नेपालीभाषीलाई अमेरिकामा राष्ट्रिय अवार्ड
तारा दाहालले पाए इम्युनाइजेसन च्याम्पियन अवार्ड

ओहायो, अमेरिका। नेपाली भाषी तारा दाहालले अमेरिकाको ओहायो राज्यबाट इम्युनाइजेजन च्याम्पियन अवार्ड हात पारेका छन्।
एसोसियसन अफ इम्युनाइजेन मेनेजर (एआइएम) र सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडीसी) ले संयुक्त अधिराज्य अमेरिकाभरिबाट २८ जनालाई यो अवार्ड प्रदान गरेको थियो, जसमा ओहायो राज्यबाट तारा दाहालले यो अवार्ड हात पारेका छन्।
यो अवार्डबाट सम्मानित हुने सम्भवत उनी पहीलो नेपालीभाषी हुन्। ओहायो राज्यमा १ करोड १५ लाखभन्दा बढी जनसंख्या रहेको छ। ‘यो अवार्ड पाएको खबर सुन्दा शुरुमा बिश्वासै लागेन ’ पुकलित स्वरमा डिसी नेपालसगको कुराकानीमा भने ‘तेस्रो देशमा आएर पाएको यो अवार्डलाई आफूमात्र नभएर आफ्नो समुदायको ठूलो सफलताको रुपमा लिएको छु।’
हरेक राज्यको स्थानीय तहमा रहेर खोपको क्षेत्रमा ससत्त र उदाहरणीय काम गर्नेहरुबाट छानेर हरेक वर्ष सर्वोकृष्टलाई च्याम्पियन अवार्ड प्रदान गरिन्छ। एआइएमले २२ अगष्टमा अमेरिकाभरिबाट उनीसहित विभिन्न राज्यबाट २८ जनालाई यो अवार्ड प्रदान गरेको घोषणा गरको हो।
‘यति ठुलो जनसंख्या रहेको यो राज्यबाट उहाँले यो अवार्ड पाउनु हामी सबै नेपाली भाषीको लागि निकै ठूलो गर्वको विषय हो ओहायोकै चिलीकथेको होपवेल हेन्थ सेन्टरमा लामो समयदेखि चिकित्सकको रुपमा कार्यरत तथा कोलम्बसका नेपालीहरुको संस्था सेन्टर ओहायो नेप्लिज एसोसियसन (कोना) का अध्यक्ष डा. दामोदर पौडेलले भने , ‘तेस्रो देशमा आएर उहाले नेपालीभाषीका लागि होहल्ला नगरी निस्वार्थ भावमा जे गरिरहनु भएको छ, त्यसैको प्रतिफल हो यो।’
भुटानको साम्ची जिल्लाको दोरोखामा जन्मेर नेपालमा २ दशक भन्दा बढी समय विताएका उनी हाल अमेरिकाको सिन्सीनाटी शहरमा बस्दै आएका छन्। नेपाली भाषी भुटानीका हरेक तह र तप्काका समस्यामा हातेमालो गर्दै आएका उनी निश्वार्थ रुपमा समुदायको परोपकारी काममा आफ्नो दरिलो र गर्विलो उपस्थिति देखाउदै आएका छन्। सिन्सीनाटी शहरमा झण्डै १७ देखि २० हजार हाराहारी भुटानी नेपाली रहेको बताइन्छ। ग्रेटर सिन्सीनाटीभित्र कोल्रेन, फोरेस्टपार्क, फेयरफिल्ड, लिवर्टी, बेष्ट चेष्टर, मोन्रो, मेसन शहरमा धेरै भुटानी नेपाली बस्छन् ।
कोरोनाको ठुलो आतंकको समयमा घरघरमा पुगेर अनगिन्ती सिन्सीनाटीबासी नेपालीभाषीलाई ताराले गरेको सहयोग निकै प्रशंशित भयो। सिन्सीनाटीको हेमल्टन काउन्टी पव्लिक हेल्थ त कहिले कोल्रेन टाउनसिप अफ फायर डिपार्टमेन्ट अनि कहिले विभिन्न हस्पिटलसगको सहकार्यमा २ हजारभन्दा बढीलाई वृहत कोरोनाको खोप लगाउने कार्यक्रम सम्पन्न गरेका थिए । उनले नेपालीभाषीका घरघरमा गएर समेत खोप लगाउने कार्यक्रम गरेका थिए।
उनकै नेतृत्वमा नेपाली भाषा तथा कला केन्द्र विदेशी भुमिमा संचालित छ जसले यही जन्मे हुर्केका नेपाली मुलका बालबालिकालाई नेपाली भाषा सिकाउँछ । नेपालीभाषीको निकै ठुलो जनसंख्या भएको ग्रेटर सिन्सीनाटीमा नयाँँ पुस्तामा भाषामा जागरण ल्याउन ठुलो भुमिका खेलिरहेको छ।
Facebook Comment