चोभारको सुन्दरता र ऐतिहासिकताभित्र हराउँदा

कपिल लोहनी
२७ असोज २०७९ ७:२१

केही दिनअघि चोभार हुँदै दक्षिणकालीसम्म जाने साइत जुरेको थियो। हाम्रो बाल्यावस्थामा माता पिताको साथमा प्रत्येक वर्ष दशैँको समयमा हामी दक्षिणकालीको मन्दिर जाने गर्दथ्यौँ। त्यतिबेला यानी आजभन्दा करिव ५० वर्ष पहिले काठमाडौँ उपत्यका ज्यादै नै खुल्ला ठाउँ थियो।

आजको चक्रपथभन्दा पनि धेरै भित्रसम्म नै पातलो वस्ती भएको शहर थियो काठमाडौँ। चक्रपथ बनिनसकेको बेला थियो त्यो। हामी मोटरगाडीमा त्रिभुवन विश्वविद्यालयको मुलढोका हुँदै ल्याबोरेटरी स्कुल तथा आदिनाथको मन्दिर जाने हात्तीवन क्षेत्रको उकालो छिचोलेर चोभार पुग्दथ्यौँ।

बाटो खाली खाली हुन्थ्यो भने बिहानीको समयमा असोज महिनामा नै हुस्सु र कुहिरोले काठमाडौँ ढाक्नुका साथै बाक्लो कपडा लगाउनु पर्ने जाडो नै हुन्थ्यो। झनै चोभारतिर पुगेपछि त चिसो हावा चलेर निक्कै जाडो हुन्थ्यो।

चोभारको डाँडाबाट काठमाडौँ, पाटन र टाढा टाढासम्मका हिमाल, पहाड र हरिया फाँटहरू देखिन्थे। तलतिर पर उत्तर-पुर्वको खेतै खेतको बीचमा नख्खु जेल देखिन्थ्यो र त्यसको सेरोफेरोमा कुनै वस्ती थिएन।

वास्तवमा नै नख्खु जेल त्यतिबेलाको काठमाडौँको एक विकट क्षेत्रमा बनाइएको थियो। तर त्यहाँ बस्ने लामो कैद भुक्तान गरिरहेका कैदीहरूलाई भने काठमाडौँका अन्य जेलमा भन्दा धेरै आनन्दको वातावरण थियो।

पञ्चायती व्यवस्थाको समयमा थुनिएका राजनैतिक बन्दीहरूले नै यो कारागार भरिएको हुन्थ्यो। आज आएर नख्खु कारागार शहरको कोलाहलभित्रको एक सानो जिर्ण कारागारमा बदलिइसकेको छ भने यसको चारैतिर विशाल भवनहरू र अस्पताल बनेका छन्।

पहिले कलकल स्वच्छ पानी बग्ने नक्खु खोला आज टुकुचा जस्तै फोहर र सानो भएको छ। त्यो बेला दशैँको समयमा वा अन्य समयमा वनभोज आदिमा जाँदा पनि हाम्रा पिताजीले चोभारको डाँडामा गाडी रोक्न लगाएर धेरै बेर त्यहाँबाट टाढा टाढासम्मको नजारा लिनु हुन्थ्यो।

समय बित्दै गएसँगै बल्खुदेखि त्रिभुवन विश्वविद्यालय र त्यहाँबाट चोभार जाने बाटो व्यस्त हुँदै गयो। त्रिभुवन विश्वविद्यालय र ल्याबोरेटरी स्कुलसँगैबाट कीर्तिपुर जाने एक व्यस्त सडकको निर्माण भएको छ।

त्यहीँ साँधमा रहेको ज्यादै प्रख्यात सरकारी बागवानी फार्मको पनि अस्तित्व मेटिइसकेको छ। तर त्यहाँबाट अगाडिको हात्तीवन क्षेत्रको एक पहाडको टुप्पामा रहेको आदिनाथ लोकेश्वरको सुन्दर र ऐतिहासिक मन्दिरमा पुग्ने बाटोमा भने ढुङ्गा छापेर भर्‍याङ निर्माण गरी हिँडेर जानेहरूको लागि सजिलो बनाइएको छ र केही हदसम्म वनको पनि संरक्षण भएकै छ।

योे पुरातात्विक महत्व बोकेको मन्दिर हिन्दू र वौद्ध धर्मावलम्वीहरूको आस्थाको साझा स्थल हो। यो मन्दिर परिसरमा पितृहरूको सम्झनामा भाँडाहरू झुण्ड्याउने चलन पनि छ।

आदिनाथ मन्दिर र पुरै हात्तीवन क्षेत्र सिनेमाको सुटिङको लागि पनि प्रख्यात छ। हात्तीवन रिसोर्ट तथा यो क्षेत्रबाट पुरै काठमाडौँ र वरिपरिको दृश्य देख्न सकिन्छ।

चोभारमा हिमाल सिमेन्ट कारखानाको स्थापना भएपश्चात त्यहाँ भिडभाड बढ्नुका साथै त्यो क्षेत्रमा वातावरणीय प्रदूषण अन्यन्त ठूलो परिमाणमा हुन थाल्यो भने सिमेन्ट र यसलाई चाहिने कच्चा पदार्थको ओसार पसारमा आवश्यक पर्ने ठूला ट्रकहरूको अविरल आवागमनले गर्दा बाटो जीर्ण हुँदै गयो।

यो पार्कमा बिहान सबेरैदेखि प्रेमी–प्रेमिकाहरू भलाकुसारी गर्न आउँदा रहेछन्। यो डाँडाको भित्र भित्र गुफाको सञ्जाल बनेको छ भने सो गुफाभित्र जाने तीन वटा मुखहरू छन्। गुफाभित्र पानी रसाएर तप तप चुहिने ठाउँहरूमा चुन ढुङ्गा जमेर विभिन्न आकृतिहरू बनेका छन्।

चोभारकै डाँडाबाट चुन ढुङ्गा ढुवानी गर्न सिमेन्ट कारखानाले रोपवेको पनि निर्माण गरेको थियो र हालको मञ्जुश्री पार्क रहेको स्थानबाट कन्भेयर बेल्टमार्फत चुन ढुङ्गालाई कारखाना परिसरसम्म पुर्‍याइने गरिन्थ्यो।

सिमेन्ट कारखाना जस्ता ठूला व्यवसाय र भारतीय केन्द्रिय विद्यालय आदिको स्थापना पछि त्यो क्षेत्रमा घर बनाउने तथा पसल थाप्ने र अन्य व्यावसायिक कृयाकलापमा ह्वात्तै अभिवृद्धि भयो। फलस्वरुप त्यहाँको कृषि क्षेत्र मासिएर बिस्तारै त्यो क्षेत्रले बजारको रूप लिन थाल्यो।

आज आएर त्यतिबेलाको शान्त वातावरण भएको दक्षिणकाली तथा फर्पिङ क्षेत्र पनि विना योजनाको घर निर्माण र अधिक सडक सञ्जाल तथा मोटरगाडीहरूको कोलाहलले गर्दा धुलाम्मे हुँदै गएको छ भने ध्वनी प्रदूषणले पनि त्यतिकै अशान्त भएको छ।

राजा त्रिभुवनको पालामा स्थापित प्रख्यात त्रिभुवन आदर्श विद्यालय जीर्ण हुँदै गएको छ भने यसले चर्चेको ठूलो भूभाग पनि अतिक्रमणको चपेटामा पर्न थालेको छ।

यसरी हचुवाको भरमा शहरीकरण हुँदै गएको भएपनि यो क्षेत्रको हरियाली भने खासै मासिएको छैन। यो क्षेत्रका डाँडाहरूमा धेरै वौद्ध गुम्बाहरूको निर्माण भएको छ तथा केही रिसोर्ट र रेष्टुरेन्ट पनि सञ्चालनमा छन्।

चोभार क्षेत्रमा पनि खासगरी बालबालिकाहरूको मनोरञ्जनको लागि एक आधुनिक अम्युजमेन्ट र जलक्रिडा पार्कको स्थापना भएको छ। त्यसमाथि ऐतिहासिक टौदहमा विहार गर्ने पैदल बाटो, दहको सफाइ र माछा छोडेर र टाढा टाढाबाट आउने ५ दर्जनभन्दा बढी प्रजातिका चराहरूलाई आकर्षित गर्न विभिन्न उपायहरू अवलम्बन गरिएको छ। दहका किनाराहरूमा साना-ठूला रेष्टुरेन्ट तथा रात बिताउने होटेल पनि खुलेका छन्।

दहको शान्त वातावरणलाई कायम राख्न धेरै प्रयत्न गरिएको छ। स्थानीय सक्रियतामा सरकारको सहयोगबाट बनेको नागदह वा टौदह एक उदाहरण भएको छ। किम्बदन्ती अनुसार मञ्जुश्रीले चोभारको डाँडा काटेर काठमाडौँको पानी बाहिर पठाएपछि त्यहाँ भएका सर्प र नागलाई यही नागदहमा ल्याएर राखेको भनाइ छ।

सन् १९६७ मा स्थापना भएको हिमाल सिमेन्ट कारखाना सन् २००२ मा बन्द भयो। यसले पछिल्लो समयमा दैनिक २०० टनसम्म सिमेन्ट उत्पादन गर्ने गरेको थियो भने यसबाट हुने प्रदूषण पनि अधिकतम मात्रामा नै थियो।

हाल आएर सिमेन्ट कारखाना भएको जमीनमा सरकारले विश्व वैङ्कको ऋण सहयोगमा सुख्खा बन्दरगाहको निर्माण गरेको छ। यो ड्राईपोर्टको पूर्ण सञ्चालन भएपछि यो क्षेत्र झनै व्यस्त र गुल्जार हुने देखिन्छ।

सिमेन्ट कारखानाको लागि अधिग्रहण गरिएको चोभार क्षेत्रको जग्गाको रकम सम्बन्धि किचलो अझसम्म पनि सकिएको छैन, तर स्थानीय जनता र सरकारकै प्रयत्नले चोभारको डाँडामा मञ्जुश्रीको नाममा एक निक्कै सुन्दर पार्कको निर्माण भएको छ।

 सिमेन्ट कारखानाको लागि अधिग्रहण गरिएको चोभार क्षेत्रको जग्गाको रकम सम्बन्धि किचलो अझसम्म पनि सकिएको छैन, तर स्थानीय जनता र सरकारकै प्रयत्नले चोभारको डाँडामा मञ्जुश्रीको नाममा एक निक्कै सुन्दर पार्कको निर्माण भएको छ।

डाँडाको माथिल्लो भागमा यानी त्यहाँ पुगिने सडक कै किनारमाथि मञ्जुश्रीको विशाल मूर्ति स्थापना गरिएको छ तथा यही स्थानमा एक बाल उद्यानको पनि निर्माणगरिएको छ। टाढा टाढाबाट घरपरिवार र विद्यालयहरूले घुमाउन ल्याउने गरेका साना साना विद्याथीहरू यहाँ आएर खेल्न पाएपछि ज्यादै खुशी हुने गर्दछन्।

बाल उद्यानदेखि तल चोभारको झोलुङ्गे पुल क्षेत्रसम्म भने एक ज्यादै मनमोहक पार्कको निर्माण गरिएको छ। यो पार्कमा बिहान सबेरैदेखि प्रेमी-प्रेमिकाहरू भलाकुसारी गर्न आउँदा रहेछन्। यो डाँडाको भित्र भित्र गुफाको सञ्जाल बनेको छ भने सो गुफाभित्र जाने तीन वटा मुखहरू छन्।

गुफाभित्र पानी रसाएर तप तप चुहिने ठाउँहरूमा चुन ढुङ्गा जमेर विभिन्न आकृतिहरू बनेका छन्। त्यहाँभित्र शिवजीको आकृति भएको स्थल पनि भेटिएकोले शिवजीको दर्शन गर्न धेरै भक्तजनहरू ज्यानको बाजी नै लगाएर गुफामा पस्ने गर्दछन्।

गुफा केही खतरनाक समेत भएकोले यसको मुखहरूमा फलामे ढोका बनाइएको छ। गुफाको एउटा मुखमा बाघ गुफा लेखिएको प्लेट टाँगिएको छ। सायद विगतमा त्यो क्षेत्रमा बाघ, भालु र चितुवा जस्ता जनावर पनि आउने र त्यो गुफामा बस्ने भएकोले त्यसो लेखिएको हुन सक्छ।

चोभारको डाँडा कडा पथ्थरले बनेको भएर यो पार्क क्षेत्रमा ठाउँ ठाउँमा विशाल पथ्थरहरू यत्रतत्र छरिएर रहेका छन् तथा तिनैलाई सजाएर रक गार्डेनको पनि निर्माण गरिएको छ।

विभिन्न प्रकारका वोट-विरुवा र रुखहरू भएको यो पार्कमा एक प्रकारको दूर्लभ पहेँलो प्रजातिको बाँस पनि पाइन्छ। काठमाडौँका खोला–नाला र नदीहरू बागमतीमा मिसिएर चोभार कै खोँचबाट उपत्यका बाहिर निस्किएर तराई तिर बग्ने गर्दछन्।

पार्कको भित्रबाट ओर्लिँदै चोभारको खोँचसम्म नै पनि जान मिल्ने गोरेटोको निर्माण भएको छ। तर चोभारको खोँच भएको स्थानमा पुग्न धेरै जोखिम मोल्नु पर्ने र सो स्थान ज्यादै भिरालो र सुनसान भएको र पानीको धार पनि धेरै हुने भएकोले त्यता नगई माथिबाटै दृश्यावलोकन गर्नु उत्तम देखिन्छ।

पार्कभित्र हिँड्नको निमित्त निक्कै सजिला पदमार्ग र ढुङ्गाका भर्‍याङहरूको निर्माण गरिएको छ। पार्कको माथिल्लो भागदेखि तल्लो भागसम्म ससाना टावरको निर्माण गरेर मिनी रोपवेको निर्माण गर्ने पनि योजना रहेछ। पार्कमा पस्न सस्तो मूल्यमा टिकट खरिद गर्नु पर्दछ।

हिजो आज यो पुलको प्रयोग बन्द गरिएको छ तापनि ऐतिहासिक पुल भएकोले त्यसको अगाडि बसेर फोटा खिचाउन मानिसहरू मन पराउँछन्। काठमाडौँको सिफलस्थित ऐतिहासिक कालोपुल खोलेर भ्रष्ट कर्मचारीहरूले कता लगे थाहै छैन।

पार्कबाट उत्तर-पूर्वमा काठमाडौँ र पाटन, पूर्वमा भैँसेपाटी र नख्खुतिर जाने नयाँ बाटो बनेको हरित पहाडी क्षेत्र, दक्षिणमा नवनिर्मित सुख्खा बन्दरगाह र जल विनायकको मन्दिर अनि बागमती नदी तथा पश्चिममा परतिर चन्द्रागिरी, भष्मासुर र चम्पादेवी डाँडाहरू तथा तीभन्दा मुनीका गुम्बा, हरियाली र अझ तलका वस्ती र बजार देख्न सक्दछौं। वास्तवमा नै यहाँबाट देखिने चारैतिरका दृश्यहरू ज्यादै मनमोहक छन्।

पार्कको तल्लो भागमा सायद नेपालकै पुरानो मध्येको विदेशी फलामे धातुहरूको प्रयोगबाट निर्माण गरिएको पुरानो झोलुङ्गे पुल छ। हिजो आज यो पुलको प्रयोग बन्द गरिएको छ तापनि ऐतिहासिक पुल भएकोले त्यसको अगाडि बसेर फोटा खिचाउन मानिसहरू मन पराउँछन्।

काठमाडौँको सिफलस्थित ऐतिहासिक कालोपुल खोलेर भ्रष्ट कर्मचारीहरूले कता लगे थाहै छैन। त्यही पुलसँगैबाट चोभारको खोँच तर्न नयाँ पुल बनाइएको छ। यो पुल तरेर मोटरगाडीमा भैँसेपाटीतिर र नख्खुतिर पनि जान सकिन्छ।

पुलको छेउमा नै करिव २५ वटा मोटरगाडी तथा अन्य सवारी साधन अटाउने पार्किङ स्थलको निर्माण गरिएको छ तथा यसको छेउमा नास्ता र खाजा खाने थुप्रै सस्ता होटेल पनि खुलेका छन्। सँगैको पुरानो ढाँचामा बनाइएको वडा कार्यालयको भव्य भवनले पनि ज्यादै नै शोभा बढाएको छ चोभारको।

जल विनायकको मन्दिर चोभारमा मात्र होइन, नेपालभर नै गणेशको प्रख्यात मन्दिर हो। ठूला ठूला पथ्थरहरू बीच निर्माण गरिएको ऐतिहासिक मन्दिरको महत्ता निक्कै धेरै छ हिन्दू धर्मावलम्वीहरूका लागि।

मन्दिरका पुराना पुजारीका अनुसार केही वर्षअघि देखि गणेश चौथीमा यो मन्दिरमा पनि भक्तजनहरूको ठूलो भिड लाग्ने गरेको छ। जल विनायक काठमाडौँ उपत्यकाका चार विनायक मध्येको महत्वपूर्ण गणेश मन्दिर हो।

अन्य तीन महत्वपूर्ण विनायकहरू सूर्यविनायक, चन्द्रविनायक र अशोक विनायक हुन्। राजा शिवसिंह मल्लको शासनकालमा निर्मित यो मन्दिरको ऐतिहासिक पृष्ठभूमि निक्कै पुरानो छ। यी वाहेक कमल विनायक तथा कार्यविनायक मन्दिरलाई पनि महत्वका साथ हेरिन्छ।

जल विनायकको जिर्णोद्धार हालैमात्र भएको भए पनि यो मन्दिरको तल बागमतीमा अवस्थित देवल र घाट भने ज्यादै दयनीय हालतमा रहेका छन्। त्यस्तै घाट क्षेत्र निक्कै फोहर छ।

दिनहुँ सयौँ भक्तजनहरू दर्शन र पुजाको निम्ति आउने यो घाटको जिर्णोद्धार र सरसफाइमा स्थानीयवासी तथा सरकारको ध्यान किन नपुगेको होला खै, जब कि घाटभन्दा करिव २०० मिटरमाथि नै वडा कार्यालय अवस्थित छ।

समग्रमा यस चोभार क्षेत्रले पहिलेको दाँजोमा निक्कै धेरै विकास गर्ने मौका पाएको छ भने काठमाडौँबाट ज्यादै नजिक रहेको यो क्षेत्रको आकर्षण पनि दिनानुदिन बढ्दै छ। जल विनायकको दर्शनका साथै पार्कमा वनभोज गर्न आउने मानिसहरूको संख्या पनि बढ्दो छ।

त्यस्तै साँझ बिहान मन बहलाउन र हावा खान पनि खासगरी काठमाडौँ, पाटन र किर्तिपुरका मानिसहरू चोभार र नागदहमा बरोबर आउने गरेका छन्।

यस्ता पर्यटकीय महत्वका खुला र सफा स्थलहरूको विकास राजधानीका विभिन्न क्षेत्रमा र मुलुकका अन्य ठाउँहरूमा पनि गर्दै जानु जरुरी छ । विभिन्न कारणवश खाली गरिएका सार्वजनिक जमीनहरूको सदुपयोग यस्तै खुला तथा मनोरञ्जनात्मक क्षेत्र निर्माणमा गर्न सके समृद्धिको एक खुड्किला चढे समान नै हुने थियो।

लेखक विकास अर्थशास्त्री र पूर्वबैंकर हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *