बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजार बढी
काठमाडौँ। लामखट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमण दिन प्रति दिन बढ्दै गएको छ। साउन महिनादेखि हालसम्म बागमती प्रदेशमा मात्र २७ हजार सात सय ५० जनालाई डेङ्गु भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। साथै सो रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा २१ जनाको मृत्यु भएको छ।
बागमती प्रदेशको १३ जिल्लामध्ये सो रोगको सङ्क्रमणबाट काठमाडौँ सबै भन्दा बढी प्रभावित भएको छ भने रसुवा सबैभन्दा कम प्रभावित भएको सो निर्देशनालयले जनाएको छ। काठमाडौँमा ११ हजार चार सय ६७ र रसुवामा सात जना सो रोगबाट सङ्क्रमित भएको जनाइएको छ।
निर्देशनालयका अनुसार ललितपुरमा आठ हजार १५, मकवानपुरमा तीन हजार ६ सय चार, भक्तपुरमा दुई हजार एक सय आठ, चितवनमा एक हजार एक सय ६९, धादिङमा ६ सय ३८, काभे्रमा दुई सय १५, नुवाकोटमा एक सय ३१, सिन्धुलीमा एक सय १३, रामेछापमा एक सय २५, सिन्धुपाल्चोकमा ९९ र दोलखामा ६९ जनामा डेङ्गु रोगको सङ्क्रमण पृष्टि भएको बताइएको छ।
त्यस्तै प्रदेशमा हालसम्म सो रोगको सङ्क्रमणबाट २१ जनाको मृत्यु भएको सो निर्देशनालयका विवरणमा रहेको छ। काठमाडौँमा सात, सिन्धुली र रामेछाप तीन/तीन, ललितपुर, मकवानपुर र चितवनमा दुई ÷दुई, भक्तपुर र धादिङ्मा एक/एक जनाको मृत्यु भएको छ ।
Facebook Comment