नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा पुलिसको लगातार दोस्रो जित
काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा सोमबार लुम्बिनी प्रदेशलाई ७६ रनले हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो । पुलिसले दिएको २ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २८ रन बनायो ।
उसका लागि बसिर अहमदले अविजित ४६ रन तथा सौरभ खनालले २४ रन बनाए । दीपेन्द्र रावतले अविजित १३ रन तथा प्रज्वल थापाले १० रन बनाए , पुलिसका लागि ललित राजवशीले ३ तथा करण केसीले २ विकेट लिए । गुल्सन झाले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो । जितसँगै पुलिसको ३ खेलबाट ७ अंक भएको छ । समूह ’ए’ मा पुलिस शीर्ष स्थानमा रहेको छ । यता,लुम्बिनीको भने ३ खेलबाट २ अंक भएको छ । यस्तै सोमबार नै भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ६ विकेटले हराएको छ ।
मधेशले दिएको १ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले १८ ओभर १ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४ रन जोडेको थियो ।
त्यस्तै मुलपानी क्रिकेट मैदान वर्षाको कारण खेल्न योग्य नभएपछि एपीएफ र बागमतीबीचको खेल तथा एनआरएनए र प्रदेश १ बीचको खेल भने रद्द भएको छ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।
Facebook Comment