अन्तिम मेसेज
डियर प्रेमीका !
आज किन-किन यत्ति लेख्ने साहस हरेको छु। मप्रतिको सम्पूर्ण वैरभाव रिस-राग त्यागेर एक-एक शब्द मनन गरिदिनुहुन विनम्र आग्रह गर्दछु।
हजुरप्रति अति नै लोयल, आदरभाव र सम्मानसहित समर्पित रहेँ। उमेर, विचार र बुझक्कीपनले होला बजारमा देखिने प्रेमप्रतिको सस्तो पागलपन देखाउन चैँ कहिल्यै सकिन। क्षमा चाहन्छु। सधैँ सिधा रहेँ, सधैँ प्रष्ट रहेँ। सम्बन्धमा अनावश्यक कुराको झगडाले शान्त रहन रुचाउने म प्रकृतिलाई अलिकति असहज भयो होला।
म पनि झर्किएँ हुँला । यही समाजको सदस्य हुँ, सिको गरेर कहिलेकाहीँ विषय अतिरञ्जित हुँदा गाली पनि गरेँ हुँला तर, म हजुरले लेख्ने कुरामा होस्, या पढ्ने कुरामा या राजनैतिक विचार र सक्रियता हरेक कुरामा नाइँ नास्ति गर्ने पक्षमा थिइनँ, गरिन पनि।
सम्बन्धमा स्वतन्त्र भएर दुवैले आफ्नो इच्छा, रुचि, विचार र सपनामा जिउन मन पराएकै हौँ। भोलि भन्दिनँ, आज जति सक्छु गर्छु भन्ने स्टण्डमा थिएँ। म झुटो आश्वासन देखाएर आकाशको तारा झारेर रात कटाइन सकिनँ। यथार्थमा रहेँ, परदेशमा थिएँ, कामलाई प्राथमिकतामा राखेँ। कामबाहेक किचन र सुत्ने समयबाहेक म सदा हजुरका लागि हाजिर थिए। तर, जीवन यस्तो पनि हैन, एक दिन वा दुई दिन नबोल्नु सम्बन्ध सकिन होइन महारानी। तेस्रो दिन त हाम्रै थियो, हाम्रै हो नि।
कमजोर, कम्पारिजन र करिअरजस्ता हरदिनका डिमोटिभेट कुराले म विस्तारै ह्याङ भएपछि कहिलेकाहीँ दिक्क भएर म पनि त रिसाएँ हुँला। म व्यास, बुद्ध र महावीर कहाँ हुँ र! सम्बन्धमा होस् या हाम्रा दैनिकीमा एकदमै नचाहिने कुरामा जो पनि झर्किएला म पनि झर्किएँ हुँला, नगरौँ भनेर। प्रेम सम्बन्धमा छौँ, उमेरका हौँ ।
रहर, उत्सुकता र प्रेमले पनि प्रेमिल भावका कुराकानी हुन पर्ने तर हरेक कुरामा तर्क, वितर्क र राजनीति। यतिमै सीमित भए त हुने हो। फलानो ठिक तँ खराब। फलानो बौद्धिक तँ बौद्धिक। फलानो जाती तँ बेकारको। साँच्चै, म सम्बन्धमा विस्तारै हैरानी महसुस गरिरहेको थिएँ।
हो, एकाध ब्लक गरियो तर सम्बन्ध टुङ्गाउने कसी त्यो थिएन। हजुरहरू त न्यायिक प्रणाली र व्यवस्थाको कुरा गर्ने, मेसेन्जरमा झगडा भएर एकदिन ब्लकमा राख्नु नै सम्बन्ध सकिनु हो र ? सम्बन्धको निसाफ सञ्जाल नै हो त ? हरेक दिनको तर्करवितर्क, आरोपरप्रत्यारोप सुन्नु पर्ने, आफूले सुनाउन खोज्दा नसुन्दिने अवश्य एक पक्षीय भइयो भने जो कोही रिसाउँछ। लोकतन्त्रको परिभाषा छाँट्ने, मार्क्सवादका सिद्धान्त ओकल्ने, अधिकार र स्वतन्त्रताको वकालत गर्ने फेरि दोस्रोको राय, विचार र पीडा सुन्दिन भन्ने नसुन्ने ?
पहिला त फोन कल काटेर आफ्नो काममा लाग्थेँ। तर, हजुरको कल आइरहन्थ्यो। फेरि उही कुरा हुन्थ्यो। त्यसपछि बल्क गर्यो। बरु दुई दिनसम्म शान्त बस्यो। त्यता रिस मर्थ्यो, यता प्रेम चुलिन्थ्यो। त्यही त हो नि सम्बन्धमा झगडै-झगडा गर्यो, फेरि फकायो।
एउटा पानी भयो, निभायो। मैले दुइ या तीन दिनपछि फेरि आफैँले कल गर्थेँ। तर, अब अर्को विषय थपिन्थ्यो ‘ब्लक गरिस्।’ प्रवास, काम र लेखनको रुचि भएको म अलिकति टेन्सनले टाउको दुख्छ भनिरहन्थेँ। कम्तीमा मलाई हजुरको कुराको टेन्सनले काममा समस्या नहोस् पनि चाहन्थेँ। दुवै लेख्ने हौँ, सिर्जनशील वातावरण पो चाहिने हो । किन हामी एक अर्काप्रति क्रूर बनिरहेका छौँ ? बारम्बार भन्थेँ।
पछिल्ला समय हेर्नुहोस् त। सम्बन्ध सकिएपछि पनि हजुरले तीनपटक कल गर्नुभयो। यसो हेर्दा हजुरले नै कल गर्न खोजेकोजस्तो देखिन्छ र मैले बेवास्ता गरेर चुप बसेजस्तो देखिन्छ तर डेढ महिनापछिको तीन दिनको तीन कलमा लगातार कुरा बटारेर कता-कता लगेर को-को जोडेर एक अर्कमा घोचपेच गरियो। जो म आफैँलाई नमज्जा लाग्छ। मैले साथीलाई पनि भनिरहन्छु, ‘म यस्तो शब्द पनि उच्चारण गर्छु ? म यस्तो हरकत पनि गर्छु ? यस्तो कदापि लाग्दैन थ्यो।’ तर, अति भएपछि नै रहेछ अतिवृष्टि हुनु।
हिजैको कुरामा जाऔँ। हजुर आफैँ बोल्न आएको हो। सम्बन्ध सकिएको डेढ महिनापछिको तीन कलमा तीनै दिनको झगडा र भनावैरी पछि पाँच महिना बोलेका हैनौँ। हजुरले सम्बन्धलाई र एक अर्काको जीवनलाई जति नै तेरो र मेरो भनिरहे पनि आफ्नो समय हुँदा कुनै कुरामा नाइँ भनेको रेकर्ड नहोला। हजुरको मेसेज आयो।
मेसेजको रिप्लाई गरेँ। यो हो म बारम्बार मेसेज गरेर पाउ पनि परिनँ, घमण्ड रिस पनि देखाइनँ। चुप बस्न त पाइन्छ। बस्न पर्छ नि।लेखक हुँ फेसबुकमा लेखेँ हुँला तर नामै किटाण गरेको त छैन नि। बरु प्रतिस्पर्धामा नजाऔँ, पावर देखाउन नथाऔँ। प्रतिस्पर्धा प्रतिसोधमा पुगे हानी गर्छ दुवैलाई भनिरहेँ।
फेरि, कताबाट कुरा कता जोडेर एक प्रकारले पोखिनु हुन्छ। झोक्किनु हुन्छ। यतिविधि घृणा किन गर्नुहुन्छ के ? सम्बन्ध अगाडि बढ्दैन त छोडिदिऔँ न। दुईको सहमतिले एक भएका हामी दुईको सहमतिले किन दुई हुन नसक्ने ? रिस मारेरै बोल्नोस्, नरम रहनोस् न कति भनूँ ? अब त यही कुराले पनि दिक्क लाग्न थाल्यो।
अहिलेसम्म हजुर आगो हुनुहुन्छ, म आगो भएको छु भनिरहनु भयो। म आगो बन्न सुरु गरेको दिन तपाईँलाई साह्रै नमिठो असर पर्नेछ, ख्याल राख्नोस् है। किनकि पुरुष सत्ताले मलाई धेरै छुट दिएको छ। महिलालाई अलिकति पनि नाम जोडिने बित्तिकै दाग देख्छ। यसो भनिरहँदा फेरि मैले महिलालाई कमजोर बनाउन खोजेँ।
महिलालाई दासतामा राख्न खोजेँ भने भन्ने आरोप लाग्छ, लागेकै हो। ऋणले डुबेर अरबमा पसिना बगाएको एउटा श्रमिकलाई पुँजीवादी देख्ने हजुरले यसो भन्नु स्वाभाविक पनि हो। पढ्नोस्, उठ्नोस्, जहाँ सहज हुन्छ त्यहाँ पुग्नोस्। बुहारी बनेर कुनै गाउँमा दुई बच्चा काखमा लिएर हिँड्ने सोचबाट खुद हजुर उठ्नोस् भनेर हरेक दिन हौसला दिने, भरोसा दिनेलाई हजुरले दास बनाइस् भन्नु भएकै हो। यतिमात्रै कहाँ र म राजावादी भएँ। काँग्रेसी भएँ। सामन्तवादी भएँ।
हजुरले ‘आगो बनेँ’ भनेपछि सम्बन्ध सकियो। हजुरलाई त सम्बन्ध सकिएर खुसी नै दिएछ। खुसी नै छु भनिरहनु भयो सदा, ठिकै छ। तर, बेलाबेलाका अनावश्यक टर्चर अब सहिन्न, सम्बन्धमै हुँदा एउटा कुरा । किनकि अब मेरो करिअर, मेरो उमेरको चिन्ता छैन। स्वयम् बोल्न मन छैन भनेर यसो भन्ने मान्छे हरेक तवरले किन मेसेज र कल गरिरहनु हुन्छ। मत सम्बन्ध प्रगाढ हुँदा पनि शान्त नै थिएँ कम मेसेज लेख्थेँ, अहिले पनि उही छु। बरू हजुरलाई रातभरि कुरा गर्ने चाहिएको हो। जहिल्यै कस्तो छ ? भन्दा तनावमा छु भन्ने हजुरले के कोही सुखले बसेको हेर्न सक्नुहुन्न ?
अचम्म के लाग्छ भने हजुरले आश देखाइदिनुहुन्छ ‘सम्झौता गरम’ भनेर फेरि लौ न त भन्यो हिजोका कुरा बिर्सियो। कुरा आफैँ कोट्याउनुहुन्छ अनि सानो कुरामा फेरि आगो बन्नुहुन्छ। आफैले गरेको वाचामा आफै किन छिर्न नसकेको ? के झगडा नगरी खान नपच्ने हो ? तेरो र मेरो नगरी श्वास नफेरिने हो र ?
‘हैन, नेपाल आएर भेटेरै कुरा गरम्।’ भन्नुहुन्छ चुपचाप बस्यो, फेरि बोल्नुहुन्छ१ चाहिएको काम लिन पनि खोज्नुहुन्छ। बिचबिचमा सम्बन्ध सकिएको छ। तेरो र मेरो जीवन, आफ्नो-आफ्नो बाटो पनि भन्नु हुन्छ। थाहा छ बाबा भनिरहनुपर्छ र ? काम लिनेहरू पो जुझारु बन्नु पर्ने उल्टो हजुर झर्किरहने मैले काम दिइरहने ?
हिजोका दिनमा मैले नकारात्मक देखेको हैन बरु अलिकति उमेर र अनुभवले यसरी गरौँ, उसरी गरौँ, त्यस्तो नगरौँ भनिएको हो। नकारात्मक देखिस् भनेर कति औँ झगडा गर्यौँ। आफ्नै मान्छेलाई नकारात्मक देखेर कसरी चल्ला र! हो, जीवन नकारात्मक नै भए पनि भुलेर अगाडि बढ्नु पर्ने होला नि। चिनेको, जानेको, बुझेको, सपना बाँडेको हिसाबले जति भनावैरी अनेक भए सम्बन्धमा हुन्छन् हुने रहेछ तर पनि बिर्सौँ, कोमल बनौँ, रीसराग त्यागौँ कति भनूँ ? सम्झिन्छु एकाबिहानै पनि किन यसरी झम्टिने हो के हजुरले भनेको।
अझै पनि सम्झौता गरेर अगाडि बढौँ भनिन्छ भने म तयार छु। सम्झाऔँ, सम्झौँ, बुझौँ। बिग्रिएको केही छैन। कति बिग्रिएर त सम्बन्धमा छन् मानिसहरू। चलाएकै छन् घर व्यवहारहरू। एकाध रिस, कल, झगडाका बेला भनावैरी हुन्छन् नै। हजुरले नै भन्ने हैन र रिसमा वेद कसले पढोस्।
अझै पनि सम्झौता गरेर अगाडि बढौँ भनिन्छ भने म तयार छु। सम्झाऔँ, सम्झौँ, बुझौँ। बिग्रिएको केही छैन। कति बिग्रिएर त सम्बन्धमा छन् मानिसहरू। चलाएकै छन् घर व्यवहारहरू। एकाध रिस, कल, झगडाका बेला भनावैरी हुन्छन् नै। हजुरले नै भन्ने हैन र रिसमा वेद कसले पढोस्।
हैन, एकोहोरो रटेर तेरो र मेरो भनिरहने, बोल्न पनि चाहने र बोलेको दुई दिनमा फेरि तँ तँ र म भन्ने हो भने यसरी अनेक माध्यमबाट नबोलौँ। सम्बन्ध मैले सकेको डेढ महिनामा पनि म हजुरसँग रुँदै सम्बन्ध स्थापित गर्न सके गरौँ भनेको हो, हो कल हजुरले गरेको हो।
हजुरले बोल्न सुरु गर्नु भयो म बोलेकै हो, अझै पनि नरम भावमा किन सम्बन्ध यस्तो भयो ? कारण के हुन् ? दोष कसको हो ? किन दोषी देखियो। के हेरेको भा हुने जस्ता कुरा हुन सक्छन् भने बोल्छु, सम्बन्ध स्थापितकै लागि वा त्यो नभए एक हिसाबले नजिक रहनकै लागि पनि। सम्बन्धमा हुँदा सब थोक जाती, सम्बन्ध बिग्रिँदा धारे हात लगाउने पुरातन सोचबाट त उठौँ न। चाहिँदैन भन्ने मान्छे चाँडो चाहिन्छ के। पृथ्वी साँच्चै, गोलो छ।
हेर्नोस् त सम्बन्धमा रहेको, एकले अर्कालाई बुझेको, चार साल बित्यो। चिनेको बुझेको छौँ। प्रेम होस् या वैवाहिक जीवनमा रिस-राग, भनावैरी, ठोकठाक र घुर्की-धम्की अनेक हुन्छ नै। जो कसैलाई सम्झाउँदा-सम्झाउँदा नलाग्ने कुरामा भैॆङ्कर नै रिस उठ्छ होला, फेरि हामी बुद्ध पनि हैनौँ।
हजुर पनि एक्लो हो। कति दुःख साथ सङ्घर्ष गरिरहनु भएको छ काठमाडौँमा। यस्तो बेलामै हो साथ चाहिने। भरोसा चाहिने। कोही छ भनेर एहसास दिलाउने। भोलि आफू आफैँमा सबल भएपश्चात् पाइने साथको न हजुरलाई काम हुन्छ न मलाई। त्यो त केवल देखावटी हुन्छ समाजको आँखामा, परिवारको आँखामा। जीवनमा उठ्न खोज्दा टेको चाहिने हो। फलेपछि त चढ्न खोज्छन्, झटारो पनि हान्छन् फलका लागि, फल सकिन्छ छोडेर जान्छन्। झटारो खान पनि फल्नै पर्छ।
एक, म उमेर, पढाइ, सुन्दरताको विभेदमा पर्छु भने तपाईँले समाज र संस्कृतिको उछितो काढेर प्रगतिशील लेख्न पनि छोडे हुन्छ। प्रगतिशील हुँ भनेर हिँड्ने, समूह संस्थामा आसीन हुने तर घरमा गएर स्वास्नी कुट्ने प्रगतिशील जमात हजुरकै हो। यस्तो केवल ढोङ मात्रै हुन्छ। दुई, हैन ऊ दुस्मन नै हो भन्ठान्नुहुन्छ भने म लहरो समातेर बोलिरहेछु। धाक-धम्की केही हैन, हजुरहरू त फेरि यसलाई पनि पृती सत्ताको जगमा टेकेर बोल्यो भन्नुहुन्छ तर म आगो बनेको दिन को खरानी हुन्छ यो चैँ याद गरौँ यत्ति हो। सुकेको दाउरामात्रै हैन फलसहितको बोट पनि समय आए खरानी हुन्छ।
सुन्नोस् न, दुई शब्द मीठो बोलेर यसलाई पनि फकाउनु पर्छ। म पनि उसले सम्झाउँदा सम्झिनु पर्छ भन्ने बुझेको भए, म तपाईँको पाउमुनि जीवन बिताउन सक्थेँ। म त्यति कमजोर थिए हजुरको प्रेममा, अझै पनि त्यति नै कमजोर छु। प्रेमले पगाल्छ हौ मानिसलाई, कोमल बनाउँछ। याद गर्नोस् त सानो कुराले पग्लिन्थे। तिम्रा ससाना नखरामा रमाउँथे। हिजोका मात्रै हैन, अघि केही छिन् अघिका कुरा बिर्सिन्थेँ। सपना बुन्थेँ। रमाउँथे। तर, बुझ्नै पर्छ नौनी पग्लिन्छ यति मात्रै हैन आगोमा खरिएपछि नौनी हुँदा नरम पार्ने त्वचा डढाउँछ। पानी तातेर आगो नबन्ला तर तात्यो भने त्वचा डढाउँछ। यो थ्रेट हैन। यस्तो हुनसक्छ भनेको हो । हुन त फेरि तातो पानीले डढाउँछु भनिस् भन्ने हजुरको प्रवृत्ति छ।
डेढ महिनापछिको तीन दिनको तीन कलको व्यक्तिगत आक्षेप, आरोप, घोचपेचपछि चुपचाप रहेको पाँच महिनापछिको कुराकानीमा पनि म त दैनिक हजुरसँगै बोलेजस्तो भएछु। लेख्दा-लेख्दै बाबा! सम्बोधन गरेर गल्ती गरेँ। हजुर र हजुरले देखाएको सपना सम्झेँ भनी लेखेर गल्ती गरेँ। ल विषय पनि मोडियो रे। तर हजुरले त कुरै नबुझी सिधै ‘तँ अजिब, यस्तो हो भने नबोल। तेरो मेरो गर्नु हुन्छ।’ अवश्य जथाभाबी बोल्न थालेपछि म पनि एक छिन् तात्छु तर मनभरि छ हजुरको सपना.. हजुर आजको सङ्घर्ष। एकछिनमा लाग्छ म किन चर्किएँ ? किन बाझेँ ?
हुन त सम्बन्ध ठीकै हुँदा पनि भनिरहन्थेँ हजुर अर्कै ग्रहकोजस्तो किन बन्नुहुन्छ। तर…भ्यालेन्टाइनमा I LoVe you लेख्दा पनि मैले मार्सकवादी शब्दहरू पाएँ। प्रेमलाई उपभोक्ता नसम्झी भन्नु भयो। यी मेरा कुरा फुल बुट्टा लाग्छन् ढोङ लाग्छन् भने सम्बन्ध सकिएको छ चुप नै बसौँ। हैन, चारैतिरबाट मेसेज पनि गर्ने अर्को दिन यसो कुरा कोट्याएर बटारिने हो भने म पनि सही तरिकाले योजनासहित बटारिन्छु। किनकि मैले प्रवेश नगरौँ भनेर छेकेको विषयमा हजुर झन् पस्नुहुन्छ। ‘म बोलिन है यो विषयमा’ भन्ने कुरामै हजुरले कति बोल्नु भयो, कता-कता लानु भयो कुरा। सम्झनुस् त।
अरे यार, कसैले वा कुनै समय सम्बन्धमा रहेको व्यक्तिले सप्रेम बाबा१ भन्छ भने भन्न दिनोस् न। कति दिन भन्ला र कुनै आरोप, अश्लील घोचपेच त हैन त त्यो शब्द। एक दिन थाक्ला र बन्द गर्ला। एक अर्का चाहिँदा आफ्नो आफ्नो काम गरे भयो।
आफूलाई नचाहिने विषयमा जसले लेखे पनि बोले पनि अन् देखा गरे भयो। बोल्यो, लेख्यो भन्दैमा टपक्क टिप्नै जानपर्छ भन्ने हुन्न। हरेक दिनजस्तो के छ खबर भन्दा ‘भन्न नहुने छ, टेन्सन छ, तनाव छ बाट सुरु गरेपछि कसरी प्रेमिल बन्न सकिन्छ र। हो अस्वस्थ्य रहेर पनि औपचारिकताका लागि सन्चै छु भन्नुपर्ने हुन्छ तर हरेक दिन त्यस्तो उल्टो बन्न खोजेर सम्बन्धमा प्रेम कसरी स्थापित होला। तनावै छ भने पनि तनाव यस कारण छ कसरी व्यवस्थापन गर्ने सल्लाह गर्नुपर्ने हैन र ?
सामान्य फलानाको बुढी मेयरमा उठेकी रहिछन् भनेर आफैँले कुरा निकाल्ने अनि म चिन्दिनँ थाहा छैन भनेर नर्मल्ली कुरा गर्दा पनि तैँ बेकारको, तैँ नै खत्तम। ए बाबा, ममात्रै खत्तम बाँकी दुनियाँ सब ठिक चैँ कसरी भयो फेरि ? सम्बन्ध सकेर राम्रो भयो म खुसी नै छु भन्ने। यो गरेर देखाउँछु, उस्तो गरेर देखाउँछु भन्ने अनि खान बस्नको समस्या भयो जागिरको समस्या भयो भनेर लेख्ने ? समस्या पर्छ त सबैलाई तर आफूबाट समाधान हुन नसक्ने कुरा भएकोले त्यो कुरामा म केही बोलिन है भन्ने कुरामा फेरि तेरो र मेरो जीवन रे, अलग बाटो रे।
हजुरलाई पैसा दिनु ठिक हैन या पैसा खानुहुन्छ या पैसाको डर भन्ने कहिल्यै भएन। आइडिया दिनु भयो। यस्तो भूमिका खेल्दिनुस् न त आखिर हजुर पनि भोलिको मान्छे हो भनियो। दुबैजनाले कारोबार सम्हालियो। हजुरको पुरै सेलरी लिएर मैले लोन तिरेको छु। काम चलाएको छु। मागेको छु भने यसरी पैसा चलाउँदा पहिलो मैले हिसाब किताब खोजिनँ बरु व्यवस्थापन भएकोले धेरै कुरामा हात हालेँ। तर त्यो विश्वास र भरोसामा पनि तेरो र मेरो मात्रै अलिकति बढी देखिए तेरो पैसा तिर्छु मात्रै भन्ने। हो, औसतकै हिसाबले हजुरले भन्दा बढी कमाउँछु।
दुवैले मिलेर काम गर्दा एकको बढी भयो होला तर मेरो धेय पैसा खाइस् भन्ने त थिएन बरु उल्टै सेँधैजस्तो ‘तेरो पैसा तिर्छु तेरो पैसा तिर्छु, मलाई स्वीकारेनस् हजार बार भनेपछि जुन कुरा आफूले सोचेकै छैन जुन कुरा आफूलाई खराबै हो लागेन भने त्यही कुरा हजार बार दोहोरिएपछि जसलाई पनि नमज्जा लाग्छ। एकपटक ठिक छ सुनिन्छ, दोस्रोपटक ठिक छ इग्नोर गरिन्छ। बारबार त पुच्छर टेक् नगए कुकुरले पनि टोक्छ। उसो त मलाई कुकुर भनिस्’ भन्नुहुन्छ, भन्नु भयो पनि। उदाहरण पेस गरेको मात्र।
साँच्चै भन्ने हो भने यतिबेला मलाई व्यवस्थापनको खाँचो छ, हजुरलाई सहकार्यको। यतिबेला एकले अर्कोलाई धानेर उठ्ने हो भने पो पछि सम्झिएर श्रेयमा समय बिताउने हो। म पनि उठेँ, हजुर पनि उठ्नु भयो भने पछि हजुरको जीवनमा होस् या मेरो जीवनमा आउने व्यक्ति मात्रै ठाउँ ओगट्न के कामका लागि के ? कि समाजलाई, मलाई र हजुरले बाउआमालाई जोडी मिलेको देखाउन हो ?
आउनोस् सम्बन्ध स्थापित गरौँ। चिनेको, जानेको, बुझेको छु। फेरि कोही दोस्रोलाई चिन्न, बुझ्न, जान्न म समय खेर फाल्दिनँ। हजुरले पनि समय खेर नफाल्नोस्। हजुर को हो भन्ने त थाहा छ नि तर नयाँ कस्तो हुने हो के थाहा ?
यही प्रश्नमा पनि हजुरलाई रिस उठ्यो होला। सबै मजस्तै शान्त हुँदैनन्। सामान्य रीसराग मानिसका स्वभाव हुन्। तर, धेरै शान्त पनि काम छैन, धेरै रिस त झन् कामै छैन। यसैले भनिन्छ शिव एक बन्ने हैन, कृष्ण अनेक बन्ने हो। कृष्ण पाण्डव बीच प्रेम चाहन्छन् तर दुर्योधनसँग युद्ध चाहन्छन्, शान्ति चाहन्छन् बदला पनि चाहिन्छन्। चाहिएको अनुसार पनि बन्नुपर्छ भन्ने बुझाउँछन्। फेरि हजुरहरू यो युगको एकमात्रै सत्य मार्क्सवादी पर्नु भयो कृष्णको कुरा स्विकार्नु हुन्न।
खैर, दोष सबै हजुरको हो भन्ने पनि हैन। मेरा पनि होलान् छन्। सबै दोष आरोप भनावैरीको समाधान छ। यसका लागि दोस्रोलाई सुन्नु र बुझ्नुपर्छ। एउटा पुरुष जो बुवाको निधनमा आँसु झार्दैन। हजुरबुवाको निधनमा जिम्मेवारीको बोधले आँसु झार्दैन तर हजुरको सामुन्ने कम्तीमा मेरो कुरा सुनिदिनोस् भनेर ह्वाँ-ह्वाँ रुन्छ। हजुर भन्नुहुन्छ ‘तेरो कुरा जिन्दगीभर सुन्ने हैन।’ यसो हो भने त सम्बन्ध-जिन्दगीको स्वाद चाख्नै नपाई आजै सकिन्छ।
आउनोस् सम्बन्ध स्थापित गरौँ। चिनेको, जानेको, बुझेको छु। फेरि कोही दोस्रोलाई चिन्न, बुझ्न, जान्न म समय खेर फाल्दिनँ। हजुरले पनि समय खेर नफाल्नोस्। हजुर को हो भन्ने त थाहा छ नि तर नयाँ कस्तो हुने हो के थाहा ? नयाँमा हमेसा शङ्का हुन्छ ।
उही हजुरलाई धेरै माया गर्ने पण्डू
हजुरले अलिकति नाक उचालिदिए पग्लिने प्रेमी।
Facebook Comment