एसिया कपबाट बाहिरिनेबित्तिकै बंगलादेशका स्टार खेलाडी मुस्फिकर रहिमले सन्यास लिए
काठमाडौं । बंगलादेशका स्टार विकेटकिपर ब्याट्सम्यान मुस्फिकर रहिमले एसिया कप २०२२ सिजनमा निकै खराब प्रदर्शन गरेपछि सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय मुस्फिकरले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् ।
मुस्फिकर रहिम आफैंले सामाजिक सञ्जालमा पोस्ट गर्दै यसको जानकारी दिएका छन् । योसँगै उनले सन्यास लिनुको कारण पनि खुलाएका छन् । मुस्फिकरले आफूले फ्रेन्चाइज लिग खेल्न जारी राख्ने बताए ।
स्टार विकेटकिपरले ट्वीटमा लेखेका छन्, ‘म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्छु । अब म आफ्नो पूरा ध्यान टेस्ट र एकदिवसीय क्रिकेटमा केन्द्रित गर्न चाहन्छु। म फ्रेन्चाइज लिग खेल्न उपलब्ध हुनेछु, जहिले र जहाँ मौका पाउँछु, म खेल्नेछु। अब म अर्को दुई ढाँचा (टेष्ट, एकदिवसीय) मा मेरो देशको प्रतिनिधित्व जारी राख्नेछु।
I would like to announce my retirement from T20 INTERNATIONALS and focus on Test and ODI formats of the game. I will be available to play franchise leagues when the opportunity arrives. Looking forward to proudly represent my nation in the two formats-MR15
— Mushfiqur Rahim (@mushfiqur15) September 4, 2022
यसपटकको एसिया कपमा बंगलादेशको प्रदर्शन निकै खराब रह्यो । टोलीले समूह चरणमा एक खेल पनि जित्न सकेन र बाहिरिएको थियो। अफगानिस्तान र श्रीलंकाले बंगलादेशलाई हराए । एसिया कपको पछिल्लो दुई सिजनमा बंगलादेशले फाइनल खेलेको थियो । जहाँ बंगलादेश भारतीय टोलीसँग पराजित भएको थियो ।
यसपटकको एसिया कप टी–२० फर्म्याटमा खेलाइँदैछ । यसमा मुस्फिकरको प्रदर्शन पनि निकै कमजोर रह्यो । उनले दुवै खेलमा ५ (१+४) रन मात्र बनाएका थिए । यसअघि उनले जिम्बावेविरुद्धको एकदिवसीय क्रिकेटमा खाता पनि खोल्न सकेनन् ।
मुस्फिकरले आफ्नो करियरमा ८२ टेस्ट, २३६ एकदिवसीय र १०२ टी-२० खेल खेलेका छन्। यस अवधिमा उनले टेष्टमा ५ हजार २ सय ३५ रन, एकदिवसीयमा ६ हजार ७ सय ७४ र टी–२० मा १ हजार ५ सय रन बनाएका छन् । यी बंगलादेशी स्टारले टेस्टमा ९ र एकदिवसीयमा ८ शतक प्रहार गरेका छन् । टी–२० मा उनको नाममा ६ अर्धशतक छ ।
Facebook Comment