परदेशबाट सम्झिएको त्यो दशैं, वाह् दशैं

सन्तोष चिमरिया
१७ असोज २०७९ १०:५९

सुन्दा नरमाइलो सुनिन्छ । तर दिवङ्गतहरुलाई श्रद्धाञ्जली नै उचित र औपचारिक शब्द हो । दशैं मेरो जीवनमा थियो तर अब रहेन ।

त्यसैले दशैंप्रति हार्दिक श्रद्धाञ्जली !

दशै हिजोआज फेसबुकका भित्ताहरुमा आउँछ, जीवनमा आउँदैन ।

त्यसैले दशैंप्रति हार्दिक श्रद्धाञ्जली !!

दशैं हिजोआज भित्तामा झुन्डिएको पात्रोमा आउँछ, जिवनमा आउदैन ।

त्यसैले दशैंप्रति हार्दिक श्रद्धाञ्जली !!!

तर जसरी छोडेर जानेहरूको सम्झना मनको अन्तर्कुनामा सुषुप्त भएर बसेको हुन्छ । अनि जसरी ती सुषुप्त सम्झनाहरु पुण्यतिथि परेर भुर–भुर उडेर बाहिर निस्कन्छन्, त्यसरी नै दशैंको सम्झना पनि भँगेराझै मनको गुँडबाट भुर–भुर निस्केर हावामा मिठा अतीतका भाका चिर्बिर चिर्बिर गाउन सुरु गरिसकेको छ ।

गजुरेल माइला हजुरबाको सिमानामा रहेको हाम्रो “आकाश छुने” सिमलको रुखको उचाइ छिचोलेर घामका न्याना किरणहरु जब आगनमा शितका थोपाहरु टल्काउँदै झलमल्ल हुन्थे, दशैंको प्रारम्भिक आगमनको रोमान्चकताले मन कस्तो सिमलको भुवाझैं हुन्थ्यो । थोरै कुत्कुती र धेरै उमंगले मनको चङ्गा हावामा उडान गर्न सुरु गर्दथ्यो ।

अनि जति शरद छिप्पिदै र घामका किरणहरु अरु न्यानो र अरु प्यारो हुँदै जान्थ्यो त्यति नै दशैंको पदचाप घनिभूत हुँदै मनको रोमाञ्चकतालाई अरु उत्ताउलो बनाइदिन्थ्यो । अनि हावाका बहावहरु दशैंको सुभाष बोकेर सिंगो धान बारी हल्लाउँदै शरीरमा रोमाञ्चक स्पर्श गर्न आइपुग्थे । पहेलपुर भएर पाकेका अगुवा बास धान बुढो मान्छेजस्तो गरुंगो गरी र हरियो पछुबा मन्सुली र बासमती तरुनीझैं नाचेर दशैंको आगमनलाई हर्दिक स्वागत गर्ने गर्थे ।

दशैंले सिङ्गो गाउँ उत्सवमय भैसकेको हुन्थ्यो । सबैका घर घरमा शहादत प्राप्त गर्ने खसीबोकाको पहिचान भैसकेको हुन्थ्यो ।

“हाम्रो सिंगारे काट्ने !”

“हाम्रो काले !”

हाम्रो त पेटारे काट्ने हो ! पुगेन भने दिदीभिनाजु आएपछि मट्यांग्रे!”

त्यसपछि सामूहिक लिङ्गेपिङलाई जुटदान अभियान !

जुटलाई तराईमा पाटा पनि भन्ने चलन छ । त्यही पाटाका भेडा संकलनको नेतृत्व प्राय खडानन्द उर्फ खडे दाइले गर्ने गर्थे । सदस्यहरुमा श्री इश्वरी र श्री राजन । हाम्रा पाठक माइला मामा गफैले १०० हात लामो डोरी बाटिदिन्थे । मेरा स्वयंका मामा चाहिँ अध्यक्षता ग्रहणमा रुचि राख्थे । गाई गोरु छेक्न बनाइएको सखुवाका गतिला ढाटमा आसन ग्रहण गर्थे र लठ्ठा तयार भइन्जेल सिन्को सम्म नभाँची अध्यक्षता ग्रहणको जिम्मेवारीबाट भाग्दैनथे ।

धिताल माइला, राउत काजी र होमराम मामा लिङ्गो गाड्ने खाडल खन्ने वीर पुरुषहरु हुन् । दर्शकदीर्घामा पण्डितका घरदेखि गोतामेका घरसम्मका ३० घरधुरीका १०–७५ सम्म उमेर समूहका सबै ।

सधै नछुटाई अनुपस्थित हुने एउटै घर – सुवेदी जेठाको ।

“जाने होइन अर्जुन ?”

पहिलोचोटि सोध्दा घोसे मुन्टो लगाउँथे ।

“होइन नजाने ?”

दोश्रोपटक सोध्दा, एक्छिनमा आउँछु भनेर माथि टाँडमा उक्लिन्थे ।

यसरी उपस्थित, अनुपस्थित सबैको साझा लिङ्गे पिङ, ५ जना निर्माता, ३५ जना अवैतनिक सल्लाहकार र १५० जना दर्शकको व्यापक जनसहभागितामा चार खुट्टा टेकेर खडा हुन्थ्यो र सिङ्गो गाउँ चचहुईईईइ चचहुईईईई… ।

खसी काटिसकेपछि भने दशैं गाउँको लिङ्गे पिङ र तासघरबाट सुत्त‐सुत्त आ–आफ्ना घर पस्थ्यो । ठूलो आरीमा मासु, सानो आरीमा रक्ती, चुलोमाथि ह्याकुलो र डुडीखुट्टा, अगेनामा फल मासु र बाल्टीमा आन्द्रा भुँडी ।

आहा ! अब कतिमात्रै खानु !

अनि क्लाइमेक्समा टीका ग्रहण । टीका ग्रहण अनि त्यस बापत हातलाग्ने उही दक्षिणा । ट्याक्कसंग ५ का राता नोट अक्षेताले अरु राता भएका २ थान अर्थात् रु १० !! हातमा नयाँ नोट । ज्यानमा रंगेली बजारको नंयाँ लुगा । निधारमा टीका, कानमा जमरा । तुफानी तालमा दगुर्दै गएर मङ्गलबारे बजारमा, भोटे र पर्तुले पार्टनरसिपमा चलाएको ढाइसमा रु १० चढाएपछि दशै समाप्त हुन्थ्यो ।

यसरी दशै साच्चै आउने गथ्र्यो । आउँथ्यो, झक्झकाउँथ्यो, नचाउँथ्यो, हसाउँथ्यो र बिदाबारी भएर अर्को बर्ष आउने बाचाका साथ विदा हुन्थ्यो ।

आज म मेरो गाउँ, मेरो देश र मेरो दशैं सम्झिरहेको छु । मेरा साथीभाइ, मेरो मङ्गलबारे र मेरो रन्जनी सम्झिरहेको छु । मेरो सिमलको रुख, मेरो बाँसघरी र मेरो कडियाखोला केहीपनि मेरो सम्झनाको ऐनाबाट ओझेल परेको छैन । तीर्थे , तिलक, देविन्द्र, रमेश, सरोज सबै सबैलाई सम्झिरहेको छु ।

र, सबैभन्दा धेरै ती दशंैहरुलाई सम्झिरहेको छु जुन मेरो भागमा परेका थिए । र जसको स्वामित्व मेरो नाममा दर्ता थियो । जुन दिवङ्गत थिएन । जीवनका सबै रङहरुले रंगीचंगी भएको जीवन्त दशैं थियो ।

अन्त्यमा देशमा दशैं मनाइरहेका र परदेशमा फेसबुकका भित्तामा र क्यालेन्डरमा दशैंको तिथि हेरेर मेरोजस्तै दशैं सम्झिरहेका सबैमा विजया दशमीको धेरै धेरै शुभकामना !




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *