पाकिस्तानी कप्तान बाबर आजमले आफ्नो टोलीलाई पछिल्लो विश्वकप सम्झन भने
![पाकिस्तानी कप्तान बाबर आजमले आफ्नो टोलीलाई पछिल्लो विश्वकप सम्झन भने](https://www.dcnepal.com/wp-content/uploads/2022/01/Video-Babar-Azam-took-10-wickets-in-Bangladesh-Pakistan-captain.jpg)
काठमाडौं । एसिया कपको दोस्रो खेलमा आइतबार भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल दुबईमा हुँदैछ । दुवै देशका फ्यानहरू साँझ ७.३० बजेदेखि सुरु हुने यो खेलको प्रतिक्षामा छन् ।
तर, यो खेलअघि पाकिस्तानी कप्तान बाबर आजमको एउटा भिडियो निकै चर्चित भइरहेको छ । यस भिडियोमा उनले आफ्ना खेलाडीहरूलाई २०२१ को टी-२० विश्वकपको उत्कृष्ट प्रदर्शनलाई सम्झन आग्रह गर्दै जितका लागि प्रोत्साहन दिइरहेका छन्।
पाकिस्तान क्रिकेट बोर्डले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट यो भिडियो सेयर गरेको छ । यस भिडियोमा बाबर आजमले गत विश्वकपमा जसरी खेलेका थियौं, त्यही बडी ल्याङ्ग्वेजमा खेल्नुपर्ने बताइरहेका छन् ।
टी–२० क्रिकेटको पछिल्लो विश्वकप अक्टोबर र नोभेम्बरमा युएई र ओमानमा खेलिएको थियो । जसमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई हराउँदै उपाधि जितेको थियो । पाकिस्तानको टोली सेमिफाइनलमा पुगेको थियो ।
त्यही क्रममा अक्टोबर २४ मा भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको थियो । बाबर आजमले त्यही खेलतर्फ औंल्याएका छन् । यो जित यस अर्थमा विशेष थियो कि यसअघि पाकिस्तानले भारतलाई कुनै पनि एकदिवसीय वा टी-२० विश्वकपमा हराएको थिएन।
गत टी–२० विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनलाई सम्झन खेलाडीहरुलाई अपिल गर्दै उनले भने, ‘पछाडि फर्केर त्यो क्षण सम्झनुहोस् । याद गर्दा सबै कुरा आउन थाल्छ, यस्तै तयारी सुरु हुन्छ।’
उनले आफ्ना खेलाडीलाई आजको खेलमा अभ्यासका क्रममा जस्तो खेल खेल्न आग्रह गरिरहेका छन् । उनले खेलमा केही फरक गर्नुपर्ने अवस्था नरहेको बताए । उनले आफ्ना तीब्र गतिका बलरहरुलाई शाहिन अफ्रिदीको चोटका कारण उनको कमी महसुस हुन नदिन पनि अपील गरेका छन् ।
Facebook Comment