‘सेक्टर काण्ड’ ले पार्टीको नेतृत्वमा आएका प्रचण्ड हालसम्मै निर्विकल्प
प्रचण्डलाई नेतृत्वमा ल्याएको ३६ वर्षअघिको त्यो घटना
काठमाडौं। नेपालका राजनीतिक दलहरुमा लामो समयसम्म पार्टीको नेतृत्वदायी तहमा रहेका नेताहरुमध्ये माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मसालका महामन्त्री मोहन विक्रम सिंह हुन्।
२०४३ सालमा घटेको सेक्टर काण्डदेखि तत्कालीन पार्टीको नेतृत्वदायी तहमा आएका प्रचण्ड हालसम्म पार्टी नेतृत्वमा अभिछिन्न रुपमा रहँदै आएका छन्। सेक्टर काण्डको नामले नेपालको राजनीतिमा अझै माओवादी वृत्तमा तत्कालीन अवस्थामा नेकपा (मशाल)ले गरेको फौजी कारबाहीलाई चिनिन्छ।
उनै प्रचण्डका कुनै समयका राजनीतिक गुरु सिंह पनि २०३१ सालदेखि हालसम्मै पार्टी नेतृत्वमा छन्। यी दुबै कुनै समय एउटै पार्टीमा थिए। २०३१ सालमा नेकपाको चौथो महाधिवेशनदेखि पार्टीको नेतृत्वमा रहेका मोहनविक्रम सिंह हालसम्मै नेकपा (मसाल) नामक पार्टीको मूल नेतृत्वमा छन्।
२०४१ सालसम्म सँगै रहेका यी दुबै त्यसपछि अलग अलग भएका हुन्। २०४१ सालमा सिंहसँग बिभाजित भएर नेकपा (मशाल) गठन गर्दै मोहन वैद्यको नेतृत्वमा अलग पार्टी गठन गर्दा प्रचण्ड उक्त पार्टीको युवक संघको अध्यक्ष थिए।
सिंहसँग विभाजित भएर उनलाई कारबाही गर्दै बैद्य समूह (प्रचण्डसमेत) ले नेकपा (मशाल) गठन गरेपछि सिंहले २०४२ सालमा अर्को नेकपा (मसाल) नामक पार्टी गठन गरे जुन पार्टीको आजसम्म सिंह नेतृत्वमा रहेका छन्। जसलाई पातलो मसालका रुपमा चिनिन्छ। भने बैद्य र प्रचण्डले नेतृत्व गरेकालाई मोटो मसाल भन्ने गरिन्थ्यो।
नेकपा(मशाल) को नेतृत्वमा २०४३ सालमा सेक्टर काण्डका नामले घटित एक असफल कारबाहीले नेतृत्वमा पुगेका प्रचण्ड आजपर्यन्त पार्टीको नेतृत्वमा छन्। जतिबेला नेकपा (मशाल)को महामन्त्री मोहन वैद्य रहेका थिए। पार्टीको सर्वोच्च पद महामन्त्री रहने प्रचलन थियो।यद्यपि सिंहको पार्टीमा भने उक्त प्रचलन हालसम्मै कायम छ।
उनकै नेतृत्वमा भएको असफल कारबाहीले वैद्य पार्टीबाट आलोचित हुँदै राजीनामा दिए र पार्टीको पोलिट्ब्यूरो सदस्य तथा युवा संघको अध्यक्ष रहेका प्रचण्ड पार्टीको नेतृत्वमा आउन सफल भए।
२०४३ सालमा राजधानीभित्रका केही प्रहरी चौकीमा नेकपा (मशाल) ले फौजी कारबाही गरेको थियो। पयाप्त पूर्व तयारीबिनाको असफल उक्त कारबाहीले पार्टी नेतृत्वमा रहेका मोहन वैद्यले पद त्याग गरेका थिए। त्यसपछि पार्टी नेतृत्व सम्हालेका पुष्पकमल दाहाल प्रचण्ड आजपर्यन्त सोही पार्टीकै एक घटक नेकपा (माओवादी केन्द्र) को अध्यक्ष छन्।
मोहन वैद्यको बहिर्गमनसँगै पार्टी नेतृत्वमा आएका प्रचण्ड त्यसपछिका कहिले एकीकृत त कहिले बिभाजित पार्टीको नेतृत्वमा रहँदै आएका छन्। त्यतिबेला पार्टीको प्रमुख पद महामन्त्री हुने ब्यबस्था रहेको थियो। पार्टीका नाम परिवर्तन भए पनि उनी सोही धारकै पार्टीको कहिले महामन्त्री, महासचिव हुँदै हालसम्मै अध्यक्षको पदमा विराजमान छन्।
सेक्टर काण्डले जुराएको त्यो संयोग
२०४३ सालमा सेक्टर काण्डपछि पार्र्टीृको नेतृत्व सम्हालेका प्रचण्ड त्यसयता ३६ वर्षसम्म अभिछिन्न रुपमा पार्टीकै नेतृत्वमा छन्। उनी आफूले नेतृत्व गरेको पार्टीमा अन्य साना दललाई समाहित गरेर शक्ति सञ्चय गर्दै हालसम्म पार्टी नेतृत्वमा रहदै आएका छन्।
सो समयमा पार्टीको पोलिटब्यूरो सदस्य र युवा संघको अध्यक्ष रहेका प्रचण्ड पार्टीको महामन्त्री भएका थिए। सेक्टर काण्डले उनलाई पार्टीको नेतृत्वमा पुर्याएपछि २०४८ सालमा अन्य साना कम्युनिष्ट घटकसँग एकता गर्दै नेकपा (एकता केन्द्र) गठन गरेर महामन्त्री हुँदै २०५२ सालबाट जनयुद्ध थालेका थिए।
तत्कालीन पार्टी नेकपा(मशाल) का महामन्त्री रहेका बैद्यले राजीनामा दिएर प्रचण्डलाई नेतृत्व सुम्पेका थिए। पार्टीका अन्य नेताहरुको समेत एक तह घटुवा गर्ने निणर्य भएको थियो। वैद्य पछि दोस्रो वरियतामा रहेका सिपी गजुरेल हुँदाहुँदै प्रचण्डलाई पार्टीको महामन्त्री बनाइएको थियो।
सो घटनाबाट नेतृत्वमा आएका प्रचण्ड आजसम्मै सोही नेकपा (मशाल) कै एक घटक माओवादीको अध्यक्ष छन्। उनीसँगै रहेका त्यतिबेलाका शिर्ष नेताहरु बैद्य र गजुरेल बिभाजित भएर अन्यत्र लागेका छन् भने कतिपय नेताहरु उनीसँगै छन्।
हाल नेकपा (क्रान्तिकारी माओवादी) मा रहेका सो घटनाको नेतृत्व गर्ने पार्टीका शिर्ष नेता रहेका सिपी गजुरेलसमेत प्रचण्डलाई उक्त काण्डले नेतृत्वदायी तहमा ल्याइपुर्याएको बताउँछन्।
उनले डिसी नेपालसँगको कुराकानीमा भने, ‘त्यो घटनाको मुल भूमिका रह्यो र त्यसले नेतृत्वमा परिवर्तन गर्यो त्यसको प्रभाव आजसम्म कुनै न कुनै रुपमा छ।’
उनका अनुसार सोही घटनाकै कारण बैद्यले राजीनामा दिएका थिए र प्रचण्ड पार्टीको नेतृत्वमा आएका थिए। बैद्यपछिको वरियतामा आफू रहँदारहँदै पनि पार्टीले सबैको एक तह घटुवा गर्ने निर्णयले आफू ब्याक भएको उनले बताए। वरियताक्रम अनुसार त्यतिबेला गजुरेल बैद्यपछि दास्रो वरियताका नेता थिए।
सेक्टरकाण्डले तत्कालीन अवस्थामा प्रचण्डलाई नेतृत्वमा पुर्याएको सोही घटनामा प्रत्यक्ष सहभागी माओवादी नेता दिनेश शर्मा स्वीकार गर्दछन्। हाल माओवादी विभाजित भएसँगै वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा रहेका शर्मा तत्कालीन अबस्थामा प्रचण्ड नेतृत्वमा आउनु उक्त घटनाको उपज भएको बताउँछन्। फलस्वरुप उनी आजसम्म त्यतिवेलाकै पार्टीकै मुलप्रवाह माओवादी केन्द्रको अध्यक्ष छन्।
शर्माले डिसी नेपालसँग भने, ‘तत्कालीन कारण त्यो भयो तर आजसम्म नेतृत्वमा हुनुको पछाडि अन्य कारणहरु छन् ,त्यतिबेला उनी नेतृत्वमा आउनुमा त्यो घटना नै मुख्य हो। सायद घटना नभइदिएको भए परिस्थिति अकै हुनसक्थ्यो।’
के थियो घटना ?
२०४३ बैशाख २९ गते राष्ट्रिय पञ्चायतको निर्वाचन नजिकिइरहेको थियो। उक्त निर्वाचन पार्टीले शशक्त बहिस्कारको नीति लिएको थियो। सोही बमोजिम बागमती ब्यूरो निर्देशनमा उक्त घटना बैशाख १४ गते घटेको शर्मा बताउँछन्। उनका अनुसार राजधानीका असन, इन्द्रचोक र क्षेत्रपाटीमा रहेका प्रहरी बिट (सेक्टर) मा आक्रमण गर्ने योजना देव गुरुङकै निर्देशनमा भयो।
असन क्षेत्रको नेतृत्व शर्मा स्वयमले, इन्द्रचोकको नेतृत्व मााओवादीमा आलोक उपनामले चिनिने यानप्रसाद गौतमले र क्षेत्रपाटीको दिपक महतले नेतृत्व गरेका थिए। बागमती ब्यूरोको निर्देशन बमोजिम उनीहरुले ती क्षेत्रका तीनवटा प्रहरी बिटमाथि घरेलु हतियार र पेट्रोल बम प्रहार गरी आक्रमण गरियो।
तर पर्यापत तयारी र दीर्घकालीन योजनाबिना गरिएको उक्त कारबाहीपछि पाटीर्ले प्रतिरक्षा गर्न सकेन। पार्टीका अधिकांश नेताहरुलाई प्रहरीले गिरफ्तार गर्न सफल भयो। उपत्यकाका उल्लेख्य नेताहरु पक्राउ परे। त्यस घटनामा सहभागीलगायत तत्कालीन पार्टीका केन्द्रीय सदस्य समेत प्रहरीबाट गिरफ्तार भएर पार्टीले ठूलो क्षति ब्यहोर्नुपरेको थियो।
त्यसको भोलिपल्ट केन्द्रीय सदस्य तथा काठमाडौं इन्चार्ज नारायणप्रसाद तिमिल्सिना लगायत थुप्रै नेतालगायत सहभागी र अन्य कार्यकर्तासमेत पक्राउ परेको शर्माले बताए। यसले पार्टीलाई राजनीतिकरुपमा दीर्घकालसम्म असर गरेको उनी बताउँछन्। घटनापछि अधिकांश कार्यकर्ता पक्राउसँगै राजधानीमा कार्यकर्ता विहीन भएको र नेताका लागि सुरक्षित स्थान (सेल्टर) को समेत अभाव भएको शर्माले सम्झिए।
घटनामा प्रत्यक्ष सहभागी दिनेश शर्मा यसो भन्छन्
प्रहरी बिटमा हमला गर्ने उक्त योजना सोही घटनामा सहभागी तीन जनामध्ये एक दिनेश शर्माकै जोरपाटीस्थित डेरामा योजना बनाइएको र देव गुरुङकै निर्देशनमा भएको हो। २०४३ साल बैशाख २९ गते घोषणा गरिएको राष्ट्रिय पञ्चायतको निर्वाचन बहिस्कार गर्ने पार्टीको निणर्य बमोजिम उक्त घटना घटाइएको हो।
पार्टीले निर्वाचन शशक्त रुपमा बहिस्कार गर्ने नीति बमोजिम बागमती ब्युरोको योजनामा सो घटना भएको हो। जसको इन्चार्ज हाल माओवादी केन्द्रका महासचिव रहेका देव गुरुङ थिए।
सेक्टर काण्डको नामले चिनिने सोही घटनामा सहभागी शर्माका अनुसार देव गुरुङको प्रत्यक्ष निर्देशनमा उक्त घटना घटाइएकोे हो। २०४३ साल बैशाख १४ गते घटेको उक्त घटनामा तीन जना नेताहरु सहभागी थिए। तत्कालीन अवस्थामा उक्त पार्टीृको बागमती ब्यूरो(अञ्चलस्तरको संरचना) इन्चार्ज देव गुरुङ थिए।
तर त्यसैको उपज हालसम्म नेतृत्वमा रहनु एक संयोग मात्र भएको उनको बुझाइ छ । उनले भने, ‘पार्टीको केन्द्रीय नीति निर्वाचन शशक्त बहिस्कार भन्ने थियो सोही बमोजिम बागमती ब्यूरोले कारबाहीको योजना बनाएको हो।’ उनले सो कारबाहीको निर्देशन त्यतिबेलाको पार्टीका बागमती ब्यूरो इन्चार्ज रहेका देव गुरुङले दिएका थिए।
निर्देशनका क्रममा आफूले गुरुङसँग प्रतिपश्न गदै पर्याप्त तयारी र प्रतिरक्षा गर्ने सामथ्र्य नभएर कारबाही गरिँदा प्रत्यूत्पादक हुने खतरा औंल्याएको बताउँछन्। तर गुरुङले अतिरञ्जनापूर्वक नलिन आग्रह गर्दै कारबाहीको निर्देशन दिएका थिए।
शर्माले भने, ‘उहाँ गुरुङजी इन्चार्ज हुनुहुन्थ्यो, मैले यस बिषयमा गम्भीर ढंगले कुरा राखे तर उहाँले पाटीृको निणर्य अनुरुपको कारबाही हो भन्नु भो म बागमती सदस्य थिएँ। ईन्चार्जको निर्देशन मानेर नै हामी कारबाहमिा होमिएका हौं।’
बैशाख १४ गते राति तीन जना सहभागी भएर काठमाडौका असन, इन्द्रचोक र क्षेत्रपाटीका प्रहरी बिटमाथि आक्रमण गरिएको थियो। असन क्षेत्रको नेतृत्व आफूले गरेका शर्मा प्रहरीबिटमा कारबाही गरीएसँगै पार्टीले ठूलो क्षति ब्यहोरेको बताउँछन्।
उनले भने, ‘पार्टीले निर्वाचन बहिस्कार गर्ने भन्यो तै पनि शशक्तरुपमा बागमतीको बैठकले कार्यानवयन गर्ने निर्णय गर्यो इन्चार्ज गुरुङको निर्देशन बमोजिम कारबाही गरिएको हो। तर प्रतिरक्षा गर्नसक्ने सामथ्र्य नहुँदा पार्टीको क्षति भयो सैयौं कायृकर्ता गिरफतार परे त्यसपछि त उपत्यकामा कार्यकर्ताविहीन हुने अबस्था समेत आयो।’
शर्माले बताए अनुसार सो कारबाही पछि पार्टीका अधिकांश नेता कार्यकर्तालाई प्रहरीले चरम दमन गर्दै गिरफ्तार गर्न थाल्यो त्यो समयमा राजधानीमा उक्त पार्टीका कार्यकर्ता विहीन भएका थिए। प्रायजसो पक्राउ र अन्य पक्राउ पर्ने डरले फरार भएकाले शून्यताको अबस्था आएको थियो।
शर्माका अनुसार सोही कारणले पार्टी नेतृत्वमाथि प्रश्न उठ्यो र वैद्यले नेतृत्वबाट राजीनामा दिँदै पार्टीका नेताहरुको एक तह घटुवा गर्ने निर्णय भयो। बैद्यभन्दा दोस्रो वरियतामा रहेका गजुरेल पार्टीको नेतृत्वमा नपुगी प्रचण्ड पार्टी महामन्त्री बन्न पुगे। सोही बेलादेखि प्रचण्ड हालसम्म आफूले नेतृत्व गरकोे पार्टीमा वैचारिक विमत्ती राख्नेहरु अलग भइसकेपछि उनी निर्विकल्प जस्तै देखिएका छन्।
प्रत्यक्ष सहभागीमध्ये शर्मा आफू बैद्य नेतृत्वको(क्रान्तिकारी माओवादी) मा छन् भने अर्का महत ब्यबसायसँगै नेपाली कांग्रेसमा आवद्ध रहेका छन्। आलोक भनिने यानप्रसाद गौतम माओवादी युद्धकालमा मारिएका हुन्।
सो घटनामा सामेल भएकामध्ये आलोकलाई माओवादी जनयुद्धकालमा पार्टीले कारबाही गरेको थियो। त्यही क्रममा सेनासँगको भिडन्तमा मारिएका थिए। जसलाई अझै पनि कतिपयले प्रचण्डविरुद्ध गतिबिधि गरेर कारबाही गरिएको बताइन्छ। उनको मृत्यूलाई रहस्यमय भन्दै टिकाटिप्पणी समेत हुने गर्दछ। उनलाई इंगित गर्दै माओवादीभित्र आलोक प्रवृत्ति भनेर समेत चर्चा गरिन्छ।
Facebook Comment