विश्वकपमा फेरि अर्को पूर्व च्याम्पियन एसोसिएट देशसँग हार्यो
काठमाडौं । टि–२० विश्वकप क्रिकेटको दोस्रो दिन फेरि अर्को पूर्व च्याम्पियन एसोसिएट देशसँग हारेको छ । २०१४ को विश्वकप विजेता र २०२२ को एसिया कप विजेता श्रीलंका एसोसिएट देश नामिबियासँग हारेको भोलिपल्टै २ पटकको टि–२० विश्वकप च्याम्पियन वेस्ट इन्डिज पनि एसोसिएट देशसँग हारेको हो ।
आज भएको खेलमा २०१२ र २०१६ को टि–२० विश्वकप विजेता वेस्ट इन्डिज एसोसिएट देश स्कटल्याण्डसँग ४२ रनले पराजित भएको हो । वेस्ट इन्डिज एकमात्र टिम हो जसले अहिलेसम्म २ पटक टि–२० विश्वकप जितेको छ ।
वेस्ट इन्डिजले २०१२ र २०१६ को विश्वकप जितेको छ । यसबाहेक अरु देशहरु भारतले २००७, पाकिस्तानले २००९, इङल्याण्डले २०१०, श्रीलंकाले २०१४ र अस्ट्रेलियाले २०२१ गरी एक–एक पटक मात्र टि–२० विश्वकप जितेका छन् ।
आज अस्ट्रेलियको होबार्टमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनायो । उसका लागि जर्ज मुन्सीले नटआउट ६६, मिचेल जोन्सले २०, क्यालम म्याकल्योडले २३, कप्तान रिची बेरिङटन र क्रिस ग्रिभ्सले समान १६ रन बनाए ।
वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले २, जेसन होल्डरले २ र ओडेन स्मिथले १ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिज १८ ओभर ३ बलमा ११८ रन बनाउँदा अलआउट भयो ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले ३८, केल मेयर्सले २०, ब्रेन्डन किंगले १७, इविन लेविसले १४ रन बनाए । अरुले दोहोरो अंक स्कोर गर्न सकेनन् । स्कटल्याण्डका लागि मार्क वाटले ३, ब्राड ह्वील र मिचेल लिस्कले २–२ तथा जोस दवे र सफ्याँ शरीफले १–१ विकेट लिए ।
Facebook Comment