धनधान्यकी देवी महालक्ष्मीको आजदेखि विशेष आराधना गरिँदै
काठमाडाैं। वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल सप्तमीअर्थात् आजैका दिनदेखि १६ दिन लामो महालक्ष्मी बर्त आरम्भ गरेका छन्। धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा यस पर्वलाई लिइन्छ ।
आजदेखि १६ दिनअर्थात् आश्विन कृष्ण सप्तमीसम्म विधिपूर्वक यो बर्त गरिन्छ। यस वर्ष असोज १ गते शनिबारसम्म यो बर्त गरिन्छ । यो बर्तका क्रममा ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर बर्त पूरा गर्नुपर्ने नियम छ।
प्रत्येक दिन हविष्य भोजनअर्थात् एक छाक फलाहार र दिनमा एकपटकमात्र नुन खाएर महालक्ष्मी बर्त गरिन्छ । सोह्र दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अघ्र्य दिने गरिन्छ । यसरी बर्त गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ। यो बर्त विशेष गरेर नारीले गर्ने गरेका छन् । यो बर्तले घरमा महालक्ष्मीको वास भई दुःख दारिद्रय नाश भई सुख शान्ति मिल्ने धार्मिक विश्वास छ।
साक्षात भगावन् शङ्करले यो बर्त विधि भगवती पार्वतीलाई बताएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले जानकारी दिए। यसका प्रभावले मृत्युपछि पनि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नाश हुने छ ।
देवराज इन्द्रले समेत महालक्ष्मीको बर्त एवं पूजा आराधना गरी महालक्ष्मी अष्टकम् नामक स्तोत्रसमेत रचना गर्नुभएको महालक्ष्मी बर्त विधिमा उल्लेख गरिएको छ। बिहान, मध्याह्न र साँझसमेत तीन पटक महालक्ष्मी अष्टकम् पाठ गरेमा धनधान्य, सुख वैभव प्राप्त गर्नुका साथै शत्रुसमेत नाश हुने उनले बताए।
प्रत्येक वर्ष भाद्र शुक्ल सप्तमीदेखि आश्विन कृष्ण सप्तमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण आमावास्या गरी तीन पटक विशेषरुपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा छ। आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि विशेष पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ।
Facebook Comment