पाकिस्तानी ब्याट्सम्यान खुशदिलले अन्तिम ओभरमा विनाश मच्चाए, बलरले बनाए विश्व कीर्तिमान
काठमाडौं । पाकिस्तानले उत्कृष्ट प्रदर्शन गर्दै एसिया कपको सुपर फोरमा स्थान बनाएको छ । शुक्रबार भएको खेलमा बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानी टोलीले हङकङलाई १५५ रनले पराजित गरेको हो । १९४ रनको लक्ष्य पछ्याएको हङकङको टोली ३८ रनमै अलआउट भयो । हङकङको हारको अर्थ अब आइतबार भारत र पाकिस्तानबीच भिडन्त हुने भएको छ ।
खेलमा खुशदिल शाहको प्रदर्शन उत्कृष्ट देखियो । चौथो नम्बरमा ब्याटिङ गर्न आएका खुशदिलले १५ बलमा अविजित ३५ रन बनाए । यस क्रममा फास्ट बलर एजाज खानले गरेको इनिङ्सको २० औं ओभरमा खुशदिल शाहले चार छक्का प्रहार गरे । वाइड बलमा इजाजले पाँच रन दिए । अर्थात् एजाजको ओभरमा जम्मा २९ रन बन्यो ।
२९ रन दिएर एजाज खानले लज्जास्पद कीर्तिमान पनि बनाएका छन् । एजाज खान अब संयुक्त रूपमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको २० औं ओभरमा सर्वाधिक रन दिने खेलाडी बनेका छन् । यसअघि रिचर्ड नगरवा, रुबेल हुसेन र उस्मान शिनवारीले पनि टी–२० अन्तर्राष्ट्रियको अन्तिम ओभरमा २९ रन खर्चेका थिए ।
जिम्बाब्वेका फास्ट बलर रिचर्ड नागरवाले गत वर्ष सेप्टेम्बरमा स्कटल्याण्ड विरुद्ध यो कीर्तिमान बनाएका थिए भने पाकिस्तानी बलर उस्मान शिनवारीले सन् २०१९ मा दक्षिण अफ्रिकाविरुद्ध यो कीर्तिमान बनाएका थिए । बंगलादेशका रुबेल हुसैनको कुरा गर्दा, उनले डिसेम्बर २०१२ मा वेस्ट इन्डिजको अन्तिम ओभरमा २९ रन दिएका थिए।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २ विकेट गुमाएर १९३ रन बनाएको थियो । मोहम्मद रिजवानले ५७ बलमा ७८ रन बनाएर अविजित रहे । अर्कोतर्फ फखर जमानले ५३ रनको योगदान दिए । हङकङका लागि एहसान खानले दुवै विकेट लिए । जवाफमा हङकङ मात्र ३८ रनमा अलआउट भयो । कप्तान निजाकत खानले सर्वाधिक ८ रनको इनिङ खेले । पाकिस्तानका लागि शादाब खानले चार र मोहम्मद नवाजले तीन विकेट लिए ।
१५५ रनको अन्तरले जित आईसीसीको कुनै पनि पूर्ण सदस्य देशको लागि टि २० अन्तर्राष्ट्रियमा दोस्रो ठूलो हो। यो कीर्तिमान हाल श्रीलंकाको नाममा छ । सन् २००७ को टी–२० विश्वकपमा श्रीलंकाले केन्यालाई १७२ रनले पराजित गरेको थियो । साथै हङकङले बनाएको ३८ रन पाकिस्तानविरुद्धको टी–२० अन्तर्राष्ट्रियमा टिमको सबैभन्दा कम स्कोर हो ।
Facebook Comment