अफगानिस्तान क्रिकेटका पूर्व सीईओले शोएब अख्तरलाई भने – आइन्दा देशलाई बीचमा नल्याउनू
काठमाडौं । शारजाहमा बुधबार भएको एसिया कपमा पाकिस्तान र अफगानिस्तानबीचको खेलमा पाकिस्तानी ब्याट्सम्यान आसिफ अलीको व्यवहारपछि सामाजिक सञ्जालमा दुवै देशका सेलिब्रेटीहरू भिड्दैछन् ।
खेलका क्रममा पाकिस्तानी क्रिकेटर आसिफ अली र अफगानिस्तानका बलर फरीद अहमदबीच भिडन्त भएको थियो । आसिफ अलीले फरीद अहमदमाथि ब्याट उठाएपछि दुईबीच शब्दको युद्ध भयो ।
यसपछि सामाजिक सञ्जालमा अफगानिस्तान र पाकिस्तानले आ–आफ्नो तरिकाले यस विवादमा आफ्नो राय दिइरहेका छन् । यसैक्रममा पाकिस्तानका पूर्व क्रिकेटर शोएब अख्तरले मैदानमा खेलाडीहरूबीच विवादपछि स्टेडियममा फ्यानहरूबीच भएको झगडाको भिडियो पोस्ट गरेका छन् ।
यस भिडियोमा अफगानिस्तान क्रिकेटका पूर्व सीईओ शफिक स्टानिकजाईलाई ट्याग गर्दै शोएब अख्तरले लेखेका छन्, “यो सब कर गर्छन् अफगान फ्यानहरू। यी मानिसहरूले यसअघि पनि यसो गरिसकेका छन्। यो खेल हो र यसलाई सही तरिकाले लिनुपर्छ। शफिक स्टानिकजाई यदि तपाईं चाहनुहुन्छ भने यस खेलमा अगाडि बढ्नको लागि तपाइँका खेलाडी र फ्यानहरूले केहि चीजहरू सिक्नुपर्नेछ।”
शफिक स्टानिकजाईले एक ट्वीट मार्फत शोएब अख्तरको यो बयानको जवाफ दिएका छन्।
उनले ट्विट गरे, “तपाईं भीडको भावनालाई नियन्त्रण गर्न सक्नुहुन्न। क्रिकेटमा यस्ता घटना पहिले पनि भइसकेका छन्। तपाईंले कबीर खान, इन्जिमाम भाइ र राशिद लतिफलाई सोध्न सक्नुहुन्छ कि हामीले उनीहरूसँग कस्तो व्यवहार गरेका छौं। सुझाव दिनुहोस्। अब देशलाई बीचमा नल्याउनुहोला ।”
यसअघि स्टानिकजाईले आउट भएपछि आसिफ अलीले जसरी व्यवहार गरेका थिए, उनलाई एसिया कप खेल्न दिन नहुने बताएका थिए ।
Facebook Comment