त्रासदीको क्षण र संरक्षण प्रण

२३ सेप्टेम्बर २००६ को दिन भएको अकल्पनीय दुर्घटनाले विश्वभरिका प्रकृति र संरक्षणविद्हरुलाई स्तब्ध तुल्यायो। प्रकृति संरक्षणको क्षेत्रमा अपुरणीय क्षति पुग्यो।

ताप्लेजुङको घुन्सामा भएको त्यो हेलिकोप्टर दुर्घटनाको दिनलाई नेपालले “राष्ट्रिय संरक्षण दिवस” को रुपमा मनाउँदै आएको छ। यो दिवसलाई म क्यालेण्डरमा चिनो लगाएर राख्दछु र घुँडाले टेकेर पुगेको हुन्छु।

यो वर्ष कहाँ जाउँ, कता जाउँ भयो। चितवन, पोखरा, जोमसोम हापेर म मेरो प्रेरणाको युनिभर्सिटी विश्व बन्यजन्तु कोषको कार्यालयमा हातमा अगरबत्ती लिएर हाजिर भएँ। यो दिन म निम्तो कुरेर बस्दिन। स्वस्फूर्त जान्छु, गै छाडें। श्रद्धासुमन चढाएँ।

किन जान्छु

उहाँहरु मेरो प्रेरणाका श्रोत हुनुहुन्थ्यो। कति अग्लो संरक्षण कद, कति वजनदार संरक्षण व्यक्तित्व, कति निस्वार्थ संरक्षणत्याग र समर्पणभाव, कति बहुआयामिक संरक्षणछवि।

बर्णन गरिनसक्नुको समभाव, सप्रेम, सु-सम्बन्ध, समन्वय, सहकार्य र सहअस्तित्व। नेपालको सुन्दर र धनी प्रकृतिभित्र विश्वलाई खिच्न र खर्च गराउन सक्ने। नेपालको जैबिक बिबिधतालाई बिश्व समक्ष पुर्‍याउन देखाउन र बेच्न सक्ने। थिङ्क ग्लोबल्ली जस्तै एक्ट ग्लोबल्लीको अद्भूत क्षमतावान संरक्षण हस्तीहरुको अपूर्व टिम।

पहिला प्रकृति, संरक्षणलाई उच्च प्राथमिकता, मिलिजुली संरक्षण, संरक्षणमा जनसहभागिता जस्ता सामूहिक मूलमन्त्र र दूरदृष्टिलाई ब्यबहारमा उतारिछाड्ने उहाँहरुको दृढ संकल्प देखेर म मोहित भएको थिएँ।

पञ्चायतकाल होस् कि प्रजातन्त्र वा गणतन्त्रकाल, प्रकृतिले कुनै राजनीतिकाल र अमुक ब्यबस्थालाई चिन्दैन र त्यसले केवल इमान्दार संरक्षणलाई मात्र चिन्दछ भन्ने उहाँहरुको अटल विश्वासलाई कसरी स-सम्मान सलाम नगर्नु?

राजा हुन् कि मन्त्री वा सचिव, सत्यमा अडिग रहने, कामका पुजारी, कुशल, साहसिक र नमूना ती ब्यबस्थापक एवं चमत्कारी नेतृत्वलाई कुन भाषा र अलंकारले प्रशंसा गर्नु? माननीय वन मन्त्री गोपाल राई पंक्तिकारका निकट पारिवारिक सम्बन्धका युवा नेतृत्व हुनुहुन्थ्यो। हाम्रो अगाध आस्था र सम्मान थियो। किनभने उहाँ सरल र त्यागी संरक्षणवादी नेतृत्व हुनुहुन्थ्यो।

वर्तमान र भावी संरक्षण नेतृत्वहरुले संकृचित, संकीर्ण र हिनभाव त्यागेर संरक्षणछातामुनि एकढिक्का र गोलबद्ध भई प्रकृति संरक्षणप्रति एकाग्रसाथ समर्पित भएमा पुर्खाको नासो प्रकृतिको युगयुगसम्म रक्षा कल्याण सम्मान भइरहने छ।

जस्तो त्यो संरक्षण टिम, उस्तै संरक्षणप्रेमी जुझारु सैनिक नेतृत्व हुनुहुन्थ्यो। ऐतिहासिक संरक्षण खम्बा नेपाली सेनाले सम्पूर्ण हवाई श्रोत साधन र जनशक्ति लगाएर हराएको संरक्षण टिमको शीघ्र उद्धार उपचार गर्न पंक्तिकारलाई दिएको ठाडो मौखिक आदेश उहाँको सक्कली संरक्षण प्रतिबद्धता थियो। तर बिडम्बना संगठन प्रमुखसँगसँगै सम्पूर्ण संगठन शोकमा डुब्यो। हामी सबै मर्माहत भयौं।

भुल्न नसक्ने कुरा

नदी प्रणालीमा आधारित उत्तर दक्षिण भौगोलिक बिकासको अवधारणा होस् वा ५ विकास क्षेत्रको नाप नक्शाङ्कन सारै बैज्ञानिक र ब्यबहारिक थियो। डा. हर्क गुरुङ भएको भए न ७ प्रदेशको बिखण्डन बिभाजन हुन्थ्यो न २ प्रदेशको अबैज्ञानिक र अब्यबहारिक तेर्सो चिराको मधेस प्रदेश बन्ने थियो। मातृभूमिको दुर्भाग्य।

नेपालको सफल अभ्यास र अनुभव बिदेश लैजाने र बिदेशको ज्ञान, प्रबिधि, लगानी नेपाल भित्र्याउने शक्तिसाली मास्टर माइण्ड हुनुहुन्थ्यो स्व. मिङ्मा शेर्पा र उहाँको टिम। विश्व संरक्षण समुदायमाझ नेपाललाई स-सम्मान चिनाउने सेतु हुनुहुन्थ्यो उहाँ।

उहाँले भित्र्याएको दाता राष्ट्रहरुको संरक्षण दान र सहयोग हामीले खर्च गर्न सकेनौं। पंक्तिकारले भयो, पुग्यो, खर्च गर्न सकिँदैन भन्ने जवाफ दिइरहें। अहिले संरक्षण दान र सहयोग बिच्कियो, हरायो। दातृ राष्ट्रहरु उदास भए।

दाता, राज्य र स्थानीय समुदायलाई एकढिक्का बनाएर संरक्षणमा जनसहभागिता मोडलको परिकल्पना र सफल अभ्यास गर्नुभयो डा. चन्द्र गुरुङले। स्थानीय जनसहभागिताले संरक्षण क्षेत्रको ब्यबस्थापन र संरक्षण गर्ने उहाँको यो मोडलले राष्ट्रिय र बिश्व लोकप्रियता कमायो।

उहाँहरु भएकोभए आजको ३ तहको राज्य संरचना र प्राकृतिक श्रोतसाधनको बाँडफाँटमा जारी अन्यौलता र अस्पष्टता आउने थिएन। भड्किलो खर्चिलो, भद्धा, रिले र डिले प्रदेश तहको ठाँउमा स्थानीय तह मात्र सार्वभौम र श्रोतसाधन सम्पन्न हुने थियो कि।

ती परिकल्पनाकारहरु रहिरहेको भए कंचनजंघा संरक्षण क्षेत्र, ब्यबस्थापन र संरक्षणको क्षेत्रमा, धेरै छिटो फड्काे मारेर महंगा पर्यटकहरु भित्र्याई समृद्धिको भर्‍याङको माथिल्लो खुड्किलोमा पुगिसकेको हुने थियो।

पढाई बिद्वता, बिज्ञता त्यो टिमसँग थियो। भिजन र हिम्मत राजा महेन्द्रसँग थियो। बिकट बर्दिया राष्ट्रिय निकुञ्जमा सिधै चार्टर जहाजबाट उच्चक्लासका प्रकृतिप्रेमी विश्वपर्यटक पुर्‍याउने उद्देश्यले एयरस्ट्रिप बनेको थियो। चितवनको मेघौली जस्तै। सगरमाथाको स्याङबोचे, शुक्लाफाँटा, राराको ताल्चा जस्तै कंचनजंघाको सुकेटार बिमानस्थल। निकुञ्ज र संरक्षणक्षेत्रमा सोझै छिटो पुग्ने माध्यम।

अहिले ती नेतृत्वसँगै पुराना सुन्दर भिजन मिसन खुइलिए। ती सुन्दर बिमानस्थल गौचरण र मुन्द्रे ट्यापेले टिक्टक् खेल्ने चौर भए।

ती भिजनरी संरक्षण नेतृत्वसँग दौडको तालमा ताल मिलाउन तत्कालिन सैनिक नेतृत्वले द्वन्द्वले क्षतिग्रस्त प्रकृति संरक्षण जिम्मेवारी उठाउन र क्षतिपूर्ति गर्न हवाई रेकी लगायत आफू चढेको मोटरसमेत फिल्डमा पठाएर मोबिलिटी चुस्त, नयाँ रेडियो सेट दिएर कम्युनिकेसन चुस्त बनाउने आदेश दिए। कार्यान्वयन गराउने म आफैं हुँ। प्रकृतिलाई संकटमुक्त गर्न प्रतिबद्ध त्यो दरो र दुर्लभ टिमप्रति म नतमस्तक छु, कृतज्ञ छु।

शोकलाई राष्ट्रिय संरक्षण दिवसले शक्तिमा परिणत गरिदियो। शून्य सिकार लगायतका उपलब्धिले निकुञ्ज भरिए। बन्यजन्तु बढे। आज १६ बर्षपछि संरक्षण चुनौती फेरिए। वनजंगल मासिए। पानी हरायो, बन्यजन्तु बाहिरिए। संरक्षण पुनराबलोकनको समय घर्किसक्यो।

हामी ती संरक्षण सहिदहरुको स्मृतिदिवसलाई संरक्षण दिवस मनाएर ब्याज खाइरहेका छौं। संरक्षणका वर्तमान ठेकेदारहरु कोही चितवनमा, कोही पोखरा र जोमसोममा, कोही स्वदेश, बिदेससयरमा। दिवसको उपहास। अब यसलाई संरक्षण स्मृतिदिवस भनेर राष्ट्रिय  संरक्षणदिवस बाँकी विश्वसँग एकाकार भएर मनाउन शुरु गर्ने कि? सानो सुझाव।

संरक्षणमा नेतृत्व खडेरी

अध्ययन, अनुसन्धान, पीएचडी जारी छ। बिज्ञहरुको उत्पादन बढेको छ। बिज्ञको खाँचो छैन। तर फिल्डमा खडेरी छ। फिल्ड-केन्द्र र बिश्वलाई जोड्ने सेतु हराएको छ।

आजको नेतृत्व भुंइफुट्टा भए। छिचिमिरा जस्ता धेरै बोल्ने, आफ्नो बयान गरेर नथाक्ने, आफ्नो प्रचारप्रसारमा रमाउने भए। आत्मकेन्द्रित हुँदा फिल्डमा हराए। विश्वमञ्चमा डराए र हराए। राजनीतिक नेतृत्वको पुच्छर र चम्चे भए। ठेकेदारप्रिय भए। सबै संगठन, निकाय, विभागको साझा समस्या र रोग हो यो।

विद्या, बिज्ञता र ब्यवस्थापन एवं नेतृत्व दुई फरक गुण र क्षमता हुन्। बिज्ञतामा टेकेर माझिएर निखारिएर नेतृत्वमा पुगेको ब्यक्ति सशक्त र निडर हुन्छ। डा. तिर्थमान मास्केको गोही अध्ययन अनुसन्धान र प्रजननकेन्द्र गर्व योग्य थियो।

ब्यवस्थापन उदाहरणीय थियो। नेतृत्व साहसिक, गतिशील र दूरदर्शी थियो। संरक्षण दिवस खुइलिएसँगै आज उहाँको गोही प्रोजेक्ट किन समस्याग्रस्त छ? संरक्षण दिवसको उपहास।

संरक्षण सुझाव

सरकार दक्षिण कोरिया मोडलमा अग्रसर छ। मै जान्ने मै सुन्ने अहंकारले सरकार एक्लिएको छ। संरक्षण साझेदार संघ-संस्थाहरुलाई पेल्ने, नगन्ने र शोषण गर्ने बिकृतिले उ ढोंगी र भुत्ते भएको छ।

फलतः संरक्षण साझेदार संघसंस्थाहरु लाखापाखा लागेका र भागेका छन्। इनडोरप्रेमी, आइसोलेसनप्रेमी र फेसबुकप्रेमी भएका छन्। चुनौतीसँग जुध्न लड्न छाडेर भागारेभाग छ। दिवसको उपहास।

स्मरण रहोस् संरक्षण साझेदार चुस्त दुरुस्त भएनन् भने बृहद् संरक्षणटिम र टिमवर्क भताभुङ हुन्छ। सबैको हौसला र मनोबल गिर्दछ। स्थानीय संरक्षण समुदाय र सिबिएपियु भुत्ते हुन्छन्। सैनिकहरु जंगलमा गर्ने सर्च र स्वीप अभ्यास कक्षा कोठामा पढेर झारा टारिदिन्छन्। दिवसको चरम उपहास।

अन्त्यमा

चरम राजनीतिक बिकृतिको बाबजुद बिश्व परिवेशमा नेपालको प्रकृति संरक्षण पहल र प्रयास उत्कृष्ट र कदरयोग्य छ। कस्तो जग होला प्राचीन संरक्षणहस्तीहरु र ती संरक्षण सहिदहरुको?

वर्तमान युवा संरक्षणबिज्ञ र नेतृत्वहरु उदासिन र पलायन होइन साहसिक, सत्यवान र स्वाभिमान भै सगरमाथा जस्तो अटल भएर उभिन जरुरी छ। प्रकृति बिरोधी राजनीतिक बिकृतिलाई सके सुधार्ने नसके त्यसको खिलाफमा जीउ ज्यान जागिर चढाएर निर्भय साथ लड्न जरुरी छ।

अझ प्रकृति र संरक्षणप्रेमी वर्तमान र भुतपूर्वक सुरक्षा निकायहरु, निजामती कर्मचारीहरु, प्राबिधिकहरु तथा सम्पूर्ण राष्ट्रसेवकहरुले वातावरण सुरक्षा, राष्ट्रहित एवं राष्ट्रिय सुरक्षाका खातिर राष्ट्रघाती थोत्रे दलहरुको फेरो समातेर पटकपटक असफल भइसकेका थोत्रे बृद्धबृद्धा नेतृत्वलाई होइन, जुनसुकै दल वा स्वतन्त्र किन नहुन, विवेकी, बिद्वत्, सशक्त र सुशासन दिनसक्ने प्रतिबद्ध त्यागी युवा नेतृत्वलाई चयन गर्न जरुरी छ।

७० बर्ष एउटै गल्ती दोहोर्‍याएर प्रकृति र मातृभूमि सखाप पार्ने निकम्मा, लिच्चड् भ्रष्ट नेतृत्व छानिरहने हामी मतदाताहरु सच्चिन र सुध्रिन यो निर्वाचन अन्तिम र दुर्लभ अवसर हो।

वर्तमान र भावी संरक्षण नेतृत्वहरुले संकुचित, संकीर्ण र हिनभाव त्यागेर संरक्षणछातामुनि एकढिक्का र गोलबद्ध भई प्रकृति संरक्षणप्रति एकाग्रसाथ समर्पित भएमा पुर्खाको नासो प्रकृतिको युगयुगसम्म रक्षा कल्याण सम्मान भइरहने छ। र, त्यो गर्विलो उपलब्धि संरक्षण सहिदहरु प्रति सच्चा श्रद्धासुमन हुने छ।

(लेखक संरक्षणकर्मी हुन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *