प्रचण्डका लागि गोरखा नै सहज

विजयप्रसाद मिश्र
१९ असोज २०७९ १५:२८

असोज २३ गते प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदारी दर्ता गर्ने मिति तय भएको छ ? पूर्वप्रधानमन्त्रीहरु मध्ये उम्मेदवारी दिन चाहने सबैको स्थान तय भइसकेको छ । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ को भने अझै गोरखाको २ नं. क्षेत्र कि चितवनको ३ नं. क्षेत्र भनेर तय भइसकेको छैन । उनलाई दुबै जिल्लाबाट उम्मेदवार बन्न प्रस्ताव आइरहेको छ ।

प्रचण्डलाई चितवन भन्दा गोरखाको क्षेत्र नं. २ जित्नका लागि सहज भएको माओवादीहरुको आकंलन छ । गोरखाको क्षेत्र डा. बाबुराम भट्टराईले यस अघि नारायणकाजी श्रेष्ठलाई हराएकोले यसको राजनीतिक महत्व पनि छ । माओवादी केन्द्र भित्र डा. बाबुराम भट्राई प्रवेश गरेपछि उनलाई व्यवस्थापन गर्न प्रचण्डलाई हम्मे हम्मे परेको थियो ।

भट्टराई र नारायणकाजी श्रेष्ठ बीचको विवादलाई मिलाउन कै लागि भएपनि दुबैलाई उक्त क्षेत्र छोड्न लगाएर आफू नै उम्मेदवार हुन प्रचण्डका लागि सही निर्णय पनि हुन्थ्यो । माओवादीभित्र प्रचण्डलाई चुनौती दिने दुई व्यक्ति डा. भट्टराई र श्रेष्ठ नै हुन् । दुबैबाट उक्त क्षेत्र खोस्न पाए पार्टीभित्र एकछत्र कायम गर्न समेत प्रचण्डलाई सहज हुने भएकोले गोरखा चयन गरेर प्रचण्डले एक तिरले दुई होइन कि तीन शिकार हान्न पाउने देखे ।

पहिलो शिकार तर आफूलाई पार्टी भित्र चुनौती दिन सक्ने नारायणकाजी श्रेष्ठ र डा. बाबुराम भट्टराई भए । दोस्रो शिकार भनेको निर्वाचनमा माओवादी केन्द्र एक्लैले पनि गोरखामा प्रचण्डलाई जिताउन सक्ने अवस्था छ । तेस्रो शिकार भनेको गठबन्धन रहे पनि नरहे पनि अब प्रचण्डलाई कुनै चिन्ता हुन्न ।

गठबन्धन भए पनि निर्वाचनपछि पाँचदल मध्ये चारदलले प्रधानमन्त्री स्वीकार गर्ने भनेको प्रचण्डलाई नै हो । अहिलेको सिट बाँडफाँड हेर्दा नेपाली कांग्रेसले ५० प्रतिशत नपाउने भएपछि अन्य दलले शेरबहादुर देउवालाई भन्दा प्रचण्डलाई समर्थन गर्दा भविष्यको प्रधानमन्त्री हुन सकिन्छ भन्ने रणनीतिमा प्रचण्ड लागेका छन् । यसका लागि निर्वाचनका बेला देश दौडाहामा उनी घुम्न पाउँछन् । आफू सुरक्षित हुने भएपछि प्रचण्डले सबैभन्दा बढी प्रहार गर्ने भनेकै केपी ओली र शेरबहादुर देउवालाई हो ।

डडेलधुरामा माओवादीले शेरबहादुर देउवालाई अन्तर्घात गरेमा नेपाली कांग्रेस बीपी र एमाले मिलेको खण्डमा स्वयं देउवा पनि सुरक्षित नहुने अवस्था देखिएको छ । त्यसैले प्रचण्डले गोरखा ताकेर एक तिरले तीन शिकार गर्दैछन् ।

माओवादी केन्द्रले बुझाएको समानुपातिको नामावलीबाट आकस्मिक रुपमा कृष्णबहादुर महराको नाम झिकेर एक नम्बरमा खसआर्यबाट गोरखा क्षेत्र नं. २ बाट माओवादीबाट प्रत्यक्षमा उम्मेदवारी दिन तयार रहेका हितराज पाण्डेलाई समानुपातिक नामावलीमा समावेश गर्नु नै प्रचण्डको फाइनल निर्णय गोरखा हो भन्न सकिन्छ ।

गोरखाका मानिसहरुले हौसिँदै प्रचण्डलाई भन्न भ्याएका छन्् कि चितवनमा कांग्रेसको बैशाखी टेक्नुपर्ने अवस्था छ । तर गोरखामा मनोनयन पत्र दर्ता गरे पुग्छ । गोरखाका माओवादीहरुले प्रचण्डलाई जिताएर पठाउने काम हाम्रो हो भनेका छन् । अध्यक्ष प्रचण्डले रोल्पा, काठमाडौं, सिरहा र चितवनबाट जिते अब गोरखाको पालो भन्ने आबाज समेत गोरखाकाले उठाउन भ्याए ।

गोरखा–२ बाट २०७० को निर्वाचनमा माओवादी केन्द्रका सचिव हितराज पाण्डेले जितेको स्थान हो । उनलाई रातारात समानुपातिक सूचीमा थपिएकोले पनि प्रचण्डको भित्री डिजाइन नेपाली कांग्रेसलाई अल्मलाएर निर्वाचनमा कांग्रेस कांग्रेसबीच नै लडाएर नेपाललाई बामपन्थीमय बनाउने चीनको रणनीतिलाई सहयोग गर्नु समेत हुन सक्छ ।

प्रचण्ड गोरखाबाटै लड्ने कुराको सुइँको डा. बाबुराम भट्टराईले पनि दिइसकेका थिए । उनले माओवादीसँग पार्टी एकता गर्ने घोषणा समेत गरेका थिए । तर पछिल्लो समयमा गोरखा–२ बाट निर्वाचन नलड्ने घोषणा गर्ने क्रममा डा. भट्टराईले आफूभन्दा सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व गोरखाले पाउने भन्नुलाई पनि उनीभन्दा सक्षम को हुन्छ त भन्दा प्रचण्ड भन्न सकिन्छ ।

स्वयं प्रचण्डले आफूसंग चिनवनबाट भेट्न आएको जम्बो टोलीलाई आफूले जस्तो निर्णय पनि लिन सक्ने जवाफ दिनुले चितवन र गोरखामध्ये जुन पनि स्थानमा उठ्न सक्ने बताएका हुन् । प्रचण्डले थपेर भनेका थिए कि प्रत्येक निर्वाचनमा फरक–फरक क्षेत्रबाट लडेकाले यसपटक अन्यत्र जान पनि सक्छु । अझ फुर्केर प्रचण्डले ‘हरेक पटक निर्वाचन क्षेत्र फेर्न सक्ने भएर नै प्रचण्ड भएको हो’ भन्न समेत छोडेनन् ।

यसको मतलब गठबन्धन भंग भएमा गोरखा सुरक्षित भनेर मास्टर प्लान बनाएको हो भन्ने सहजै बुझिन्छ । नवमीको रातसम्म गठबन्धनले सिट बाँडफाँड नमिलाउनुमा कतै प्रचण्डले चीनको डिजाइनमा अन्तिमतिर बामपन्थीहरु कुनै न कुनै रुपमा मिल्ने गरी अघि बढ्न त खोजेका होइनन् भन्ने आंकलन गर्ने आधार छ ।

उता नवमीकै दिन केपी ओलीले झापामा दशैं मनाउँदा सबै पार्टीका जिल्लाका नेताहरुलाई बोलाएर राष्ट्रियताका लागि सबै एक हुनुपर्ने र बहुदलीय प्रतिस्पर्धामा जानुपर्ने भनेर राष्ट्रवादी शक्ति नमिले मुलुक नै खतरामा पर्ने संकेत दिएका हुन् भन्ने बुझ्नुपर्ने हुन्छ ।

झापाले पाएको प्रधानमन्त्री गुमाउन झापाली चाहँदैनन् । उनीहरु झापाको विकासका लागि फेरि पनि एकआपसमा मिलेर केपी ओलीलाई सहजै चुनाव जिताउन भित्रभित्रै आन्तरिक सहमतिमा गएको हल्ला चलिरहेको छ ।

ओलीलाई हराउन नसक्दा प्रचण्ड कम्तिमा शेरबहादुर देउवालाई हराउनकै लागि भएपनि चितवन छाडेर गोखरा जान लागेको देखिन्छ । काठमाडौं–१० बाट दोहोर्याएर लड्दा प्रचण्ड पराजित भएकाले उनी चितवनमा पनि दोहोर्याउँदा त्यही हविगत होला भन्ने भयले गोरखा जान लागेका हुन् । प्रचण्डका लागि चितवन डेन्जर जोन हुनुमा नेपाली कांग्रेसभित्रकै कलह र रामबहादुर थापा बादल हुन् ।

रेनु दाहाललाई मेयर हराउन कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले बागी उम्मेदवार भएका थिए । धन्न चितवनका देउवा र शेखर कोइराला समूहले अन्तिममा रेणु दहाललाई साथ दिएकाले उनी मेयर हुन सफल भइन । तर अहिले परिस्थिति परिवर्तन भएको छ । चितवनमा डा. शेखर कोइरालाका पक्षधरहरु अहिले प्रचण्डको विरोधमा छन् ।

अहिले चर्चामा रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिनेश कोइराला प्रतिनिधिसभा सदस्यको टिकटका दावेदार छन् । गुरुराज घिमिरेले चितवनमा प्रचण्डविरुद्ध उम्मेदवारी दिन्छु समेत भन्न थाले । यस्तो कचिङ्गलमा बस्न प्रचण्डको लागि राम्रो होइन ।

उता चितवनमा रवि लामिछाने, राप्रपाका विक्रम पाण्डे र एमाले समेत प्रचण्डविरुद्ध एक ठाउँमा उभिने सम्भावना रहेको देखिन्छ ।

स्थानीय निर्वाचनको मत विश्लेषण गर्दा समेत चितवन ३ मा भरतपुर महानगरपालिका र माडी नगरपालिका पर्छन् । प्रचण्डलाई भनिएको क्षेत्र ३ मा पर्ने भरतपुरका १९ वटा वडामध्ये १० वडामा नेपाली कांग्रेसले ३ वटामा माओवादी केन्द्रले र एउटामा नेकपा एमालेले वडाअध्यक्ष जितेको छ ।

त्यसैगरी माडी नगरपालिकामा ओवादी केन्द्रले २०७४ को निर्वाचनमा जितेपनि यसपटक राप्रपाको साथलिएर एमालेले प्रमुखमा जितेको छ भने उपप्रमुख नेपाली कांग्रेसले जितेको छ ।

माडीका ९ वडाहरु हेर्दा ४ वटा वडामा मात्र माओवादीले जितेको छ । राप्रपा र कलम छापवाला एकीकृत समाजवादीले दुई–दुई वडामा जितेको छ भने एमालेले एउटा वडा जितेको छ ।

चितवन क्षेत्र नं. ३ को समग्र वडा अध्यक्षहरुको मतलाई विश्लेषण गर्दा एमालेले २९ हजार ७७१ र नेपाली कांग्रेसले २९ हजार ३४३ मत पाएको छ । जवकि माओवादी केन्द्रले १० हजार ९४० मत पाएको छ । राप्रपाले ६ हजार १९८ र एकीकृत समाजवादीले ५ हजार ३७ मत पाएको छ ।

यो मतको आधार मान्दा समेत प्रचण्ड चितवनबाट जित्ने सम्भावना छैन । प्रचण्डलाई हराउनका लागि भारत र अमेरिका समेत लाग्न सक्दछन् । अथवा भनौंं प्रधानमन्त्रीको एउटा दावेदारलाई पन्छाउनका लागि अप्रत्यक्ष रुपमा शेरबहादुर देउवा र केपी ओलीबीच मै पनि जेण्टलम्यान एग्रिमेन्ट हुन सक्दछ ।

माथिका सबैखाले विश्लेषणलाई चितवनकाले जतिसुकै अनुरोध गरुन, प्रचण्ड यसपाली गोरखा नै जान्छन् । जानु पनि पर्दछ । प्रचण्डका लागि गोरखा नै सहज छ ।

तर, के गोरखामा एमालेले उठाउन खोजेका अब्दुस मियाँसँग टुरिस्ट उम्मेदवार प्रचण्डले प्रतिस्पर्धा गर्न सक्लान ? अहिले स्वतन्त्रको हल्ला बढी छ । पहिले स्वतन्त्र भनेर चर्चामा आएकी काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अन्तिम चरणमा आएर एमालेको टिकट लिएजस्तै अब्दुस मियाँ स्वतन्त्रबाट उठ्ने राम्रो भिजन र लगन भएको युवा व्यक्तित्व हुन् ।

सुनितालाई टपक्क टिपेजस्तै मियाँलाई एमालेले टिपेको मात्र हो । उनी सबै तटस्थ नागरिकको साझा उम्मेदवारको रुपमा उदाएका छन् । प्रचण्डलाई मियाँले नै ठेगान लगाउने हुन कि ? प्रधानमन्त्री हुन्छु भनेर हल्ला गर्ने प्रचण्डलाई गठबन्धन भित्रको अन्तर्घातको शिकार बनाउन खोजियो भने गोरखामा पनि जित्न भने सक्दैनन् । चितवनमा रवि लामिछानेको त्रास भएजस्तै गोरखामा अब प्रचण्डको लागि अब्दुस मियाँ भारी पर्ने देखिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *