एसिया कपमा अफगानिस्तानपछि भारत पनि सुपर फोरमा

डिसी नेपाल
१६ भदौ २०७९ ११:१३

काठमाडौं । भारतीय क्रिकेट टोली एसिया कपको सुपर फोरमा प्रवेश गरेको छ । यस प्रतियोगितामा भारतीय टोलीले लगातार दोस्रो जित हात पारेको छ । योसँगै भारतीय टोली एसिया कपको सुपर फोरमा पुग्ने दोस्रो टोली बनेको छ ।

लगातार दुई जितसँगै अफगानिस्तान मंगलबार समूह ‘बी’ बाट सुपर फोरमा पुग्ने पहिलो टोली बनेको छ । बुधबार भएको खेलमा भारतीय टोलीले हङकङलाई ४० रनले पराजित गर्दै सुपर फोरमा आफ्नो पाइला राखेको हो । टस जितेर हङकङले भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

भारतीय टोलीले दुई विकेट गुमाएर १९२ रन बनाएको थियो । भारतीय इनिङ्समा सूर्यकुमार यादवले २६ बलमा अविजित ६८ र विराट कोहलीले ४४ बलमा अविजित ५९ रन बनाए । केएल राहुलले ३६ रन र कप्तान रोहित शर्माले २१ रनको योगदान दिए ।

लक्ष्य पछ्याएको हङकङको टोलीले २० ओभरमा पाँच विकेट गुमाएर १५२ रन बनायो। भारतका लागि भुवनेश्वर कुमार, अर्शदीप सिंह, रविन्द्र जडेजा र आवेश खानले एक एक विकेट लिए । यी बलरमा जडेजाले चार ओभरमा १५ रन मात्र दिए ।

भुवनेश्वर कुमारले १५ रन दिए । सूर्यकुमार यादवले आफ्नो ६८ रनको पारीमा चौका र छक्का बाट मात्र ६० रन बनाए । यस क्रममा उनले ६ चौका र ६ छक्का प्रहार गरे । उनको स्ट्राइक रेट २६१.५३ थियो।

पहिलो खेलमा भारतले पाकिस्तानलाई हराएको थियो । अब पाकिस्तानले पनि हङकङसँगको खेल जित्यो भने सेप्टेम्बर ४ (आइतबार) मा एसिया कपमा फेरि एकपटक भारत र पाकिस्तानबीचको खेल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *