एक हप्तामै आज दोस्रोपटक भारत र पाकिस्तान भिड्दै, बाबरको टिमले बदला लिन सक्ला ?
काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले आइतबार फेरि भारतको सामना गर्दैछ । शुक्रबार पाकिस्तानले हङकङलाई हराएपछि एसिया कपमा भारत र पाकिस्तानबीचको दोस्रो भिडन्तको टुङ्गो लागेको छ ।
एसिया कपको पहिलो सुपर फोरमा भारत र पाकिस्तानबीचको भिडन्त भन्दा रोमाञ्चक के हुन सक्छ ? त्यसैले क्रिकेटप्रेमीहरुको नजर दुबईमा सेप्टेम्बर ४ मा हुने यो खेलमा केन्द्रित छ ।
आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई हराएको थियो । यो हारका कारण पाकिस्तानले हङकङविरुद्धको खेल जुनसुकै हालतमा जित्नुपर्ने थियो । हङकङविरुद्ध सुस्त सुरुवात भए पनि मोहम्मद रिजवान र फखर जमानको अर्धशतकको मद्दतले पाकिस्तानको टोली १९३ रनमा पुग्न सफल भयो।
गर्मी र आर्द्रतामा रिजवानले विकेटमा अविजित ७८ रनको पारी खेले। अर्को तर्फ जमानले राम्रो साथ दिए ।
दुई विकेटमा १९३ रन बनाएपछि पाकिस्तानका स्पिन बलर शादाब खान र मोहम्मद नवाजले सात विकेट लिएर हङकङलाई ३८ रनमै आउट गरे । हङकङले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन देखाएको थियो, तर पाकिस्तानको अगाडि टोली पूर्ण रूपमा निस्तेज थियो।
हङकङमाथि १ सय ५५ रनले जित हासिल गरेपछि भारतका अगाडि पाकिस्तानी टोलीको मनोबल उच्च छ र टोलीको नियत अघिल्लो हारको लेखाजोखा मिलाउने छ । भारत र पाकिस्तानबीचको कुनै पनि खेललाई लिएर क्रिकेट प्रेमीहरूमा निकै उत्साह हुन्छ ।
सन् २०१२-१३ यता दुई टोलीबीच कुनै पनि आपसी शृङ्खला भएको छैन तर आइसीसी प्रतियोगितामा दुई टोलीबीच खेल भरहेको छ । टी-२० विश्वकपअघि एसिया कप घोषणा गर्दा दुवै टोलीले बढीमा तीन पटक भिड्ने अपेक्षा गरिएको थियो।
दोस्रो खेलपछि फाइनलमा दुवै टोली फेरि आमनेसामने हुने सम्भावना धेरै छ । समूह ए मा भारत र पाकिस्तान शीर्ष स्थानमा छन् भने समूह बी बाट श्रीलंका र अफगानिस्तान सुपर फोरमा परेका छन् ।
भारत र पाकिस्तानबीचको यो खेलमा एकपटक फेरि जनताको नजर बाबर आजम र विराट कोहलीमाथि हुनेछ । बाबर आजमले अहिलेसम्म दुवै खेलमा खास केही गर्न सकेका छैनन् ।
भारतका तर्फबाट भुवनेश्वर कुमारले उनलाई बाउन्सरमा आउट गरेका थिए भने हङकङका स्पिनर एहशान खानले आफ्नै बलमा उनको उत्कृष्ट क्याच लिएका थिए । बाबर आजम एसिया कपअघिसम्म निकै तीव्र गतिमा ब्याटिङ गरिरहेका थिए ।
उनले क्रिकेटका तीनवटै फर्म्याटमा लगातार रन बनाएका थिए । यसै वर्ष जुलाईमा श्रीलंकाविरुद्धको पहिलो टेस्टमा बाबरले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १० हजार रन पूरा गर्ने कीर्तिमान बनाएका थिए । बाबरले २२८ इनिङ्समा यो करिश्मा गरेका छन् ।
यसअघि यो कीर्तिमान पाकिस्तानका जावेद मियाँदादको नाममा थियो, जसले २४८ इनिङ्समा यो कीर्तिमान बनाएका थिए । पाकिस्तानका पूर्व ओपनर सईद अनवरले २५५ र मोहम्मद युसुफले २६१ इनिङ्समा यो करिश्मा देखाएका थिए भने इन्जमाम उल हकले यसका लागि २८१ इनिङ खेल्नुपरेको थियो ।
बाबर आजम यति उत्कृष्ट ब्याट्सम्यान हुन् भन्ने यो लिस्टबाट अनुमान लगाउन सकिन्छ ।
बाबर आजमले एकदिवसीय क्रिकेटमा विराट कोहलीको शासन तोडेका छन् । अगस्ट २०१७ र अप्रिल २०२१ को बीचमा, विराट कोहली निस्सन्देह विश्व क्रिकेटको शीर्ष खेलाडी थिए तर आईसीसी विश्व वरीयतामा उनको १२५८ दिनको शासन बाबर आजमले ध्वस्त पारे।
यतिबेला विराट कोहली पनि आफ्नो फर्म फर्काउन संघर्ष गरिरहेका छन् । तीन वर्षभन्दा बढी समयदेखि उनले अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका छैनन्। पाकिस्तानविरुद्धको उद्घाटन खेलमा कोहलीले ३५ रन बनाएका थिए भने हङकङविरुद्ध ४३ बलमा अविजित ५९ रनले उनको आत्मविश्वास बढाएको थियो।
यद्यपि बाबर आजम र विराट कोहलीको तुलना लामो समयदेखि भइरहेको छ र चाखलाग्दो कुरा के छ भने, यो तुलना बाबर आजमको सन् २०१५ मा अन्तर्राष्ट्रिय डेब्यू हुनुअघि नै सुरु भएको थियो। यसको कारण के हो भने अन्डर १९ खेलाडीका रुपमा उनले करिश्मा देखाउन थालेका थिए ।
बाबर आजमले डेब्यु गर्दासम्म विराटले १५० भन्दा बढी एकदिवसीय खेल खेलिसकेका थिए र उनको नाममा २० भन्दा बढी शतकहरू थिए। तर समयसँगै बाबरले आफ्नो क्षमता व्यक्त गरेका छन् ।
बाबर आजमले २०२२ मा सबैभन्दा छिटो २ हजार रन पुरा गर्ने कीर्तिमान बनाएका थिए, उनले ४७ खेलमा यो करिश्मा गरेका थिए भने कोहली ५६ खेलपछि यो चरणमा पुगेका थिए ।
सन् २०२१ को टी–२० विश्वकपमा पाकिस्तानसँगको १० विकेटको हारबाट बाहिर निस्कनको लागि भारतीय टोलीसामु गत आइतबारको खेलमा दबाब बढेको थियो ।
पाकिस्तानसँग पराजित भएपछि भारतीय टोली टी–२० विश्वकपको अन्तिम चारमा पुग्न सकेन । तर एसिया कपको पहिलो खेल जित्दा दोस्रो खेलमा पाकिस्तानको टोली दबाबमा छ ।
रोहित शर्मा र टोलीका अन्य खेलाडीको मनोबल पनि बढेको छ किनभने टी–२० क्रिकेटमा भारतको पल्ला पाकिस्तानमाथि भारी छ । यी दुई टोलीबीच हालसम्म १० वटा टी–२० खेल भएका छन् जसमा भारतले ८ जित हात पारेको छ ।
भारतका लागि सबैभन्दा ठूलो राहत भनेको पाकिस्तानका तिब्र गतिका बलर शाहिन शाह अफ्रिदी प्रतियोगिताबाट अनफिट हुनु हो । पाकिस्तान क्रिकेट बोर्डका अनुसार उनी टि–२० विश्वकपअघि पूर्णरुपमा फिट हुनका लागि आफ्नो फिटनेस पुनः प्राप्त गर्न लन्डन गएका हुन् ।
अर्कोतर्फ भारतीय अलराउन्डर रविन्द्र जडेजा पनि अनफिट भएपछि उनको स्थानमा अक्षर पटेललाई समावेश गरिएको छ, जडेजाले टी–२० विश्वकपसम्म पूर्ण रुपमा निको हुने अपेक्षा गरिएको छ ।
जडेजाको अनुपस्थितिले एसिया कपमा पनि टिम इन्डियाको समस्या बढेको छ । किनभने जडेजाले बल र ब्याट दुबैमा योगदान दिने अलराउन्डरको रूपमा धेरै पटक आफ्नो क्षमता देखाइसकेका छन्। टोलीमा उनको उपस्थितिले एक प्रकारको सन्तुलन र विपक्षी टोलीहरूमा दबाब सिर्जना गर्दछ।
जसप्रित बुमराह र हर्षल पटेल एसिया कपमा सहभागी हुन भारतीय टोलीमा थिएनन् र अब जडेजा बाहिरिएपछि रोहित शर्माले आफ्ना खेलाडीहरूलाई सावधानीपूर्वक प्रयोग गर्नुपर्नेछ।
यद्यपि, हार्दिक पाण्ड्याले पाकिस्तानविरुद्ध उत्कृष्ट खेल देखाएका छन् र उनी कुनै पनि चुनौती सामना गर्न पूर्ण रूपमा तयार देखिन्छन् ।
तर, रोहित शर्मा र प्रशिक्षक राहुल द्रविडको जोडीले ऋषभ पन्तलाई यो खेलमा मौका दिने वा नदिने भन्ने सबैभन्दा ठूलो प्रश्न हो । पाकिस्तानविरुद्धको पहिलो खेलमा पन्तको स्थानमा दिनेश कार्तिकलाई समावेश गरिएको थियो तर पन्तले हङकङविरुद्ध मौका पाएका थिए ।
पछिल्लो समय ऋषभ पन्त भारतको सबैभन्दा ठूलो म्याच विनरका रूपमा उभिएका छन्, त्यसैले उनलाई पाकिस्तानविरुद्धको अन्तिम खेलमा समावेश नगरेकोमा निकै आलोचना भएको थियो ।
यसका साथै भारतीय ब्याट्सम्यान सूर्यकुमार यादवमाथि पनि नजर रहनेछ । उनले हङकङविरुद्ध २६ बलमा अविजित ६८ रन बनाएका थिए ।
उनले भारतका लागि अहिलेसम्म २५ टी–२० खेल खेलेका छन् । त्यसमा उनले एक शतक र ६ अर्धशतक बनाएका छन् भने उनको ब्याटिङ स्ट्राइक रेट १७७ भन्दा बढी छ । टी-२० विश्वकपको हिसाबले उनलाई भारतको उत्कृष्ट ब्याट्सम्यान पनि मानिन्छ।
धेरै विश्लेषकहरूले विराट कोहलीको सट्टा उनलाई तेस्रो नम्बरमा खेलाउन माग गरिरहेका छन्। यसको कारण टोलीको आवश्यकता अनुसार पेस र स्पिन बलिङमा समान शैलीमा रन बनाउने अर्को ब्याट्सम्यान टोलीमा नदेखिएको हो ।
२०१८ को एसिया कपमा भारत र पाकिस्तानका टोली दुई पटक आमनेसामने भएका थिए र दुवै पटक जित भारतको नाममा थियो । यस वर्ष भारतले पहिलो खेल जितेको छ भने टोली दोस्रो खेल पनि जित्न तयार देखिन्छ ।
Facebook Comment