धानबालीमा क्षति पुगेका किसानलाई तिलोत्तमा नगरले दियो क्षतिपूर्ति

रुपन्देही । वर्षाले धानबालीमा क्षति पुगेपछि तिलोत्तमा नगरपालिकाले किसानलाई क्षतिपूर्र्ति दिएको छ । वर्षाले धानबालीमा क्षति पुगेका दुई सय ७० किसानलाई क्षतिपूर्तिबापत आज राहत रकम वितरण गरिएको हो ।
गत वर्ष धान भित्र्याउने बेलामा आएको बेमौसमी वर्षाका कारण धान बालीमा क्षति पुगेका नगरभित्रका किसानलाई राहत रकमस्वरुप रु आठ लाख ९६ हजार बराबरको रकम वितरण गरिएको उपप्रमुख जागेश्वरीदेवी चौधरीले जानकारी दिइन् । पीडित किसानले आफ्नो धान बालीको क्षतिका आधारमा रु दुई हजार १० देखि आठ हजार चार सय ८८ सम्म क्षतिपूर्ति रकम पाएका छन् । राहत रकमका लागि माग गरेका सबै किसानलाई रकम उपलब्ध गराइएको चौधरीले बताइन् ।
भदौ १० गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार सूचीकृत पीडित किसानलाई क्षतिपूर्ति रकम वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाँणले किसानका समस्या समाधान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए ।
Facebook Comment