भारत र पाकिस्तान दुवैलाई हराएको एसिया कप च्याम्पियन विश्वकपमा नामिबियासँग पराजित !
काठमाडौं। एक महिनाअघि भारत र पाकिस्तानजस्ता क्रिकेट क्षेत्रका महारथी देशहरुलाई हराउँदै एसिया कपको च्याम्पियन बनेको देश श्रीलंका विश्वकपमा भने तुलनात्मक रूपमा कमजोर मानिएको नामिबियासँग पराजित भएको छ । आजदेखि अस्ट्रेलियामा सुरु भएको टि–२० विश्वकपको पहिलो खेलमा श्रीलंका नामिबियासँग ५५ रनले पराजित भएको हो ।
अस्ट्रेलियाको गिलोङमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । नामिबियाको लागि जान फ्रिलिंकले ४४, जोनाथन स्मिटले ३१, स्टेफन बार्डले २६, जान निकोल र गेरहार्ड इरास्मसले समान २०–२० रन बनाए ।
श्रीलंकाका लागि प्रमोद मधुसन लियानागामागेले २ विकेट लिए । महीश थीक्षणा, दुष्मन्थ चमिरा, चमिका करुणारत्ने र वानिन्दु हसरंगाले १–१ विकेट लिए ।
१६४ रनको लक्ष्य पच्छ्याएको श्रीलंका १९ ओभरमै १०८ रनमा अलआउट भयो । श्रीलंकाका लागि कप्तान दासुन शनाकाले २९, भानुका राजापाक्षेले २०, धनन्जय डिसिल्भाले १२ र महीश थीक्षणाले ११ रन बनाए । अरु कसैले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नामिबियाका लागि डेभिड वाइज, बर्नार्ड शोल्ट्ज, बेन शिकोंगो र जान फ्रिलिंकले २–२ विकेट लिए । जोनाथन स्मिटले १ विकेट लिए । जान फ्रिलिंक म्यान अफ द म्याच घोषित भए ।
२०१४ को टि–२० विश्वकप विजेता श्रीलंका त्यसपछिका केही वर्ष भने टेस्ट मान्यताप्राप्त देशहरुसँगको प्रतिस्पर्धामा केही कमजोर देखिएको थियो । तर, १ महिनाअघि सकिएको एसिया कपमा भने श्रीलंका निकै बलियो रुपमा अगाडि आएको थियो । हुन त एसिया कपको पहिलो खेलमा पनि श्रीलंका हारेको थियो । तर, त्यसपछि उसले प्रतियोगितामा कुनै पनि अर्को खेल हारेन ।
एसिया कपको पहिलो खेलमा श्रीलंका अफगानिस्तानसँग पराजित भएको थियो । तर त्यसपछि समूह चरणको अर्को खेलमा बंगलादेशलाई हराउँदै श्रीलंका सुपर ४ मा पुग्यो । सुपर ४ मा श्रीलंकाले पहिले अफगानिस्तान त्यसपछि भारत र त्यसपछि पाकिस्तानलाई पनि हरायो ।
सुपर ४ को शीर्ष टोलीको रुपमा श्रीलंका फाइनल पुग्दा दोस्रो टोलीको रुपमा पाकिस्तान फाइनल पुगेको थियो । फाइनलमा श्रीलंकाले पाकिस्तानलाई दोस्रो पटक हराएर एसिया कप जितेको थियो । तर, एसिया कप जितेर बलियो टोलीको रुपमा विश्वकप प्रवेश गरेको श्रीलंकाको पहिलो खेलमै निराशाजनक प्रदर्शनले समर्थकलाई धक्का लागेको छ ।
Facebook Comment