कैलालीमा समुदायस्तरमै फैलिन थाल्यो डेंगु

डिसी नेपाल
२६ भदौ २०७९ १७:२२

धनगढी । कैलालीमा समुदाय स्तरमै डंगुको संक्रमण फैलिन थालेको छ । कैलालीको पूर्वी क्षेत्रमा डेंगुको संक्रमण उच्च रहँदा मृत्युदर भने धनगढी क्षेत्रमा बढ्न थालेको हो । स्वास्थ्य कार्यालय कैलालीका कार्यालय प्रमुख लालबहादुर धामीका अनुसार नागरिक रोगप्रति संवेदनशील नहुँदासम्म यो समस्या बढ्न सक्ने देखिएको छ ।

उनले डेंगुकै कारण कैलालीमा दुई सातायता दुईजनाको मृत्यु भइसकेको बताए । डेंगुको जोखिम क्षेत्र विरामीको दर हेर्दा लम्कीमा बढी रहेको भए पनि मृत्युको दर धनगढी र टीकापुरमा बढ्न थालेको उनले बताए ।  तर अहिलै नै जोखिम क्षेत्र यो हो भन्नेबारेमा भने अझै स्पष्ट नभएको उनले बताए । ‘जोखिम क्षेत्र  यकिन गर्न सकिएको छैन,’ धामीले भने, ‘स्थानीय तह संगको समन्वयमा अहिले सवै पालिकाको जोखिमलाई अध्ययन भइरहेको छ।’

१० हजार जनामा डेंगु संक्रमण हुँदा एक सयजना जति मात्रै गम्भिर बिरामी पर्ने गरेको भन्दै उनले अहिले गम्भीर विरामी भेटिएका स्थानलाई मात्रै जोखिम क्षेत्रहो भनेर भन्न नमिल्ने बताए । ‘धेरै मानिसलाई डेंगुको संक्रमण भए पनि रोगको लक्षण नदेखिने वा सामान्य लक्षण मात्रै देखिने भएका कारण विरामी स्वास्थ्य संस्थाको पहुँचमा नआएका हुन सक्दछन्, हामी सबै क्षेत्रमा परीक्षण गरेर कुन क्षेत्र जोखिममा छ भन्ने छुट्याउने प्रयन्त गर्दै छौं,’ उनले भने । धामीले डेंगुलाई थप फैलन नदिन कैलालीका स्थानीय तहहरूले सचेतनामूलक कार्यक्रमसहित लार्भा खोज तथा नष्ट अभियान गरिरहेको बताए ।

स्वास्थ्य कार्यालय कैलालीले उपलब्ध गराएको तथ्यांकअनुसार लम्की चुहा नगरपालिकामा ६६ जना डेंगुका विरामी फेला परेका छन । यसैगरी घोडाघोडी नगरपालिकामा दुई र बर्दगोरिया गाउँपालिकामा तीन गरी ७१ जना डेंगुका विरामी फेला परेको कार्यालयको तथ्यांकमा रहेको छ ।

जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा ९५ जना डेंगुका विरामी फेला परेकोमा ५९ जना लम्की चुहा नगरपालिकाका रहेका थिए भने आर्थिक वर्ष २०७८/७९ मा एक सय ५६ जना विरामी फेला परेकोमा एक सय ३३ जना सोही नगरपालिकाका रहेका थिए ।
डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गरेको छ । सो लामखुट्टेले दिउँसोको समयमा टोक्ने र घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनु भन्दा दुई घण्टा अगाडि सक्रिय हुने गरेको छ ।

डेंगुबाट बच्न पूरा शरीर ढाकिने गरी कपडा लगाउने, लामखुट्टेको टोकाइबाट बच्न मल्हम वा मच्छड धूप प्रयोग गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, झ्याल-ढोकामा जाली लगाई घरभित्र लामखुट्टे पस्न नदिने, लामखुट्टे उत्पादन हुने स्रोत नष्ट गर्ने जस्ता काम गर्नुपर्ने छ ।

एक्कासि उच्च ज्वरो आउने, ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहने, अत्यधिक टाउको दुख्ने, आँखाको गेडी दुख्ने, हाडजोर्नी र मांसपेसी र ढाड दुख्ने, शरीरमा बिमिरा आउने, रिंगटा लाग्ने र वाकवाकी लाग्ने, बान्ता हुने जस्ता लक्षण भए नजिकको स्वास्थ्य संस्थामा गएर परिक्षण गर्नुपर्ने छ ।

यस्तै, लगातार बान्ता हुने, बान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने र बेहोस हुने यस रोगको गम्भीर लक्षण हुन् ।

डेंगु सार्ने एडिज जातको लामखुट्टेले जमेको सफा थोरै पानीमा पनि फूल पार्छ । पानी जम्ने टिनका डब्बाहरू, प्लाष्टिकका बोतल, प्लाष्टिकका खोल, टायर, सिसी, अन्डाको बोक्रा, ड्रम, बाटा, बाल्टिन, फूलदानी, गमला, कुलर, पानी ट्यांकीलगायत पानी जम्ने भाँडा तथा स्थानहरुमा यो लामखुट्टेले फूल पार्छ ।  डेंगीबाट बच्न लामखुट्टे उत्पादन हुने यस्ता स्थान नष्ट गरी पानी जम्न दिन नहुने चिकित्सकहरू बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *