बाबर आजमको टि-२० बरियतामा ११५५ दिनको दबदबा खोसियो
काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानी टोलीले राम्रो प्रदर्शन गरिरहेको छ । तर उसका कप्तान बाबर आजमलाई झट्का लागेको छ । आईसीसी टी–२० वरीयतामा बाबर आजमको नम्बर एक कुर्सी खोसिएको छ । तर नयाँ नम्बर एक खेलाडी पनि आफ्नै देशका आउनु पाकिस्तानका लागि खुशीको कुरा हो ।
मोहम्मद रिजवान अब टी–२० वरीयतामा नम्बर एक ब्याट्सम्यान बनेका छन् । मोहम्मद रिजवान एसिया कपमा उत्कृष्ट लयमा छन् । अहिलेसम्म खेलेका तीन खेलमा रिजवानले १९२ रन बनाएर पाकिस्तानको जितमा महत्वपूर्ण भूमिका खेलेका छन् । पाकिस्तान एसिया कपको पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।
तर त्यस पछि पाकिस्तानले हङकङलाई हराएको थियो र यो खेलमा रिजवानले अविजित ७८ रन बनाएका थिए । जहाँ सुपर–४ मा भारतसँगको खेलमा पाकिस्तान विजयी भएको थियो भने यस खेलमा पनि मोहम्मद रिजवानले ७१ रन बनाएका थिए ।
टी–२० वरीयतामा पाकिस्तानका तीन ब्याट्सम्यान मात्र शीर्ष स्थानमा आएका छन् । बाबर र रिजवान बाहेक मिसबाह उल हक मात्रै नम्बर एकमा पुगेका छन् । आईसीसीको टी–२० वरीयताको शीर्ष १० मा भारतसँग एक मात्र खेलाडी छन् र त्यो चौथो नम्बरमा रहेका सूर्यकुमार यादव हुन् ।
Facebook Comment