समर्थन र विरोध बीच बालेनका अगाडि चुनौतीको चाङ

शरद रिजाल
१२ भदौ २०७९ ६:४७

काठमाडौं। काठमाडौं महानगरले राजधानीमा अवस्थित सरकारी तथा निजी ब्यबसायिक भवनका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ। महानगरका मेयर बालेन शाहको अग्रसरतामा भएको पछिल्लो कार्यको अधिकांशबाट उनलाईे प्रशंसा र समर्थन प्राप्त भइरहेको छ।

उनको कामप्रति कतिपय राजीतिक दलका नेताहरुले प्रशंसा गर्दै अगाडि बढ्न सार्वजनिक आह्वान समेत गरेका छन् भने केहीले उनको कामको आलोचना समेत सुरु गरेका छन्। उनको प्रशंसा गर्नेको तुलनामा आलोचना गर्नेहरु नगन्य मात्रामा छन्।एकाध आलोचना र बिरोधका बाबजुद् उनको प्रशंसा र समर्थनको क्रम चुलिँदो छ।

एउटै पार्टीका नेताहरुबाटै उनको कामको सर्मथन र बिरोधमा अभिब्यक्ति सार्वजनिक भएका छन्। एमाले र कां्रग्रेसभित्रैका कतिपय नेताहरुले उनलाई सर्मथन गर्दै निरन्तरता दिन आग्रह गर्दै गर्दा उक्त पार्टीका कतिपय नेताले बालेनको खुलेरै आलोचना गर्न लागेका छन्।

बालेनको सार्वजनिक जग्गा अतिक्रमण गरेर नक्सापास विपरीत बनाइएका संरचना भत्काउने अभियानलाई बाबुराम भट्टराई २०६८ सालमा प्रधानमन्त्री हुँदा काठमाडौंका सडक फराकिलो पार्न गरेको साहसिक कार्यसँग जोडेर दुबैको प्रशंसा गर्नेक्रम सामाजिक संजालमा बढेकोे छ।

बालेनको पछिल्लो कामको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई स्वयमले प्रशंसा गरेका छन्। उनले सामाजिक संजालमार्फत बालेनको कामको प्रशंसा गरेका हुन्। उनले बालेनको कामको प्रशंसा गर्दै निरन्तरता दिन आग्रह गरेका छन्।

एमालेका नेता महेश बस्नेतले बालेनको नक्सापास विपरीत बनाएका अवैध संरचना हटाउने अभियानप्रति ब्यंग्य गर्दै भवन भत्काउन डोजर चालक बनेर आउन भनेका छन्। उनको यस टिप्पणीप्रति सर्बत्र आलोचना भइरहेको छ।

एमालेकै अर्का नेता प्रदीप ज्ञवालीले कानूनविपरीत बनाइएका अबैध संरचना हटाउने कार्य सराहनीय भएको भन्दै प्रशंसा गरेका छन्। उनले कानूनविपरीत बनाइएका संरचना हटाउनु जायज भएको बताएका छन्। बालेनको उक्त कार्य सकारात्मक थालनी भएको उनको भनाइ छ।

कांग्रेसका उपसभापति धनराज गुरुङले बालेनको कार्यको खुलेरै प्रशंसा गरेका छन्। सामाजिक संजालमा बालेनको कामको उच्च प्रशंसा गर्दै गुरुङले लेखेका छन्, ‘शालिक बनाउने काठमाडौंको मेयरको निर्णय सुन्दा मलाई लागेको थियो-जुन जोगी आए पनि कानै चिरेकोर तर अनधिकृत रुपमा बनाइएका घर-टहराहरु भत्काउने कार्यको थालनी देख्दा केही फरकपन महसुस गरेको छु। यस कार्यको खुलेर प्रशंसा गर्छु।’

कांग्रेसका अर्का नेताले बालेनको अग्रसरतामा भएको पछिल्लो कार्यको बिरोध जनाएका छन्। कांग्रेस नेता तथा पूर्वमन्त्री मिन विश्वकर्माले बालेनको अवैध संरचना हटाउने कार्यलार्ई आतंक फैलाएको संज्ञा दिएका छन्।

बालेनको कामको आलोचना गर्दै ब्यबसायीलाई आतंकित नबनाउन उनले चेतावनी दिएका छन्। बालेनको उक्त कार्यले वर्तमान राजनीतिक प्रणालीलाई समेत आघात पुग्ने विश्वकर्माको आरोप छ।

यस्तै माओवादीको युवा संगठन वाइसीएलले बालेनको कामको प्रशंसा गर्दै उनको अवैध संरचना भतकाउनले अभियान स्वागतयोग्य रहेको बताएको छ। वाइसीएल अध्यक्ष सुबोध शेर्पालीले उनको काममा आफूहरुको समर्थन रहेको भन्दै अवरोध नगर्न चेतावनी समेत दिएका छन्।

पुर्वधारविज्ञ सूर्यराज आचार्यले अवैध संरचना हटाउनु सुखद् सुरुवात भएको बताएका छन्। उनले काठमाडौं ब्यबस्थित बनाउन मेयर बालेनको कार्य सकारात्मक भएको भन्दै खुलेरै प्रशंसा गरेका छन्। उनले यसलाई सकारात्मक र सराहनीय कार्य भन्दै निरन्तरता दिन आग्रह गरेका छन्।

काठमाडौं उद्योग बाणिज्य संघले बालेनको सो कार्यप्रति आपत्ति जनाएको छ। उसले ब्यबसायीलाई मेयरको यस्तो कार्यले हतात्साहित बनाउने आरोप लगाएको छ। बिहीबार महानगरले बानेश्वरमा रहेको अल्फबिटाको अवैध संरचना भत्काएसँगै विज्ञप्तिमार्फत आपत्ति जनाएको हो।

कतिपय ब्यक्ति र संस्थाले विरोध जनाएपनि बालेनको अग्रसरता र आँटलाई अधिकांशले प्रशंसा गरेका छन्। सामाजिक संजालमा भारतीय चलचित्र नायकका अभिनेता अनिल कपुरसँग दाजेर समेत उनको प्रशंसा गर्ने क्रम बढेको छ। उनले निजी क्षेत्रका ब्यबसायीको संरचनामात्रै होइन कानुनविपरीत भएका सरकारी निकायका संरचनासमेत हटाउनुले उनको प्रशंसा सामाजिक संजालमा झनै चुलिएको हो।

केही राजनीतिक दलका एकाध नेताको सीमित स्वार्थले गरिएको बिरोधबाहेक सबैतिरबाट उनको कामको प्रशंसा र स्वागत भइरहेको छ। मेयरमा निर्वाचित भएको करिब पाँच महिनासम्म निर्वाचनको बेलामा गरिएको प्रतिबद्धता बमोजिम काम नगरेको भन्दै उनको आलोचना सुरु भइरहेको अबस्थामा उनको पछिल्लो कदमको सर्वत्र खुलेर प्रशंसा भएको छ।

फोहर ब्यबस्थापनमा चुकेको भन्दै केही समयदेखि उनको आलोचना हुन थालेको थियो। ल्याण्डफिल स्थल नुवाकोटको बञ्चरेडाँडा तथा सिसडोलबासीले गरेको अवरोधका कारण फोहर ब्यबस्थापन हुन सकेको थिएन।

हाल स्थानीयबासकिो सहमति अनुरुप फोहर सहजै विसर्जन भइरहेको छ। फोहरको बिषयलाई लिएर उनलाई असफल बनाउने योजना अनुरुप त्यहाँका स्थानीय राजनीतिक दलका नेताहरुले फोहर फाल्न नदिने भन्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए।

केही समय फोहर ब्यबस्थापनमा आलोचित भएका उनी पछिल्लो कार्यको सबैले स्वागतयोग्य भन्दै प्रशंसा गरेका छन्। स्वतन्त्रबाट उम्मेदवारी दिएर विजय हासिल गरेका बालेनको हालको कामले एकाध असन्तुष्टिबाहेक सबैले उनको प्रशंसा गरेका छन्।

नक्सापास विपरीतका अवैध संरचना हटाउन पूर्वजानकारीसहित सुचित गर्दा समेत अटेर गरेकाले मेयरको अगुवाइमा अबैध संरचना भत्काउन सुरु गरेको महानगरले जनाएको छ। पूर्वसूचनालाई आलटाल गरेका कारणे आफ्नै नेतृत्वमा अवैध संरचना भत्काउने अभियान सुरु गरेको मेयर शाहको भनाइ छ। आगामी दिनमा अवैध संरचना हटाउने कार्र्यलाई निरन्तरता दिने उनको सचिवालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *