मदन भण्डारीको हत्याका योजनाकार गिरिजाप्रसाद हुन् : उमेश गिरी
यसरी बनेको थियो योजना

बिराटनगर। नेपाली कांग्रेसका पुराना कार्यकर्ता एवं कोइराला परिवारका अत्यन्त विश्वासपात्र भनेर चिनिने कुनै जमानाका चर्चित व्यक्ति उमेश गिरीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको हत्याको योजना तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेको दावी गरेका छन्।
डिसी नेपालका विजय मिश्रसँगको कुराकानीका क्रममा सो बेलाका अत्यन्त चर्चित नेता भण्डारीको हत्याको योजना घटनाभन्दा छ महिना पहिला विराटनगरको कोइराला निवासमा बनाइएको दावी पनि गरेका छन्।
जनताको बहुदलीय जनवादका प्रणेता भण्डारीको २०५० जेठ ३ गते दासढुंगामा उनी चढेको जीप त्रिशुली नदीमा खसेपछि निधन भएको थियो। त्यसयता उनको हत्या भएको हो कि दुर्घटनामा मृत्यु भएको हो भन्ने विवाद जारी छ।
यही विवादका बीचमा तत्कालीन प्रधानमन्त्री कोइरालाका विश्वासप्राप्त उमेश गिरीले नयाँ खुलासा गरेका छन्। मदन भण्डारीको दुर्घटना हुनुभन्दा ६ महिला अघि २०४९ कात्तिक १६ गते विहान कोइराला निवासको नोना कोइराला बस्ने कोठामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नोना कोइराला र आफूबीच कोठाको ढोकाको चुक्कुल लगाएर मदन भण्डारीका बारेमा गोप्य कुराकानी भएको उनले बताए।
भण्डारीको हत्याको योजनाका बारेमा उमेश गिरीले कात्तिक १६ गते नै सुँइको पाएको उनको दावी छ। सरकारी आयोगहरुले उक्त घटनालाई दुर्घटना भने पनि गिरीले सोमबार बिराटनगरकै उनको निवासमा गरेको कुराकानीमा कुनै बाह्यशक्तिको दवावमा गिरिजाप्रसाद कोइरालाले मदन भण्डारीको हत्याको योजना बनाएको र त्यो योजनामा आफूलाई समेत सामेल हुन गरिएको अनुरोध स्वीकार नगरेको दाबी गरेका छन्।
घटनाको सम्झना गर्दै गिरी भन्छन्, २०४९ सालमा लोकल इलेक्सन भई सकेको थियो । कात्तिक १६ गते मोरङको कर्सियामा बीपी कोइरालाको सालिक सिलन्यास गर्नका लागि एकदिन अघि नै कात्तिक १५ गते गिरिजाबाबु बिराटनगर आउनु भएको थियो । कार्यक्रमपछि उहाँहरु कोइराला निवास फर्किनु भयो । साँझ ७ बजे नोना कोइरालाले मलाई फोन गरेर उमेश, एउटा सिरियस कुरा छ, तिमीसँग सल्लाह गर्नु छ । भोलि विहान जतिसक्दो चाँडो आऊ न भनेर बोलाउनु भयो।’
गिरी भन्छन्, ‘म भोलिपल्ट विहान छ बजे कोइराला निवास पुगेँ । घरमा माथिल्लो तल्लामा उक्लिँए । पहिले नोना कोइरालाको कोठा आउँथ्यो । म माथि उक्लिँदै गर्दा शेखर कोइराला र आमोद प्रसाद उपाध्याय कोठाबाट निक्लदै थिए ।’ उनले थपे, ‘म नोना आमाको कोठामा पसेँ । म भित्र पसेपछि गरिजाबाबुले आऊ आऊ भन्नु भयो । नोना आमाको कोठामा उत्तरपट्टीमा पलङ थियो, पश्चिमतिर भूँईमा बस्ने ठाउँ थियो।’
‘गिरिजाबाबुले ढोकाको चुक्कुल लगाऊ भन्नु भयो । म चुकुल लगाएर भूईमा बसे । नोना कोइराला र गिरिजाप्रसाद कोइराला पलंगमा बस्नु भएको थियो । गिरीजाबाबुले चुरोट तानिरहनु भएको थियो।’
त्यो दिनको सम्झना गर्दै गिरी भन्छन्, ‘एकछिन चकमन्न भयो । गिरजिाबाबुले नोना कोइरालालाई भन्नुस न भन्नुस भन्नु भयो । नोना कोइरालाले पनि तपाई नै भन्नुस न भन्नुभयो।’ ‘त्यसपछि गिरिजाबाबुले मलाई भन्नु भयो, कुरा सिरियस छ, मदन भण्डारीलाई सीन आउट गर्नु पर्याे ।’ गिरीले कल्पना नगरेको कुरा भएकोले आश्चर्य मान्दै भने, ‘होइन के भन्न खोज्नु भएको ?’ कोइरालाले तत्काल गिरीलाई सम्झाउँदै भने, ‘मदन भण्डारीलाई सीन आउट गर्न सकिएन भने नेपाली कांग्रेस नै सीन आउट हुन्छ।’
सीन आउट गर्ने कि नगर्ने भन्नेबारे दुबै तर्फबाट विभिन्न तर्कहरु दिइएको दावी गिरीले गरेका छन्। गिरीले यो कार्यमा आफू सहभागी नहुने बताउँदा गिरिजा कोइरालाले ‘मलाई प्रेसर छ, कुरा बुझन’ भनेको गिरीले डिसी नेपाललाई बताए।
उमेश गिरीले कोइरालालाई कसको प्रेसर भनेर सोध्ने हिम्मत त गरेनछन् तर उनले आफैं अनुमान लगाउँदै डिसी नेपाललाई भने, ‘त्यो प्रेसर बाहिरी थियो । यो बुझ्नुस भारत नै हो।’
आफू अन्य जुनसुकै काम गर्न तयार रहेको तर मदन भण्डारीको विषयमा केही गर्न नसक्ने अडान लिँदै कोठाबाट बाहिर जाने आदेश माग्दै बाहिरिएको उनले बताएका छन्। त्यसपछि एक्कैपटक मदन भण्डारीको मृत्यु पछि उमेश गिरी काठमाडौं गएर गिरिजाबाबुलाई भेटेको र ‘के गर्नु भएको’ भनेर सोधेको दावी गर्छन्। गिरीजाबाबुले ‘सक्कियो अब त्यो कुरा नगर’ भनेको उनको भनाइ छ।
प्रायः निर्वाचनका बेला मदन भण्डारीको हत्याको कुरा उठ्ने गरेपनि अरुबेला सेलाउँदै गएको यो घटनाको शान्त भएको तलाऊमा एउटा ढुंगा फालेर गिरीले तरंग ल्याइदिएका छन्।
भण्डारीको हत्यापछि एमालेमा सबैभन्दा बढी अवसर पाउने माधवकुमार नेपाल भएकाले उनको संलग्नता समेत रहन सक्ने आशंका गरिरहेका गिरीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले यसको खोजविनका लागि प्रयास गर्नुपर्ने होइन र ? भन्ने डिसी नेपालले सोधेको प्रश्नमा गिरी भन्छन्, ‘मैले आफ्नो जीवनको अन्तिम समयमा यो सत्यकुरा आम मानिसलाई जानकारी गराउनु पर्दछ भन्ने ठानेर अहिले आएर बताएको हँु । कसकसले खोज्ने भन्ने कुरा उहाँहरुको हो ।’
के मदन भण्डारीको हत्या की दुघर्टना भन्ने कुराको खोजविन गर्ने काम एमाले सत्तामा रहँदा गर्नुपर्ने होइन र ? एकमात्र साक्षी अमर लामालाई समेत कीर्तिपुरको चौराहामा लखेटी लखेटी फिल्मी शैलीमा गोली हानेर मार्नुले भण्डारी हत्यामा नयाँ मोड लिइरहेको अवस्थामा गिरीको खुलासाले फरक ढंगले यसको खोजविन गर्नु पर्ने देखिएको छ।
के फेरि जाँचबुझ आयोग बन्ला र सो समक्ष गिरीले सत्य बताउलान् ? सो काण्डमा संलग्न भनिएकाहरु सबैजसो दिवंगत भइसकेकाले गिरीको दावीलाई प्रमाणित गर्ने आधारहरु फेरि खोजी होलान् ?
गिरीसँग गरिएकाे भिडियाे संवाद
Facebook Comment