जापानमा दशैं मनाउन गएकी नेपाली महिलाको सडक दुर्घटनामा मृत्यु

टोकियो । जापानमा एक नेपाली महिलाको मृत्यु भएको छ । अष्ट्रेलियाबाट दशैं मनाउन भनेर आएकी सुनिता केसीको जापानको साइतामा प्रिफेक्चरको याचुकामा सडक दुर्घटनामा परी मृत्यु भएको हो ।
सुनिता हरेक दिन इभिनिङ वाकका लागि घर नजिकको बाटोमा हिड्ने गरेकी थिइन् । यही क्रममा बुधबार राति १० बजेतिर ट्रिपरको ठक्करबाट उनको मृत्यु भएको बताइएको छ । सुनिताका पिता दुई छोरी र एक छोरासहित सपरिवार याचुकामा बस्थे । केसीका दुबै छोरी उच्च शिक्षाका लागि अष्ट्रेलिया गएको अनि छोरा भने जापानमै रहेको बुझिएको छ ।
मृतकको उमेर २९ वर्ष भएको बताइएको छ । केहि महीना अघि नर्सिङ अध्ययन गर्न भनेर अष्ट्रेलिया गएकी केसी परिवारसँग दशैं मनाउन ४ दिन अगाडि जापान आएकी थिइन् । मृतकका पिता मिन बहादुर केसीका अनुसार उनी एक महिना बस्ने गरी आएकी थिइन् ।
Facebook Comment