नगर सरसफाईसँगै इस्कोनको सचेतना सप्ताह शुरुवात

डिसी नेपाल
११ भदौ २०७९ १८:५५

बागलुङ । बागलुङ बजारको चिप्लेटी बसपार्कबाट शुरुभै बजारका विभिन्न ठाउँमा सरसफाई गर्दै सचेतना सप्ताहको शुभारम्भ गरिएको छ । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) नेपाल, बागलुङ शाखाको आयोजनामा हुन लागेको यस कार्यक्रमको शुभारम्भ बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बसपार्क क्षेत्रको बाटोमा झाडु लगाएर गरेका थिए ।

इस्कोन नेपाल, बागलुङ शाखाले वर्षेनी आयोजना गर्दै आएको सचेतना सप्ताह यस बर्ष पनि विशेष सन्देशमूलक कार्यक्रमहरु गरि सम्पन्न गर्दैछ । २०७९ भाद्र ११ देखि १७ गतेसम्म चल्ने यस सप्ताहव्यापी कार्यक्रमको शुरुवात नगर सरसफाई कार्यक्रमबाट भएको हो । नगर सरसफाई, वृक्षरोपण, योगध्यान प्रशिक्षण, जपध्यान यज्ञ तथा विभिद् सचेतनामूलक सेमिनारहरु सप्ताहव्यापी रुपमा चल्ने कुरा आयोजक संस्थाले जानकारी दिएको छ ।

कार्यक्रमका अध्यक्ष ईस्कोन नेपालका केन्द्रिय उपाध्यक्ष तथा बागलुङ शाखा प्रमुख परमेश्वर अच्युत दासले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए । आध्यात्माको गुढ रहस्य नै सरसफाई हो भन्दै उनले सरसफाई केवल वातावरणीय र शारीरीक कुराको मात्र नभई मानसिक एवम् आध्यात्मिक किसिमको पनि हुने र नगरसफाई , योग, ध्यान, जप अदिजस्ता कार्यक्रमले वातावरण, शरीर, मन तथा आत्माको पनि एकैसाथ मार्जन् गर्ने धारणा व्यक्त गरेका थिए ।

न्यु ओएसीस एकाडेमी, न्यु एभरेष्ट एकाडेमी, सिद्घार्थ शिक्षा सदन, चिल्ड्रेन लाइफ आवासीय विद्यालय, फ्युचर ब्राईटर माध्यामिक विद्यालय, गरीमा आवासीय विद्यालय, अमर आर्दश माध्यामिक विद्यालय, आदर्श माध्यामिक विद्यालय, कालिगण्डकी आवासीय विद्यालय, धौलागिरी आवासीय विद्यालय, युनिभर्सल सब्लाईम एकाडेमी, गुराँस विद्यासदन आदि गरि दर्जन बढी शैक्षिक संस्थाका विध्यार्थी तथा शिक्षकहरु कार्यक्रममा सहआयोजक एवम् स्वयम्सेवकको रुपमा नगर सरसफाई कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय बागलुङ, डिभिजन बन कार्यालय बागलुङ, नेपाल रेडक्रस सोसाईटी , जिल्ला शाखा बागलुङ आदि संस्थाले आवश्यक सामाग्री सहायता गरेका थिए ।

नगरप्रमुख श्रेष्ठले इस्कोन बागलुङका सबै कार्यक्रमहरु विगतमा पनि सचेतनामूलक र आकर्षक रहँदै आएको कुरा व्यक्त गर्दै यस सप्ताहव्यापी सचेतना कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा नगर उपप्रमुख राजु खड्का पनि सहभागी भएका थिए । पहिलो दिनको नगर सरसफाई कार्यक्रम चिप्लेटी बसपार्कबाट शुरु भै शहरका विभिन्न ठाउँको पनि सरसफाई सँगै ईस्कोन बागलुङको सत्सँग केन्द्र , शिवधाराचोक बागलुङमा पुगी सहभागीलाई खाजा वितरण गरि सम्पन्न भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *