बर्दियामा रोचक चुनावी संयोग

गत निर्वाचनमा बामदेवलाई पराजित गरेका सञ्जय याे पटक उनकै ज्वाइँसँग भिड्दै

गौतम भन्छन्- कस्तो संयोग पर्‍याे

शरद रिजाल
२९ असोज २०७९ ८:५९

काठमाडौं। बर्दियामा गत २०७४को निर्वाचनमा बामदेव गौतमलाई पराजित गरेका कांग्रेस नेता सञ्जय गौतम यसपाली क्षेत्र नं १ मा एमालेका लक्ष्मण ज्ञवालीसँग प्रतिस्पर्धा गर्दैछन्।

गत निर्वाचनमा पराजित गरेका बामदेव गौतमका सहोदर ज्वाइँ हुन् लक्ष्मण ज्ञवाली। कहिले जेठानसँग त कहिले ज्वाइँसँग प्रतिस्पर्धा गर्दै गरेका नेता गौतमको यस पटक एमालेकै नेता ज्ञवालीसँग बर्दियामा भिडन्त हुने भएको छ। यसपालीको निर्वाचनमा बर्दियामा चुनावी भिडन्त रोचक हुने देखिएको छ।

अघिल्लोे निर्वाचनमा एमाले माओवादी गठबन्धन हुँदा समेत क्षेत्र नं १ मै बामदेव गौतमलाई ७५३ मतले पराजित गरेका सञ्जय गौतम सोही क्षेत्रमा बामदेवका ज्वाइँ ज्ञवालीसँग फेरि भिड्न लागेका हुन्। गएको २०७४ को निर्वाचनमा सञ्जय गौतमले ४४ हजार ८२९ मत ल्याएर विजयी हुँदा बामदेव गौतमले ४४ हजार ७६ मत प्राप्त गरेका थिए।

दुई वटा निर्वाचन क्षेत्र भएको बर्दियामा यसपाली बामदेव गौतमकै बहिनी ज्वाइँ ज्ञवाली एमालेबाट प्रतिस्पर्धी बनेर क्षेत्र नं १ मा खडा भएका छन्। उनको प्रतिस्पर्धा गठबन्धनका कांग्रेस नेता सञ्जय गौतमसँग हुने छ। ज्ञवाली बामदेवका कान्छी बहिनी शान्ती गौतमका श्रीमान हुन्।

उसो त ज्ञवालीलाई बामदेवसँग मात्रै जोडेर हेर्नु राजनीतिकरुपमा अन्यायपूर्ण हुने उनका निकटस्थहरु बताउँछन्। लामो समयदेखि राजनीतिक यात्रमा रहेका ज्ञवालीको पार्टीमा आफ्नै राजनैतिक योगदान रहेको छ। अनेकौ प्रतिकुल अबस्थामा समेत तत्कालीन माले हुँदै एमाले भएका ज्ञवालीको आफ्नै गर्बिलो राजनीतिक पृष्ठभूमि छ। निर्दलीय पञ्चायती व्यबस्थाविरुद्ध संघर्ष गर्दा जेलजीवन ब्यतित गरेका राजनीतिक ब्यक्तित्व हुन् ।यद्यपि  नाताले मात्रै संयोगवश उनी बामदेवकै ज्वाइँ पर्दछन्।

सञ्जय गौतमको चुनावी भिडन्त गत निर्वाचनमा ज्ञवालीका आफ्नै जेठान एमाले उपाध्यक्ष बामदेव गौतमसँग भएको हो। बर्दियाका स्थानीयबासी कहिले जेठानसँग त कहिले ज्वाइँसँग गौतमको प्रतिस्पर्धा हुने भयो भन्दै चर्चा गर्ने गर्दछन्।

गठबन्धनबाट उम्मेदवार बनेका गौतमले यसलाई एक राजनीतिक प्रतिस्पर्धाको रुपमा मात्रै लिएको बताउँछन्। गौतमले यसलाई आफूले स्वभाबिक रुपमा लिएको डिसी नेपालसँगको कुराकानीमा बताएका छन्।

उनले भने, ‘म पनि मनमनै सोचिराको छु कस्तो संयोग पर्यो। तर हामी दुबै राजनीतिक कार्यकर्ता हौँ दुबैको पार्टीमा आ-आफ्नै योगदान छ। पार्टीगत कारणले प्रतिस्पर्धा हुने भयो ब्यक्तिगत सम्बन्ध हाम्रो सुमधुर नै छ।’ जनताको निर्णय नै सर्वोपरी हुने भएकाले जनताको फैसला शिरोधार्य गर्ने उनले बताए।

राजनीतिक कार्यकर्ता भएपछि पार्टीको निर्णय मान्नु दुबैको दायित्व भएकाले प्रतिस्पर्धा हुनु स्वभाबिक भएको गौतमको बुझाइ छ।

कसैसँग नाता पर्नु ज्ञवालीको लागि एक संयोग मात्रै भएको र प्रतिस्पर्धा हुनु स्वभाबिक भएको भन्दै गौतमले अगाडि भने, ‘लक्ष्मणजीको पार्टीमा आफ्नै योगदान छ। लामो समयदेखि उहाँ पनि कटिबद्ध र इमान्दारितापूर्वक एमालेमा लागेको राजनीतिक कार्यकर्ता हो। तसर्थ पार्टीको निर्देशन मान्नु उहाँको कर्तब्य हो,’ उनले अगाडि थपे, ‘उहाँलाई पार्टीले राजनीतिक प्रतिस्पर्धामा ल्यायो र आउनुभयो गएको निर्वाचनमा बामदेवजीसँग भयो, नाताले उहाँ बामदेवजीको ज्वाइँ परे पनि उहाँको आफ्नै राजनीतिक योगदान छ।’

यस्तै प्रदेशसभातर्फ क्षेत्र नं.१(क)मा गठबन्धनको तर्फबाट कांग्रेसका भुबनेश्वर चौधरी र एमालेबाट शालीकराम अधिकारी चुनावी मैदानमा उत्रिएका छन्। (ख)मा गठबन्धनबाट माओवादीकी अञ्जु दहित र एमालेबाट भक्तबहादुर बिक चुनावी मैदानमा रहेका छन्।

बर्दियाका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. २ मा गठबन्धनबाट माओवादीका सुरेश पन्थ र एमालेबाट पंकज सिंह राठौर चुनावी मैदानमा उत्रिएका छन्। क्षेत्र नं २ एमालेको कमजोर उपस्थिति भएको स्थान मानिन्छ।

यस्तै प्रदेशसभातर्फ २(क) मा गठबन्धनबाट कांग्रेसका जन्मजय तिमिल्सिना र एमालेबाट लाहानु थारु भिडदैछन्। प्रदेशसभा(ख) तर्फ गठबन्धनबाट माओवादीका मानबहादुर थारु र एमालेबाट कृष्णी थारु चुनावी भिडन्तमा उत्रिएका छन्।

यस्तो छ दलगत स्थिति

गत स्थानीय निर्वाचनमा वडा अध्यक्षले प्राप्त गरेको मत परिणामको आधारमा बर्दियाका दुई संघीय निर्वाचन क्षेत्रमध्ये एमाले १ नं.मा बलियो देखिएको छ। कांग्रेस भन्दा २१९० मतले अगाडि रहेको एमाले यसपाली गठबन्धनसँग मुकाबिला गर्न लागेको छ । उसको मत ३६,८१२ रहेको छ । कांगेसको ३४६२२ छ । माओवादीेको जम्मा मत २४,३४१ रहेको छ।

यस्तै क्षेत्र नं २ तर्फ कांग्रेस र माओवादी भन्दा एमाले निकै कमजोर देखिएको छ। यहाँ एमाले माओवादी भन्दा करिब सात हजार मतले पछाडि र कांग्रेस भन्दा १५ हजार मतले पछाडि रहेको स्थानीय तहको मतपरिणामले देखाएको छ।

यस निर्वाचन क्षेत्रमा गत स्थानीय तहमा वडाअध्यक्षले प्राप्त गरेको मतपरिणामको आधारमा एमालेको जम्मा मत २३,३२० रहेको छ। माओवादीको ३०,७९८ हुँदा कांग्रेसको ३८,३५२ मत रहेको छ । यस निर्वाचन क्षेत्रमा एमाले अन्य ठूला दल भन्दा पछाडि रहेको देखिन्छ ।

गत स्थानीय निर्वाचनमा समेत गठबन्धन भएको बर्दिया जिल्लामा ८ स्थानीय तहमध्ये एमालेले एकमात्र बासगढी नगरपालिकामा मात्र जीत हासिल गरेको छ। अन्य स्थानीय तहमध्ये चार नगरपालिकासहित एक गाउँपालिका गरी पाँच स्थानीय तहमा कांग्रेस विजयी भएको छ भने दुई स्थानीय तहमा माओवादीले जीत हात पारेको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *