन चल्दैनन्। सुद्धि र तागत दुवै छैनन्। उहाँहरूले सोचेको समाज छैन। गाउँ छैन। उहाँहरूले गुन लगाएका मान्छे कति त परमधाम पुगिसके।
कोही परमधामको यात्रा पर्खेर बसेका छन्। पछिल्ला ठेट्नाले मेरा मातापिताका कुरा बुझ्दैनन्। बुझ्न पनि केको दरकार? तर उहाँहरूको मनभरि त्यही रित्तो घर छ। फगत रित्तो घर।
आज यसो सम्झिरहेको छु कि वास्तवमा रित्तो हुनु यथार्थ हो रहेछ। जन्मदा मान्छे रित्तो जन्मन्छ र मर्दा पनि ऊ रित्तो खालीखलास हुन्छ। यी दुवै कुराहरू नौला होइनन्। सबैले सधैँ भनिआएका कुरा हुन्।
तर अचम्म छ, म किन आज यी जन्म र मृत्युमा पाइने रित्तोपनदेखि विरक्तिएको छु हँ? म आज किन यो संसारलाई रित्तो देख्न थालेको छु हँ? किन आफन्तलाई पनि रित्तो देख्छु हँ? म किन रित्तो हुँदै गएको छु हँ? म किन फरक हुन थालेँ हँ? यो रिक्तता परिवेशले जन्माउँछ कि मान्छेको (कु) बुद्धिले हँ ? बगेको खोला बगिरहन्छ।
कहिले धार परिवर्तन गर्ला, त कहिले सनातनी बग्ला। तर बगिरहन्छ। जन्मनु, मर्नु, बग्नु वा बगाइनु, स्वार्थ वा निस्वार्थ यी सबै सनातनीय कुरा हुन्। र, सनातनीय कुराभित्र सनातनीय रूपमा आइरहने रिक्तता सायद जीवनको पटाक्षेप हो। सम्झन्छु कि मेरो आफ्नै मन बैरी भएको छ भने को हुने मेरो आफ्नो ? सबै परित्यक्तवस्तु हुन्।
अहिले म अमेरिकामा बसेको छु। म अमेरिकामा बसेको छु भनेको सुन्नेबित्तिकै तपाईँले बिनाबुझे भन्न थालिहाल्नु हुन्छ कि अहो! अमेरिका। बरर डलर। याने अमेरिकाको रइसी सबै मेरै मुट्ठीमा छन् होला भनिठान्नु हुन्छ।
तपाईँले बुझेकै कुरा त्यत्ति हो। अनि के भन्नु त तपाईँले पनि? हुनतः तपाईँले भन्ने कुराले मलाई याने मेरो जीवनलाई के फरक पर्छ र? तपाईँ कुण्ठा फाल्नु हुन्छ, म पो किन व्यर्थमा चिन्तित हुने?
त्यसैले मैले यही रिक्तताका बिचमा बुझेको छु कि भौतिक वस्तु नाशवान छन्। मान्छे नाशवान प्राणी हुन्। मान्छेका नाम, सम्पत्ति तथा कायाकैरन सबैका सबै नाशवान छन्। इतिहास बनाउँछु भन्ने मोह पनि पाल्नै पर्दैन। किनभने इतिहास पनि मर्छ यार एक दिन। केही जीवित हुन्न। जिन्दगी खालीखलास।
तपाईँ सोच्दै हुनुहुन्छ संसार भरिभराउ छ। सुखसयल, ज्ञानअज्ञान, प्राप्तिअप्राप्ति तथा मायामोहका बन्धनले यो संसार पूर्ण छ। भौतिक तबरले हेर्दै हुनुहुन्छ। पूर्णताभित्र रमण गर्दै हुनुहुन्छ तपाईँ। तपाईँले भनेका कुरामा यो चाहिँ ठिक छ।
भौतिक संसारमा बसुञ्जेल त यही भौतिक सम्पत्ति, परिवार, आमाबाबु, छोराछोरी, लोग्नेस्वास्नी, नातिनातिनी, साथीभाइ, प्रियप्रेयसी सबैका माया, दया, दायित्व, सुखदुःखका अनुभवीय जीवन नै अमूल्य हो।
तर अर्को तरिकाले सोच्न थाल्नु भयो भने मेरो रित्तो घरजस्तै संसार रित्तो छ। संसारका यी सबै कुराहरू रिक्तता पर्खेर बसेका छन्। मेरा पुर्खाहरूले त्यही रिक्तताको बाटो अबलम्बन गरे।
मेरा पुर्खाको नाम मात्र थाहा पाउन पनि वंशावली असमर्थ भइरहेको अवस्था हो अहिले। मैले इतिहास निर्माणको फुर्ति गरेर के गर्नु यार? पुर्खाले जोरेको सम्पत्ति आँखै अगाडि रित्तो भएको छ। आफन्त सबैकासबै रिक्तताको यात्रामा छन्। जीवनको एउटा परमसत्य रिक्तता हो।
नेपालको करिब ६६ जिल्ला थोरबहुत घुमेको मान्छे हुँ म पनि। मैले पचासौँको सङ्ख्यामा गाउँहरू परित्यक्त भएको देखेको छु। हजारौँको सङ्ख्यामा परित्यक्त घरहरू देखेको छु। लाखौँ रोपनी खेतपाखाहरू परित्यक्त भएको देखेको छु। बाँझा र झाडी भएका छन् धनहर खेत।
हजारौँ बृद्धबृद्धा परित्यक्त भएको देखेको छु। सयौँ कुला र पधेँराहरू परित्यक्त भएको देखेको छु। तपाईँ काठमाडौँमा बसेर आफूलाई ठालु ठानिरहनु भएको छ भने पनि कुरा बुझ्नुहोस् कि तपाईँ आफैँ आफ्ना मातापिता वा गाउँघरलाई परित्यक्त बनाएर काठमाडौँमा चारआने हुनुभएको होला।
रैथाने नै हुनुहुन्छ भने पनि सयौँ धारापँधेरा तथा कुलाकुलेसा, पुलपुलेसा परित्यक्त भएको बलात् अधिग्रहणमा परेको कुरा यदि आँखा चिम्लनु भएको छैन भने देख्नु भएकै छ होला।
काठमाडौँ त सहरका सहर गायब भएको सहर हो। तपाईँ नै भन्नुस् त खोइ लिच्छविकालीन सहर? खोइ किरातकालीन सहर? खोइ तिनले बनाएका सभ्यताका परिचायक वस्तुहरू? ती सबै रित्ता छन्। फगत रित्ता छन्।
र, मेरो आँखाअगाडि मेरो रित्तो घर उभिएको छ। भोको पेट सुमर्न गाउँले विदेश हुत्तिएका छन् र मेरो गाउँ रित्तो भएर बाँच्दैछ। बेचिएको राष्ट्रवादले मेरो देश रित्तो हुँदैछ। रेमिट्यान्समा रमाएका रमणीय नेता जनतालाई भुलभुलैयामा राखेर आफैँ भुलेका छन्। तर ती पनि आसे छन्। रित्ता छन्।
असनमा अरबौँ सम्पत्ति भएको ‘अष्टमान’ सन्तानलाई विदेश निकासी गरेर आफ्नो रित्तो घर हेर्दै र दिग्दार महसुस गर्दैछ। पाल्पाकी थपिनी आमै आफ्ना स्याहारी नसक्ने खेतपाखोमा बनमारोको झ्याङको फोटो अमेरिकामै देखेर दिग्दार छिन्। खोटाङको ‘खड्गप्रसाद’ विदेशिएका सन्तानको साउँब्याज सम्झँदै बाउबाजेको छाला साह्यार्न नसकेर सिकिस्त छ।
गगनगौँडाको ‘गणेश गन्धर्व’, घनपुरको ‘घनेन्द्र’ सबैका सबै रित्ता महसुस गर्दैछन्। तर अचम्म छ यो रिक्तताका बाबजुद तपाईँ पूर्णता खोज्दै हुनुहुन्छ। मेरा मातापिता त्यही रिक्तताका बिचमा पूर्णता खोज्दै हुुनुहुन्छ। त्यही रित्तो र परित्यक्त घरमा पूर्णता खोज्दै हुनुहुन्छ। मृगतृष्णा भएको छ त्यो रित्तो घर। आफैँ म पूर्णता खोज्दै छु। उफ ! के हो यो पूर्णता ? कहाँ छ यो पूर्णता?
र, म फेरि त्यही रित्तो घरबाट साँझको बेला बाहिरिने मुडमा छु। झ्याउँकिरी घरैभित्रबाट सुनिने गरी कराइरहेका छन्। त्यो रित्तो घर बिक्रिको माल भएको छ। प्राविधिक मालिक मनभरि ग्राहक भिडाएर चुपचाप बसेको छ।
ऊ बोल्छ-अब त बुवाआमा अमेरिकाबाट आउनु भयो भने यो घरमा राख्न सकिन्न। पाल्न सकिन्न। थोत्रो छ घर। अपायक छ घर। अन्त लगेर पाल्ने खर्च चाहिन्छ। आमाबाबु मेरो मात्र हो र?
तर मेरा मातापिताको भने त्यही घरमा मर्ने घिडघिडो जस्ताको तस्तै छ। भन्नु हुन्छ-मेरा पिता/ससुराले आर्जेको हो त्यो रित्तो घर। हो त्यही रित्तो घर। हो त्यही रित्तो घर। के छैन त्यो रित्तो घरमा?
तर म भन्छु आमाबुबालाई कि नाशवान छ यो खोजिएको पूर्णता। पूर्णता आफैँमा अपूर्ण छ। तपाईँहरूले खोज्नुभएको पूर्णता भ्रम हो। त्यो रित्तो घर रामछाया हो। हाम्रा पुर्खाले यस्ता कैयौँ रित्ता घरहरू छोड्दै नयाँ सृष्टि गरेर यो संसारबाट विलिन भए। हराए। रिक्ततामा पुगे। वर्तमान यथार्थ हो जीवनको। बाँच्ने भनेकै वर्तमानले दिएको दायरामा हो। भूत अनुभव मात्र हो जीवनको। त्यसको केही काम छैन। भविष्य कल्पना मात्र हो। त्यो अनिश्चित छ। अप्राप्य छ।
र, म फेरि त्यही आफ्नै देशको, आफ्नै गाउँको रित्तो घरबाट बाहिरिएर हराएको छु। पलायन भएको छु। यथार्थवादी हुँ कि आदर्शवादी मलाई नै थाहा छैन। भौतिकवादी हुँ कि जीवनवादी मलाई नै थाहा छैन यति बेला। तर म फगत बाहिरिएको छु त्यही रित्तो घरबाट। त्यही रित्तो घरको सेन्टिमेन्टबाट। र, फेरि पनि त्यही रित्तो घरमा पूर्णता खोज्दै छु । मृगतृष्णा नै सही।
Facebook Comment