नवौं राष्ट्रिय खेलकुदः १५ सय मिटर दौडमा फुलमतीलाई स्वर्ण
पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १०० मिटर महिला दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा सरस्वतीले १२.१३ सेकेन्डको राष्ट्रिय कीर्तिमानी समय निकाल्दै स्वर्ण जितेकी हुन् । सरस्वतीले लुम्बिनीकी निशा चौधरीले हिट चरणमा बनाएको कीर्तिमान भंग गरेकी हुन् । निशाले १२.१५ सेकेन्डको समय निकालेकी थिइन् । यस स्पर्धामा निशाले १२.२२ सेकेन्डको समय निकाल्दै रजत जित्दा आर्मीकी रमिता थारुले १२.९२ सेकेन्डको समय निकाल्दै कास्य पदक जितिन् ।
त्यस्तै एथलेटिक्सको महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।पोखरा रंगशालामा शनिबार विभागीय टोलि पुलिस क्लबकी राजपुरा पछाईलाई पछि पार्दै सन्तोषीले स्वर्ण पदक जितेकी हुन् । सन्तोषीले ३६ मिनेट १२.३६ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेकी हुन् । स्वर्णपछि सन्तोषीले इन्जुरीका बाबजुत आफुले स्वर्ण जितेको खुसी व्यक्त गरिन् ।
रजत विजेता बनेकी पछाईले ३६ मिनेट २९.४५ सेकेन्डमा दौड पूरा गरिन् । एपीएफकी पुष्पा भण्डारी तेस्रो स्थानमा रहिन । पुष्पाले ३७ मिनेट ०४.२ सेकेन्डको समय निकालिन् । त्यस्तै एथलेटिक्सको १५ सय मिटर पुरुषको स्वर्ण पदक आर्मी क्लबका मुकेश पालले जितेका छन् ।
पोखरा रंगशालामा शनिबार भएको दौडमा ३ मिनेट ५१.२१ सेकेन्डको समय निकाल्दै मुकेशले स्वर्ण जितेका हुन् । पुरुषतर्फ एपीएफका अजित यादबले ३ मिनेट ५३.११ सेकेन्डको समय निकाल्दै रजत जिते । कास्य विजेता पुलिसका नागेश्वर अहिरले ३ मिनेट ५६.५ सेकेन्डको समय निकाले ।
महिलातर्फ एपीएफकी फुलमती रानाले स्वर्ण जितिन् । फुलमतीले ४ मिनेट ३८.१९ सेकेन्डको समय निकालिन ।त्यस्तै एथलेटिक्सको १०० मिटर पुरुष दौडमा एपीएफ क्लबका शिवराज पार्कीले स्वर्ण पदक जितेका छन् । १०.५६ सेकेन्डको समय निकाल्दै पार्कीले स्वर्ण पदक जितेका हुन् । पुरुषतर्फ आर्मीका युवराज विकले १०.५८ सेकेन्डको समय निकाल्दै रजत पदक जिते ।आर्मीका डिल्ली भण्डारीले १०.७० सेकेन्डसहित कास्य पदक जिते ।
Facebook Comment